+
+
नागरिक समाजसँग प्रचण्ड माधव समूहको छलफल :

‘तपाईंहरूले चेक गर्नुभएन, त्यसैले तानाशाह जन्मियो’

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७७ पुष २३ गते २१:१८

२३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा सडकमा उत्रिएको नेकपा प्रचण्ड–माधव समूहले बिहीबार नागरिक समाजसँग छलफल गर्‍यो ।

अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ मञ्चमा थिए भने वक्ताका रुपमा पूर्वसभामुख दमननाथ ढुंगाना, मानवअधिकारकर्मी कृष्ण पहाडी, पूर्वराजदूत लीलामणि पौडेल, नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत थिए ।

सहभागी सबैको धारणा थियो, प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक छ ।

तर पूर्वसभामुख ढुंगानाले ओली मात्र होइन, मञ्चमा रहेका नेताहरुको समेत चर्को आलोचना गरे । उनले प्रष्ट शब्दमा भनेका छन्, संविधानमा हुँदै नभएको संसद विघटन गरियो, केपी ओली तानाशाह बनेकै हुन् । सँगै उनले माधव, झलनाथ र नारायणकाजीहरुलाई प्रश्न गरे, ‘एकैचोटि यो विस्फोट भएको हो ? होइन भने तपाईंहरुले के चेक गर्नुभयो ?

पूर्वसभामुख ढुंगानाले लगातार प्रश्न गरिरहँदा अग्रभागमा रहेका प्रचण्ड-माधव समूहका नेताहरु मुखामुख मात्र गरिरहे ।

प्रजातन्त्रमा चेक (नियन्त्रण) गरेन भने जो पनि तानाशाह हुन सक्ने भन्दै उनले अघि भने ‘तपाईंहरुले चेक गर्नु भएन, एउटा डिक्टेटर जन्मियो । नेपाल कम्युनिस्ट पार्टीको संयुक्त गल्तीले यो स्थिति आयो ।’

प्रचण्ड–माधव समूहका नेताहरुबाट अब फेरि व्यवस्थामाथि नै धावा बोल्ने काम नहुने प्रतिबद्धता खोजे । साथै, संसद पुन:स्थापनाका लागि पहिले अदालतमाथि कार्यकारी प्रमुखले धम्की दिइरहेको भन्दै अदालतलाई स्वतन्त्र बनाउन भूमिका खेल्ने प्रस्तावसमेत पास गर्न लगाए ।

प्रस्तुत छ, पूर्वसभामुख ढुंगानाले व्यक्त गरेको विचार उनकै शब्दमा

त्यतिबेला इतिहास शिरोमणि बाबुराम आचार्यले भन्नुभएको थियो, फेरि यस्तो नहोस् । तर फेरि यस्तै भयो । किन भयो ? हामीलाई यसको उत्तर चाहिन्छ । सायद यो प्रश्न सोध्न त्यति नमिल्ला । तपाईंहरुले उत्तर दिन पनि नसक्नुहोला । तैपनि म सोध्न चाहन्छु, हामीलाई किन बोलाउनुभयो ?

म जेष्ठ सदस्य पनि हुँ । (माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठतिर हेर्दै) तपाईंहरुभन्दा एक दशक अगाडि लोकतन्त्रका लागि लडेको मान्छे हुँ । मलाई सोध्न मन लागिरहेको छ, तपाईंहरु फोहोर गर्ने, नागरिक समाजलाई सफा गर्न बोलाउने ? त्यो फोहोरमा तपाईंहरु कति संलग्न हुनुहुन्छ ? नागरिक समाजको अगुवा भएर होइन, कानुन व्यवसायी भएर भन्ने हो भने त्यो चार्जसिटमा (अभियोगपत्रमा)  तपाईंहरु पनि पर्नुहुन्छ । जवाफदेहिता भनेको के हो ? संयुक्त जवाफदेहिता भनेको के हो ? तपाईंहरुकै पार्टी होइन नेकपा ? एकता गर्नुभएको होइन ? संयुक्त हुनुभएको होइन ? अनि अहिलेका प्रधानमन्त्रीले यसो गरिराछ भन्ने तपाईंहरुलाई थाहा थिएन ? तपाईंहरु मदहोस भएर बस्नु भएको थियो ? एकैदिन भएको हो यो ?

त्यसकारण म त यो फोहोर गर्नेभन्दा फोहोर हेरेर बस्नेहरु बढी जिम्मेवार ठादन्छु । अन्याय गर्नेभन्दा अन्याय सहने बढ्ता जिम्मेवार हुन्छ । प्रतिनिधि सभा विघटन हुँदैछ भन्ने तपाईंहरुलाई थाहा थिएन ? हुस्सुले त व्यहोर्नैपर्छ । हामीलाई किन बोलाउनुभयो ? तपाईंहरु एक्लै लड्नुस् न अब । फर्काउनुस्, संविधानलाई लिगमा ल्याउनुस् र सत्तामा जानुस् । किन बोलाउनुभयो हामीलाई ?

नागरिक समाजको तपाईंहरुप्रति तीतो अनुभव छ । तपाईंहरुले नागरिक समाजलाई यो परिवर्तनमा कहाँ संलग्न गराउनुभएको छ ? आज परिर्वतनले यो दशा भोग्नुमा एउटा कारण यो पनि हो ।

नागरिक समाजको शंखनादबाट आएको परिवर्तन हो यो । तपाईंहरु (राजनीतिक दलहरु) पछि आउनुभयो । कहिलेकाहीँ प्रचण्डजीले भन्नुहुन्थ्यो, माओवादीको हात र राजाको लातले सफल भएको आन्दोलन हो । करिब करिब त्यस्तै हो । त्योभन्दा धेरै अगाडि नागरिक आन्दोलनमा आइसकेको थियो । शंखनाद गरिसकेको थियो, आन्दोलनलाई अगाडि बढाइसकेको थियो । जब राजाले कदम चाले तपाईंहरु नागरिक समाजसँग आउनुभयो । त्यसपछि तपाईंहरुले कहाँ नागरिक समाजलाई खोज्नुभयो र ? अहिले फेरि नागरिक समाज भन्दै हुनुहुन्छ । सबभन्दा पहिले हामीलाई यसको जवाफ चाहिन्छ ।

म कुनै पार्टीको मञ्चमा आएको होइन । म प्रजातन्त्र पुन:स्थापना गर्ने, संसद, प्रतिनिधिसभा पुन:स्थापना गर्ने एउटा राष्ट्रिय मञ्चमा आएको हुँ । तपाईंहरुले पुन:स्थापना गर्नुहोला, फेरि प्रधानमन्त्री हुनुहोला । रघुजी (रघुजी पन्त कार्यक्रम सञ्चालक) त प्रधानमन्त्री बन्ने लाइनमा हुनुहुन्न होला, तपाईंहरु तीन जना (माधव, झलनाथ र नारायणकाजी) कोही पनि बन्न सक्नुहुन्छ ।

नारायणकाजीलाई प्रधानमन्त्री बनाउन राष्ट्रिय सभा सदस्य पनि हुन पाउने भनेर संविधान संशोधन गर्नैपर्छ । तपाईंहरुले चाहनुभयो भने त्यो पनि भइहाल्छ । झण्डै झण्डै बामदेवजीलाई बनाइसक्नु भाथ्यो । नारायणकाजीलाई बनाउन बाँकी छ । यो राष्ट्रिय सभाबाट गरेपनि हुन्छ (हलमा हाँसो छायो) तपाईंहरु फेरि प्रधानमन्त्री हुनुहोला । फेरि यस्तै फोहोर गर्नुहोला, अहिले ओलीले गरे, भोलि तपाईंहरुले गर्नुहोला । नगर्ने ग्यारेण्टी कसरी पाउने हामीले ? आश्वस्त गर्नुहोस् ।

आज यो दिन कसरी आयो ? कसरी दोहोरियो ? कसकसबाट दोहोरियो ? तपाईंहरु को कति जिम्मेवार हुनुहुन्छ ? प्रजातन्त्र भनेको भोट दिएर संसद खडा गरेर एउटालाई प्रधानमन्त्री बनाउने र अर्कोलाई एउटा प्रतिपक्षी नेता बनाउने मात्र होइन । प्रजातन्त्र भनेको सबैभन्दा ठूलो जिम्मेवारीको व्यवस्था हो, जवाफदेहिताको व्यवस्था हो । र संविधानसम्मत व्यवस्था हो । यो बारम्बार संविधान विपरीत काम किन भइराखेको छ ? कसले दियो ? तपाईंहरुले शान्ति सम्झौता कार्यान्वयन गर्नुभयो ? अघि मोहना अन्सारीले भन्नुभयो–युद्ध पीडितलाई हेर्नुभयो ? मानवअधिकार उल्लंघनकर्ताहरुलाई (सत्य निरुपण र बेपत्ता छानबिन) आयोगमा ल्याउनुभयो ? कस्तो काम भइराखेको छ हेर्नुस् त ।

म यो भन्दिनँ, ओली जिम्मेवार हुनुहुन्न । उहाँ सबैभन्दा जिम्मेवार हुनुहुन्छ । तर तपाईंहरु पनि त्यसको हिस्सेदार हुनुहुन्छ कि हुनुहुन्न ? संसद पनि जिम्मेवार छ । तपाईंहरु  त्यही पार्टीको शीर्षस्त नेता । हामी जनता र नागरिक समाजको दृष्टिकोणले हेर्दा के देख्छु भने एकातिरबाट सत्तामा भएको बहालवाला प्रधानमन्त्री र अर्कोतिर सत्तामा नभएको तीन वटा प्रधानमन्त्रीको कुस्ती मात्रै हो । त्यसमा सत्तामा भएको प्रधानमन्त्रीले जित्यो, सत्तामा नभएको तीन प्रधानमन्त्रीले हारे । (हाँस्दै) मैले नारायणकाजीलाई भनेको होइन, शेरबहादुरलाई भनेको ।

अहिले संसदमा शेरबहादुरजी, माधवजी, झलनाथजी तीन प्रधानमन्त्री हुनुहुन्छ । (हलबाट प्रचण्ड, बाबुराम भट्टराईको नाम आयो) ए धेरै प्रधानमन्त्री भइसक्नु भएछ । म त सामान्य ज्ञानमा धेरै कमजोर छु, माफ गर्नुहोला । धेरै प्रधानमन्त्री भएको देशमा यस्तै हुन्छ । एउटै प्रधानमन्त्री भएर देश बनाएको भए हुन्न’थ्यो, धेरै प्रधानमन्त्री भएर पो बिग्रिएको रहेछ ! मैले भनेको प्रचण्ड, माधव नेपाल र झलनाथ तीन जना पदमा नभएको प्रधानमन्त्री र एक जना पदमा भएको प्रधानमन्त्रीको कुस्ती हो । हामीले पहिला यसरी बुझौं । यसको मतलब मैले संसद पुन:स्थपनाको आन्दोलनमा नजानुस् भनेको होइन । पहिले विशेष बुझ्नुपर्‍यो, अनि त्यसलाई सुधार्न चल्नुपर्‍यो ।

अहिले हामी ठूलो एउटा विचारधाराको संकटमा छौं । त्यो विचारधाराको संकट खासगरी यो तेस्रो विश्वमा खड्किएको छ । किनभने हामीले प्रजातन्त्रलाई रुल अफ ल (कानूनको शासन) र रिप्रिजेन्टेटिभ सिस्टम (प्रतिनिधिमूलक शासन व्यवस्था) भन्यौं । निर्वाचन गर्‍यो, भोट दियो, एउटा प्रतिनिधिलाई प्रधानमन्त्री बनायो । तर डेमोक्रेसीको सबभन्दा ठूलो समस्या भनेको कस्तो प्रतिनिधिलाई कार्यकारी प्रमुख बनाउने ? अहिलेको समस्या त्यही हो ।

ओलीजी विधिवत प्रधानमन्त्री हुन् । दुई तिहाइको म्यान्डेट लिएर प्रधानमन्त्री भएका हुन् । उनको संसदीय दलले बनाएको हो, संसदले विश्वास दिएको हो । तर उहाँ किन यस्तो हुनुभयो ? कित गतिछाडा हुनुभयो ? किन संविधानमा नभएको विघटन गर्नुभयो ? प्रतिनिधि सभा भनेको सार्वभौम जनताको प्रतीक हो । सार्वभौम जनता गएर बस्ने ठाउँ नै त्यही हो । सार्वभौम जनतामाथि किन प्रहार गर्नुभयो ? किन यो देशमा जनताको संस्थामाथि बारम्बार प्रहार हुन्छ ।

प्रजातन्त्र भनेको चेक एण्ड ब्यालेन्स (नियन्त्रण र सन्तुलन) भएको व्यवस्था हो । चेक कसले गरेन ? तपाईंहरुले पार्टीभित्र आफ्नो नेतालाई गर्नु भएन । राष्ट्रपतिले प्रधानमन्त्रीलाई चेक गरिनन् । देखादेख संविधान विपरीत सिफारिस गइराखेको छ, त्यो मसी नसुक्दै हस्ताक्षर भयो ।

२००७ सालमा संविधान सभा भएन, २०१५ सालको पहिलो संसद राजाले विघटन गरे । त्यसपछि अरू तीन/चार वटा संसद विघटन भए । त्यसबाट पाठ लियौं र संविधान सभाले अब प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने, संसदले विकल्प खोज्ने र विकल्प भेटेसम्म संसद विघटन गर्न नपाउने व्यवस्था गरियो । त्यसको पनि पालना भएन । किन यो देशमा सार्वभौम संस्थामाथि बारम्बार प्रहार भइराखेको छ ? यस्तो फेरि नहोस् भनेर हामीले चाहेका हौं । तर फेरि दोहोरियो । अब हामी जनतालाई कि यस्तो दोहोरिँदैन, हुँदैन भनेर ग्यारेन्टी चाहियो । यो ग्यारेन्टी कसले दिने ?

त्यसैले प्रतिनिधि चुनेर मात्रै प्रजातन्त्र हुँदैन । अहिले अमेरिकाको डेमोक्रेसी कस्तो भयो देखिसक्नुभयो । हिजो ट्रम्पले के गरे ? प्रत्यक्ष निर्वाचित राष्ट्रपति, संसारको सबैभन्दा पहिलो लिखित संविधान भएको देश, विश्वको सबैभन्दा बढी स्वतन्त्रताको नेतृत्व गर्ने देश अमेरिका । समर्थक मात्र आएका होइनन् हुलदंगा गर्न, ट्रम्पले सम्बोधन गरेका छन्, हुल्लडबाजहरुलाई अनुमोदन गरेका छन् । कम्युनिजममाथि मात्र खतरा भएको होइन, लिबरल डेमोक्रेसीमाथि खतरा भइराखेको छ ।

त्यसकारण प्रतिनिधि चुन्ने मात्रै होइन, कस्तो प्रतिनिधिलाई प्रधानमन्त्री बनाउने भन्ने सबभन्दा महत्वपूर्ण कुरा हो आज । प्रतिनिधि छानेर मात्रै हुँदैन, जबसम्म कस्तो मान्छेलाई प्रधानमन्त्री र राष्ट्रपति बनाउने निर्धारण गर्न सक्दैनौं, तबसम्म आज ओलीले जे गरे, हिजो राजा महेन्द्रले जे गरेका थिए, भोलि अर्को प्रधानमन्त्रीले दोहोर्‍याइरहन्छ । दोहोरिन्न भन्ने ग्यारेन्टी जनतालाई चाहियो ।

तपाईंहरु सजिलोसँग भन्नुहोला, यो पुन:स्थापना हुन्छ, सब लिकमा आउँछ । आउँछ अलिअलि आउँछ । यो संविधान अलि अलि घायल भइसकेको छ । पुन:स्थापना भएन भने संविधान जीवनभरका लागि अपाङ्ग नै हुन्छ । पुन:स्थापना भयो भने घायल भएर पनि हिँड्ला, खोच्याएर हिँड्ला । तर यो समाधान होइन । फेरि संविधानमाथि आक्रमण हुँदैन भन्ने होइन । त्यसकारण संवैधानिक बन्देजहरु भएन, चेक भएन ।

प्रजातन्त्र भनेको चेक एण्ड ब्यालेन्स (नियन्त्रण र सन्तुलन) भएको व्यवस्था हो । चेक कसले गरेन ? तपाईंहरुले पार्टीभित्र आफ्नो नेतालाई गर्नुभएन । राष्ट्रपतिले प्रधानमन्त्रीलाई चेक गरिनन् । देखादेख संविधान विपरीत सिफारिस गइराखेको छ, त्यो मसी नसुक्दै हस्ताक्षर भयो । (माधव, झलनाथ र नारायणकाजीहरुतर्फ हर्दै) तपाईंहरुले बोलाउनु पर्दैन ? कहाँ हुनुहुन्थ्यो त्यो बेला ? कि राष्ट्रपतिले चिनिनन् तपाईंहरुलाई । (हलमा हाँसो) भन्नुस् त, तपाईंहरुले के चेक गर्नुभयो ? संसदीय दल बोलाउनुभयो कहिल्यै ? प्रधानमन्त्रीको विश्वास अविश्वास संसदीय दलबाट सुरु हुन्छ ।

०५१ मा गिरिजाबाबुले संसदीय दलबाट विश्वास लिएर मात्र विघटन गर्न जानु भएको थियो । यो पनि गर्नुभएन । तपाईंहरु सांसद होइन, तपाईंहरु पार्टीको शीर्षस्त नेता होइन ? तपाईंहरु पहिल्यै प्रधानमन्त्री भएको मान्छे होइन ? के गर्नुभयो ? कसले चेक गर्नुभयो ? सांसदहरुको पनि चेक गर्ने अधिकार हुन्छ, प्रतिपक्षको पनि हुन्छ । के गर्नुभयो शेरबहादुरजीले ? के चेक गर्नुभयो झलनाथ र माधव नेपालजीले । यो एकैचोटी यो बिस्फोट भएको ? एकैचोटी गतिछाडा काम भएको हो ? होइन, तपाईंहरुले चेक नै गर्नुभएन ।

यो राजनीतिक र संवैधनिकभन्दा पनि सांस्कृतिक कुरा हो । हामी डिक्टेटर (तानाशाहहरु) जन्माइरहेका छौं । चेक भएन भने डिक्टेटर जन्मिन्छ । तपाईंहरुले चेक गर्नु भएन, एउटा डिक्टेटर जन्मियो । संविधानमा नभएको विघटन गर्न लगाउनुभयो । केपीजीको यो काम काम पार्टीले आच्छु आच्छु पारेपछि, भित्तासम्म धकेलेपछि भएको हो । तपाईंहरुले पनि भित्तैसम्म ठेल्नुभयो, बिरालो पनि ठाउँ नबनाई लुक्दैन भन्छन्, ठाउँ हेरेर लुकेर बस्छ भन्छन् । तर तपाईंहरुले ओलीजीलाई निस्कने ठाउँ नै दिनुभएन । यसको मतलब यो होइन–ओलीजीले गल्ती गर्नुभएन । ओलीजीलाई तपाईंहरुले भित्तासम्म ठेल्नुभयो, अनि ओलीजीले संविधान तोडेर विघटन गर्नुभयो । यो संयुक्त गल्ती हो । नेपाल कम्युनिस्ट पार्टीको संयुक्त गल्तीले यो स्थिति आयो । तपाईंहरु उत्तिकै जिम्मेवार हुनुहुन्छ किनभने तपाईंहरुले चेक गर्नुभएन ।

(हलबाट आवाज आउँछ – अलि कम होला । ढुङ्गाना कड्किन्छन्, को हो त्यो बोल्ने ? हामीलाई बोलाउने अनि हाम्रो कुरा नसुन्ने ? तपाईंहरु यस्तै गल्ती गर्ने नेता जन्माउन चाहनुहुन्छ ? अब गल्ती नगर्ने नेता जन्माउनुपर्‍यो । त्यसो भएर चुप लागेर मेरो कुरा सुन्नुस् । यो कम्युनिस्ट पार्टीकै कार्यकर्ता होला, कांग्रेस भए त बोल्दै बोल्दैन’थ्यो नि । …हलमा हाँसो छायो )

म लोकतन्त्रको विद्यार्थी हुनुको नाताले के भन्छु भने डेमोक्रेसीमा चेक गरिएन भने जो सुकै पनि डिक्टेटर हुनसक्छ । ओलीजी डिक्टेटर भएकै हो, यसमा दुईमत छैन । तर, चेक नगर्नेहरु को को हुन् ? चेक नगरेर डिक्टेटेड गराउने को–को हुन् ? मैले भन्न खोजेको यत्ति हो ।

अब कारण के हो ? सच्याउने कसरी ? खाली पुन:स्थापना मात्रै सच्याउने हो ? होइन । हामी हिंसात्मक द्वन्द्वपछिको राष्ट्र हौं । विगतका कमीकमजोरीहरु दोहोर्‍याउन दिने छैन भनेर तपाईंहरुलले पनि सपथ लिनुभएको थियो बृहत शान्ति सम्झौतामा । दोहोरियो कि दोहोरिएन ? किन दोहोरियो ? त्यसकारण म राजनीतिक, संवैधानिकभन्दा बढी सांस्कृतिक कुरा देख्छु । युवा पुस्ताले बुझ्नुपर्‍यो, यो संस्कृतिको दोष हो । सत्तालाई जवाफदेही उत्तरदायीपूर्ण नबनाउने, जसरी पनि सत्तामा टिकिरहने, सत्तामाथि चेक नगर्ने, र पटक पटक सत्ताबाट तानाशाह पैदा गर्ने प्रक्रिया बारम्बार चलाइरहनुभएको छ ।

यसको समाधान के ? यो सम्पूर्ण विगतको आन्दोलनको दोष हो । अब हामीले रिभिजिट गर्नुपर्छ । हामीले यो संविधान लगायत जे परिवर्तन ल्याएका छौं, यसलाई रिभिजिट गर्नुपर्छ । यो प्रत्यक्ष हिंसाबाट आएको परिवर्तन हो । हिंसाबाट आएको परिवर्तनको रुप, स्वभाव र परिणाम हो । हेर्नुस् त, जो संसदीय व्यवस्थाको विरोध गयो, बन्दुक उठायो, त्यसले निर्वाचन नै लडेको छैन, त्यसलाई पुन:स्थापित संसदमा एमाले बराबर सिट दिइन्छ र तपाईंहरु हेरेर बसिरहनुभयो । त्यही संसदीय व्यवस्था हुन हुन्न भनेर त्यत्रा मान्छेको हत्या गर्‍यो, शान्ति सम्झौता पुरै भएको छैन । त्यसलाई आफैंसँग लगेर रातो कार्पेट ओछ्याएर राख्नुहुन्छ । त्यसकारण यो सम्पूर्ण जे भा’छ, ०६२/०६३ को आन्दोलनको दोष हो । त्यसैको यो परिणाम हो ।

अब हामीले सम्पूर्ण रिभिजिट गर्नुपर्छ । किनभने द्वन्द्वपछिको देशमा सम्पूर्ण राष्ट्रिय शक्तिहरुको बीचमा मेलमिलाप चाहिन्छ । आज अफगानिस्तानमा के भइरहेको छ ? सुडानमा जानुस्, बेल्जियममा जानुस्, जहाँसुकै जानुस् राष्ट्रका सबै मतमतान्तरका बीचमा मेलमिलाप हुनुपर्छ । अनि मात्रै त्यो राष्ट्र, राष्ट्र बन्छ । तपाईंहरुले मेलमिलापलाई निषेध गरेर परिवर्तन ल्याउनुभयो । त्यो परिवर्तनको अपूर्णता हो, जुन आज प्रकट भइरहेको छ । एक रुपमा प्रकट भइरहेको छ, अर्को रुपमा प्रकट भइरहेको छ । एक पटक त्यही काम राजा महेन्द्रले गरेका थिए, अहिले फेरि भयो । त्यसकारण यसको एक मात्र समाधान मेलमिलाप हो । मेलमिलाप कोसँग भन्नुहोला ? हिजो विपी कोइरालाको मेलमिलापलाई अपव्याख्या गर्न खोजिएको थियो । आज पनि मेलमिलाप चाहिन्छ । को–को सँग ? नेपालमा मेलमिलाप भनेको हाम्रो राष्ट्रिय शक्तिहरुको बीच हो ।

हामी तीन शक्तिहरुको अभिरुचीको देश भइसक्या छौं । मेलमिलाप अब हाम्रो आन्तरिक धरातलमा पनि हुनुपर्‍या छ, बाह्य मैत्री धरातलमा पनि हुनुपर्‍या छ । र, यो अहिलेको द्वन्द्व बाह्य द्वन्द्वको प्रतिबिम्ब हुँदै होइन । त्यसैले हामीले आन्तरिक त मेलमिलाप गर्न सक्या छैनौं भने बाहिर मेलमिलाप कहाँ गर्ने ?

त्यसकारण पुन:स्थापना त होला, तपाईंहरु मध्ये एक जना प्रधानमन्त्री पनि बन्नुहोला । प्रधानमन्त्रीलाई आदरसाथ नमस्कार गर्ने हाम्रो बानी छ । प्रधानमन्त्री पदलाई चाहिँ, व्यक्तिलाई गरौंला, नगरौंला । तर फेरि तपाईंहरुले यस्तो हुँदैन भनेर ग्यारेन्टी गर्नुपर्छ । यस्तो हुँदैन, यस्तो गरिँदैन भन्ने जनतालाई ग्यारेन्टी दिनैपर्छ ।

र, अन्तिममा भन्न चाहन्छु, अदालत कति स्वतन्त्र छ ? हामी विश्वास गर्छौं अदालत स्वतन्त्र छ । तर, संविधानको विद्यार्थीको नाताले हामीले पढेको के हो भने एक्जुकेटिभ (कार्यकारी अर्थात सरकार) को जहिले पनि बलियो र लामो हात हुन्छ । अदालतसम्म फैलिन्छ । प्रधानन्यायाधीशसम्म फैलिन्छ, न्यायाधीशसम्म फैलिन्छ । र, जब कार्यकारी कुर्लन थाल्छ, अदालत स्वतन्त्र हुँदैन । अहिले त्यही भइरहेको छ ।

संविधान विपरीत प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीले राज्यस्रोत लगाएर अभियान चलारहेका छन्, अदालतलाई धम्की दिने काम भइरहेको छ । अनि तपाईहरु पुन:स्थापना हुन्छ भनेर अपेक्षा गर्नुहुन्छ ? पहिले त्यो रोक्नुस् । गर्न नहुने काम भइसक्यो । एउटा संविधानमा नभएको विघटन गरियो । अर्को अदालतमाथि धम्की दिने काम भइरहेको छ । त्यसकारण आज एउटा सही काम गर्न चाहनुहुन्छ र सबै सहमत हुनुहुन्छ भने एउटा प्रस्ताव राख्छु, यो सरकारको कुनैपनि मान्छेले अदालतलाई धम्की दिने काम अहिल्यै यसै क्षणबाट बन्द गर्नुस् ।

(गडगडाहट तालीले अनुमोदन)

यस्ता तानाशाह निरंकुश भएर आइरहन्छ, अदालतलाई धम्की दिइरहन्छ, तपाईंहरु पुन:स्थापनाको अपेक्षा गर्नुहुन्छ ? पहिले अदालतको स्वतन्त्रता बनाउनुस्, अनि आफ्नो काम गर्नुस्, धन्यवाद ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्युरोमा आबद्ध बजगाईं मुलतः संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?