Comments Add Comment

चीनको सहयोग : पहाडमा विकास परियोजना, तराईमा गैसस गतिविधि

चीनको सीएफपीएले ब्याग वितरण गरेपछि दंग परेका नेपाली विद्यार्थी

२३ पुष, काठमाडौं । चीनले आफूसँग सीमा जोडिएका नेपालका हिमाली र पहाडी जिल्लाहरुमा विकास परियोजना र तराईमा गैरसरकारी संस्था (एनजीओ) को गतिविधि विस्तार गरेको छ ।

चाइना इन्टरनेसनल डेभलपमेन्ट कर्पाेरेसन एजेन्सी (सीआईडीसीए) ले नेपालसँग सीमा जोडिएका जिल्लामा एक दर्जभन्दा बढी परियोजना लगानी गर्दैछ । दक्षिण एसिया लक्षित सीआईडीसीएको स्थापना सन् २०१८ मा भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार सुरुमा २४ वटा परियोजनाको बारेमा छलफल भएकोमा त्यसलाई अहिले १५ मा झारिएको छ । चिनियाँहरुले परियोजना संख्या अझै घटाउन चाहेका छन् ।

संघीय मन्त्रालय मन्त्रालयले परियोजनाहरुको प्रस्तावित सूची अर्थ मन्त्रालय पठाएको छ । प्रस्तावित परियोजनालाई संघीय मामिला, अर्थ मन्त्रालय र चिनियाँ दूतावासका प्रतिनिधि बसेर अन्तिम टुंगो लगाउँने संघीय मन्त्रालय स्रोतले बतायो ।

विशेषत शिक्षा, स्वास्थ्य, साना विकास पूर्वाधार, साना जलविद्युत परियोजना र सीमा व्यवस्थापनसँग सम्बन्धित विषयहरु प्रस्तावित सूचीमा छन् । चिनियाँ पक्षले परियोजना सञ्चालन हुने ठाउँमा सडक, विजुली लगायत पूर्वाधार हुनुपर्ने सर्त राखेपछि प्रस्ताव सूची छोटिएको हो ।

चीनसँग जोडिएका १५ वटै जिल्ला समेटेर परियोजना कार्यान्वयन गर्ने भनिए पनि केही जिल्ला छुट्नसक्ने संघीय मामिला मन्त्रालय स्रोतले बतायो । यो प्रयोजनका लागि सीआईडीसीएका उपाध्यक्ष देङ बोगिङ २०१९ मार्चमा काठमाडौं आएका थिए ।

नेपालमा रहँदा उनले प्रधानमन्त्री केपी ओलीलाई भेट्नुको साथै परियोजना कार्यान्वयनका सम्बन्धमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडासँग विस्तृत छलफल गरेका थिए । त्यसपछि परियोजना छनोटको काम अगाडि बढेको थियो ।

त्यसपछि ‘केही निश्चित परियोजनामा सहकार्य गर्ने’ सम्बन्धमा छलफल गर्न २०२० सेप्टेम्बरमा सीआईडीसीएका प्रतिनिधिहरु काठमाडौं आएका थिए । यसको फ्रेमवर्क सम्झौता भने प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गर्दा २०१८ जुनमा नै भएको थियो ।

त्यसअघि चीनले उत्तरका १५ जिल्लामा खाधान्न सहयोग र अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको थियो । चीनले सीमा व्यवस्थापनका लागि सशस्त्र प्रहरीलाई पनि सहयोग गदै आएको छ ।

सीआईडीसीएले नेपालसहित दक्षिण एसिया र दक्षिण पूर्वी एसियाली मुलुकहरुलाई कोभिड–१९ महामारीविरुद्व सहयोग गर्न यूएनडीपीसँग पनि सम्झौता गरेको छ । त्यसअन्तरगत रसुवा, सिन्धुपाल्चोक लगायत जिल्लामा स्वास्थ्य सामग्री उपलब्ध भइरहेको छ । कतिपय स्थानमा प्रतिबद्धता गरिएभन्दा कम सामग्री हस्तान्तरण भएको गुनासा पनि आइरहेका छन् ।

पछिल्ला वर्षहरुमा चीनले नेपालको तराई क्षेत्रमा पनि विभिन्न संस्थामार्फत आफ्ना गतिविधि बढाएको छ । विशेषतः चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन, नेपाल कार्यालयले गरिबी निवारण सम्बन्धी विभिन्न सहयोग गरिरहेको छ ।

२०१५ मा ललितपुर उपमहानगरपालिकामा दर्ता भएको चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन, नेपाल समाज कल्याण परिषदसँग सहयोग सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर गर्ने पहिलो चिनियाँ गैरसरकारी संस्था हो ।

कोभिड–१९ को महामारीपछि यो संस्थाले तिब्बत गुडविल फाउन्डेसनको आर्थिक सहयोग र नेपालकै सुनौलो नेपालसँगको सहकार्यमा मधेशका विभिन्न विद्यालयमा खाजा वितरण जनकपुरमा नेपाल कोभिड–१९ रेस्पोन्स कार्यक्रम पनि चलाएको थियो ।

२०७२ सालको महाभूकम्पपछि पनि सो संस्थाले नेपालका विभिन्न जिल्लामा विभिन्न सहयोग उपलब्ध गराएको थियो । त्यसबेला २० भन्दा बढी चिनियाँ गैरसरकारी संस्थाले भूकम्प पीडितहरुलाई राहत उपलब्ध गराएका थिए ।

चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन, नेपाल कार्यालय केही वर्ष काठमाडौं र आसपासका जिल्लामा गतिविधि गरेर तराई झरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment