Comments Add Comment

प्रदेशमा स्थिरताका लागि ओली समूह छाडें : मन्त्री बुढा

२१ पुस, सुर्खेत । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले स्थिरताका लागि ओली समूह छाडेको बताएका छन् ।

आइतबार ओली समूह छाडेका मन्त्री बुढाले मंगलबार विज्ञप्ति जारी गर्दै प्रचण्ड–नेपाल समूहमा लागेको औपचारिक जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘पार्टी एकताको अन्तिम चरणमा दुर्भाग्यवश विभाजनको भयानक अवस्थामा पुगेको छ । यस दुःखद् घडीमा नेपाली कम्युनिस्ट आन्दोलनलाई सफल र एकीकृत बनाउन मैले प्रचण्ड–नेपाल समूह रोजेको छु ।’

आइतबार ओली समूहमा रहेका सामाजिक विकासमन्त्री दल रावल र सांसद पदम रोकायाले ओली समूह छाडेर प्रचण्ड–नेपाल समूह रोजेको घोषणा गरेका थिए ।

मन्त्री बुढा प्रचण्ड–नेपाल समूहमा आएसँगै कर्णाली प्रदेश सरकारमा ओली समूहको प्रतिनिधित्व शून्य भएको छ । पूर्वमाओवादी तर्फबाट मुख्यमन्त्री महेन्द्र बहादुर शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी छन् । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला अघिदेखि नै प्रचण्ड–नेपाल समूहमा थिए ।

ओली समूहका भनिएका पूर्वएमालेको कोटाबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री दल रावल र उद्योग मन्त्री नन्दसिंह बुढाले पनि प्रचण्ड–माधव समूह रोजेका छन् ।

कर्णालीमा नेकपाका ३३ प्रदेशसभा सदस्यमध्ये प्रचण्ड–नेपाल समूहमा २२ जना पुगेका छन् । सभामुख राजबहादुर शाहीसहित ११ प्रदेशसभा सदस्य ओली पक्षमा खुलेका छन् ।

यो समीकरणले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार सुरक्षित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment