२३ पुस, काठमाडौं । कोरोना महामारीपछि नेपाली खेलकुद विस्तारै चलायमान हुने अवस्थामा छ । अखिल नेपाल फुटबल संघले पनि आगामी माघ, फागुन र चैतमा विभिन्न फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको छ ।
एन्फाले माघ ७ गतेदेखि राष्ट्रिय महिला लिग प्रतियोगिता आयोजना गर्ने जनाएको छ । यस्तै फागुन ११ गतेदेखि बी डिभिजन लिगमा बाँकी खेलहरु र चैत १ देखि सी डिभिजन लिग गर्ने योजना बनाएको छ ।
कोरोना महामारीपछि खेलाडीदेखि पदाधिकारीसम्म सबैले स्वास्थ्य सुरक्षामा ध्यान दिनु जरुरी छ । साथै सरकारले स्वास्थ्य प्रोटोकल पनि पालना गर्नुपर्नेछ । खेलाडीहरुलाई पनि सुरक्षित तरिकाले व्यवस्थापन गर्नुपर्ने चुनौती छ ।
त्यसै सन्दर्भमा एन्फाले तीन प्रतियोगिता र एन्फाले सिफारिस गरेका अन्य खेलाडी र पदाधिकारीको लागि आइसोलेसन सुविधा खोजिरहेको छ ।
एन्फाले यस्तो सुविधाको आवश्यक परेकोले इच्छुक संघ संस्थाहरुलाई आफ्नो सुविधाको विवरण पेश गर्न सूचना जारी गरेको छ ।
एन्फाले बिहीबार सूचना प्रकाशित गर्दै अबको ७ दिनभित्र प्रस्ताव पठाउन अनुरोध गरेको छ ।
एन्फाले तीनवटै प्रतियोगिता काठमाडौं उपत्यकामै गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया 4