Comments Add Comment

काठमाडौं उपत्यकामा घाम लाग्यो, अब जाडो बढ्ने, प्रदूषण घटाउन सघाउने

२२ पुस, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा पारिलो घाम लागेको छ । घाम लागेपछि जाडो केही बढ्ने र अहिलेको प्रदूषणलाई केही हदसम्म भए पनि घटाउन मद्दत गर्ने मौसमविद बताउँछन् ।

मौसमविद वरुण पौडेलले अनलाइनखबरसँग भने, ‘घाम लागेपछि थोरै भए पनि हावा चल्छ । त्यो हावाले प्रदूषणको तहलाई यताउता छर्छ र तुलनात्मक हिसाबले प्रदूषण घटाउन केही सहयोग गर्न सक्छ ।’

जाडोको समयमा प्रदूषण बढ्ने विशेषता नै हो । किनभने यो समयमा हावा पनि नचल्ने र पानी पनि नपर्ने भएकाले प्रदूषणको तह थुप्रिएर बस्छ । अहिले काठमाडौं उपत्यकामा भएको पनि त्यही हो । काठमाडौंको वायु प्रदूषण अहिले संसारमै उच्च तहमा पुगेको छ ।

मौसमविद पौडेलका अनुसार सुदूरपश्चिमको हिमाली र उच्च पहाडी भाग तथा पूर्वी क्षेत्रमा पनि अलिअलि बदलीको अवस्था छ । तर पूर्वी क्षेत्रको बदली भने आज रातिबाट हट्ने मौसमविद पौडेलको भनाइ छ । भोलि बिहानबाट देशका सबै भागबाट बदली हट्ने उनले बताए ।

तराई-मधेसका जिल्लामा लागेको हुस्सु र कुहिरो घाम लागेसँगै क्रमसँगै कम हुँदै जाने छ । अहिले फेरि तुरुन्दै बदली हुने र पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद बताउँछन् । ‘अलिअलि बादलहरु देखिन सक्ला तर ठूलो पानी पर्ने प्रणाली तत्काल देखिएको छैन,’ मौसमविद पौडेलले भने ।

घाम लागेसँगै अब चिसो बढ्ने छ । बादलले ब्ल्यांकेटको रुपमा काम गर्दा जमिनको तातो हावा माथि जान नसक्दा केही न्यानो महसुस भएको थियो । तर अब बादल हटेकाले न्यूनतम तापक्रम घट्ने र चिसो बढ्ने मौसमविद बताउँछन् ।

‘जाडो अझै नसकिएकाले न्यूनतम तापक्रम केही घट्छ,’ मौसमविद पौडेलले भने, ‘खासगरी बिहानपख ठिहिर्याउने हुनसक्छ । बिहानमा हुस्सु पनि देखिन सक्छ, यो जाडो महिनाको विशेषता नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment