Comments Add Comment

रसियाका नेपाली प्रतिभा कृष्णप्रकाश

नेपाली वाङ्मयमा सर्वाधिक रूसी साहित्यलाई मूल भाषाबाट नेपाली भाषामा अनुवाद गर्ने तथा नेपाली साहित्यलाई मूल नेपालीबाट रूसी भाषामा लैजाने शिखर प्रतिभा हुन्– कृष्णप्रकाश श्रेष्ठ । यसबाहेक उनका अनुसन्धानात्मक तथा सांस्कृतिक महत्त्वका लेखनको फेहरिस्त तथा योगदानको उचाइ निकै अग्लो छ ।

उनको योगदानलाई कदर गर्दै मदन पुरस्कार गुठीले वि.सं. २०५९ सालको जगदम्बाश्री पुरस्कार अर्पण गर्‍यो । तर, नेपाल प्रज्ञा प्रतिष्ठानले भने २०७७ मा मात्र सम्मानका लागि उनलाई सम्झना गर्‍यो । उनलाई ‘नेपाल प्रज्ञा अनुवाद पुरस्कार’ले सम्मानित गर्ने निर्णय भयो । हुन त प्रज्ञा प्रतिष्ठानबाट उनका कृतिहरू प्रकाशित हुँदै आएका हुन् । तर प्रज्ञा पुरस्कार भने पहिलोपटक प्रदान गरिने भएको हो ।

चालीसको दशकमा म कुलेश्वरमा डेरा सरें । साहित्यकार भएको नाताले तेजप्रकाश श्रेष्ठसँग मित्रता भयो । उनी कुलेश्वरमै बस्थे । एक अर्काका घरमा आवत–जावत हुन थाल्यो । त्यसैक्रममा एकदिन उनले भने, ‘मस्कोबाट कृष्णप्रकाश दाइ–भाउजू आउनुभएको छ, केही साहित्यकारसँग भेटघाटको कार्यक्रम छ । साँझको खाना खाने गरी तपाईंलाई सादर निम्तो छ ।’

साँझपख तेजप्रकाशजीको निवासमा पुगें । त्यहाँ आदरणीय रमेश विकल, कृष्णप्रसाद पराजुलीलगायत ८/१० जना साहित्यकारहरू भेला भयौं ।

अग्लो कदका हँसिलो अनुहार भएका कृष्णप्रकाशसँग परिचय भयो । उनी सबैसँग परिचय गर्दै कुराकानी गर्दै थिए । पूर्वपरिचितहरूसँग उनी हाँसीहाँसी कुरा गर्दै थिए । रसियाली भाषामा नेपाली साहित्य अनुवाद भएर प्रकाशित भएको कुराकानी चल्यो ।

त्यहीबेला एउटी मोटी कायाकी गोरो अनुहार भएकी विदेशी महिला त्यो माहोलमा प्रवेश गरिन् । उनी कृष्णप्रकाश श्रेष्ठकी रसियाली पत्नी रहिछन् । उनलाई कोठाका सबैसँग कृष्णप्रकाशले परिचय गराए । परिचय सकिएपछि तिनले चर्को स्वरमा नबुझिने कुरा बोलिन् । त्यो नबुझिने भाषा भनेको रसियन भाषा थियो ।

कृष्णप्रकाशले उनलाई त्यस्तै भाषा अर्थात् रसियन भाषामै जवाफ दिए अनि हामीतिर हेर्दै हाँसेर सहजतापूर्वक भने, ‘मेरी श्रीमतीले भनेको नेपालमा लेखक साहित्यकारहरू भनेको पुरुषहरू मात्र हुन्छन्, महिला हुँदैनन् र ?’ मैले हुन्छन्, तर साँझको बेला भएकाले नआएका भनें । उनले त अर्कोपल्ट भेटघाट गर्दा महिला भएनन् भने म पनि आउन्न भनिन् ।

कृष्णप्रकाश सोभियत संघमा रूसी भाषा साहित्य पढ्न जानुभएको थियो । उहाँले पढ्दापढ्दै शिक्षकहरूले उहाँ नेपालको साहित्यिक व्यक्तित्व भएको पत्तो पाएर उहाँको नाम सोभियत संघको लेखक कवि बनाउने संस्थामा सिफारिस गरेर पठाइदिए

हो त, त्यहाँ कोही महिला लेखक थिएनन् । सायद बोलाइएको थिएन । अथवा बोलाएको भए पनि नआएका हुन सक्थे । तर, कृष्णप्रकाशले हाँसेर वातावरणलाई सम्हाल्नुभएको थियो । तर, उहाँकी श्रीमतीलाई लिङ्गभेदको आभासले परेको प्रभाव म कहिल्यै बिर्सिन्नँ । यो बेग्लै कुरा हो, त्यतिखेर बोलाउँदा पनि साँझ  महिला साहित्यकार आउने सम्भावना कमै हुन्थ्यो नेपाली समाजको परिप्रेक्षमा ।

त्यो भेटपछि भने मैले कृष्णप्रकाशको जीवनका बारेमा झन् रूचि लिन थालें । उनका पाइएसम्मका पुस्तक, अनुवादहरू खोजीखोजी पढ्न थालें । पछिपछि पनि उनको नेपाल आगमन हुँदा साधारण भेटघाट हुन्थ्यो । तर, म अमेरिका गएपछि भने इमेलको माध्यमद्वारा हामी नजिकियौं ।

मैले अमेरिकामा विश्वपरिक्रमा पाक्षिक अखबार प्रकाशन गर्न थालेपछि त उहाँले मस्को प्रतिनिधि बन्न स्वीकार गर्नुभयो र नियमित रूपले आलेख, समाचारहरू पठाउन थाल्नुभयो । मलाई यसले ठूलो सहयोग पुगेको थियो ।

पछि सन् २००९ मा अनेसासले आयोजना गरेको प्रथम अन्तरराष्ट्रिय साहित्य सम्मेलनमा भाग लिन उहाँ अमेरिका आउनुभयो । म त्यतिबेला ‘वाशिङ्टन डीसी मेट्रो च्याप्टर’को अध्यक्ष थिएँ । उहाँ र सोही सम्मेलनमा भाग लिन आएका डा.गोविन्दराज भट्टराईको सम्मानमा रात्रिभोज र सम्मान कार्यक्रमको आयोजना गर्ने अवसर जुर्‍यो । साथै, एक साँझ आफ्नै निवासमा आतिथ्य गर्दै उहाँसँग महत्त्वपूर्ण अन्तरवार्ता लिने अवसर पनि जुर्‍यो । साँझको सो घरेलु कार्यक्रमअघि मेरो निवासबाट पायक पर्ने ‘ग्रेट फल्स’ घुमाउन लगें । उहाँ त्यो छहराबाट मोहित भएर विभिन्न भावभङ्गीमासहित फोटो खिचेको सम्झना पनि चाखलाग्दो छ ।

कृष्णप्रकाश श्रेष्ठको जन्म वि.सं १९९५ कात्तिक २२ गते सोमबार चुनिखेल, शोणितपुर, थानकोटमा भएको थियो । उहाँको शिक्षाको सुरुवात नेपालको बैतडीमा भएको थियो । पछि भारतको पिथौरागढ, नेपालका विभिन्न विद्यालयहरु तथा भारतको पटनाबाट कलेज सकेपछि सन् १९६० मा उहाँ उच्च अध्ययनका लागि तत्कालीन सोभियत संघको रूसमा पुग्नुभयो, जुन यात्राले उहाँको जीवन नै पूरै बदलिदियो, जीवनको बाटो नै मोडिदियो ।

उहाँले उच्च अध्ययनका लागि सोभियत संघलाई रोज्नुमा पनि एउटा रोचक कथा थियो ।

बीएमा पढ्न थाल्दाखेरि नै कृष्णप्रकाश काठमाडौंमा अवस्थित अमेरिकी पुस्तकालय जाने गर्नुहुन्थ्यो । त्यहाँ बजारमा किन्न नपाइने अमेरिकी पत्रपत्रिका पाइन्थे । उहाँ अमेरिकाले चन्द्रमामा रकेट उडाएको समाचार पढ्नुहुन्थ्यो । त्यसलाई कृत्रिम चन्द्रमा भनेको पनि सुनिन्थ्यो । तर, अचानक सन् १९५७ मा रूसले चन्द्रमामा रकेट पठायो– स्पूतनिक । यो समाचार पढेपछि उहाँलाई लाग्यो, जति ठूलो कुरा गरे पनि अमेरिकाभन्दा रूस नै पो अघि रहेछ । उन्नतिको शिखरमा त सोभियत रुस नै पो रहेछ । अनि उहाँले सोच्नुभयो, विदेश जाने हो भने सोभियत रूस नै जानुपर्छ । यही अठोटले उहाँलाई रूस पुर्‍यायो । उहाँले रूसमा पढ्ने छात्रवृत्ति पाउनुभयो । अनि पुग्नुभयो स्पूतनिक चन्द्रमामा पुर्‍याउने देश सोभियत संघ ।

कृष्णप्रकाश सोभियत संघमा रूसी भाषा साहित्य पढ्न जानुभएको थियो । उहाँले पढ्दापढ्दै शिक्षकहरूले उहाँ नेपालको साहित्यिक व्यक्तित्व भएको पत्तो पाएर उहाँको नाम सोभियत संघको लेखक कवि बनाउने संस्थामा सिफारिस गरेर पठाइदिए ।

नेपालमा हुँदा पढाइकै क्रममा उहाँले पत्रकारिताको लाइन समात्नुभयो । ‘किरण’ नामको हस्तलिखित पत्रिका निकाल्नुभएको थियो विद्यार्थीकालमै । त्यसैबीच सोभियत सरकारले नेपाली भाषामा रेडियो कार्यक्रम सञ्चालन गर्ने भयो र त्यसका लागि मानिसको खोजी भयो । पत्रकारिता पढेका उहाँलगायत तीनजना थिए । एकजना महिला पनि चाहिने भएर अरू नै विभागकी मीना आचार्य,  उहाँ र नीलाम्बर आचार्य मस्को रेडियो नेपाली कार्यक्रमका लागि छानिए । अनि पढाइको समयलाई मिलाएर आधा घण्टाको रेडियो कार्यक्रममा संलग्न भए ।

सोही सिलसिलामा उहाँ अनुवादको काममा पनि संलग्न हुनुभयो । त्यसै क्रममा त्यहाँ एकजनालाई स्थायी अनुवादकको जागिर मिल्यो । तर, उहाँले ‘म पढ्न आएको हो, जागिर खान आएको होइन’ भन्दै त्यो अफरलाई स्वीकार्नुभएन ।

रेडियोमा काम गर्ने सिलसिलामै भारतीय विभागमा काम गर्ने रूसी महिला ईरिनासँग कृष्णप्रकाशको चिनाजानी भयो । त्यो विभागमा काम परिरहने हुनाले हिमचिम हुनु पनि स्वाभाविक थियो । ईरिनाले उहाँलाई मन पराएको पत्तै भएन । कृष्णप्रकाश त्यसका लागि तयार हुनुहुन्थेन । ईरिना आफ्ना साथीहरूसँग गुनासो गगर्न थालिन् । झण्डै एक वर्षको त्यो क्रमपछि सन् १९६४ को डिसेम्वरमा कृष्णप्रकाश र ईरिनाको विवाह भयो । कृष्णप्रसाद रूसी महिलासँग बिवाह गर्ने तेस्रो नेपाली ज्वाइँ बने ।

बिहेपछि उनले जागिर पनि खाए, त्यसको विकल्प थिएन । अब उनी एक्लै थिएनन् । विशेषतः रेडियोको कामले उनलाई नेपाल नियास्रो नलाग्ने बनाएको थियो । रेडियोमा आउने चिट्ठीपत्र र हजारौं पत्रहरू पढ्दा उनले रूसी भूमिमा छु भन्ने सोच्ने अवसरै पाएनन् । त्यसमाथि रूसीबाट नेपाली अनुवाद र नेपालीबाट रूसी अनुवादले पनि उनलाई नेपाली भाषासँग बाँधी नै राख्यो ।

उनका लागि नेपालको पञ्चायत काल र रूसको सोभियत काल स्वर्णिम काल थियो । सिर्जना, अनुवाद, काम र व्यस्तता सबै हिसावले । उनले आफ्ना मौलिक कृतिहरूमा रूसमा नेपालको अध्ययन, स्थाननाम कोश, नेपालभाषा साहित्य, रूसमा नेपालको छवि, नेपाली समालोचक र समालोचना, नेपाली किम्बदन्तीमाला, शृष्टि वर्णन, उषा–अनिरुद्र मिलन (नाटक) आदि प्रमुख छन् ।

त्यस्तै मूल रूसी भाषाबाट नेपाली भाषामा अनुदित कृतिहरूमा पुश्किनको जिप्सी (खण्डकाव्य), दुब्रोभ्स्की (उपन्यास), बेल्किनका कथाकहानी (लघुउपन्यास), रूसाल्का (लघुत्रासदी त्रय र केही कविता), तुर्गेनेभका गद्यमा कविता, पिता र पुत्र (उपन्यास), शोलोभोवको मान्छेको भाग्य (उपन्यास), लेर्मोन्तोभको हाम्रो जमानाको चरित्रनायक (उपन्यास), तोल्सतोयको कथा कहानी (लघु उपन्याससंग्रह), ग्रीनको राता पालहरू(उपन्यास), गोर्कीको मेरा विश्वविद्यालयहरू (आत्मकथात्मक उपन्यास), आइत्मातोभको प्रथम शिक्षक (लघु उपन्यास) आदि प्रमुख छन् । यसबाहेक रूसी विदुषी आगानिनाको ‘नेपालका महाकविको कथा, हाम्जातोभको नेपालको जीवित देवी कुमारी र जीवनचक्र वारेको पुस्तक ‘दुई देवताप्रति’ को महत्त्व बेग्लै खालको छ । रूसी बाल साहित्यका दुई दर्जन बढी उनले अनुवाद गरेका कृतिहरू पनि प्रकाशित छन् ।

ईभान पाभ्लोभिच मिनायभको नेपाल भ्रमणको कृति ‘ई पा मिनाएभको नेपाल’ पनि उनका महत्त्वपूर्ण कृतिहरूको गणनामा पर्छ । त्यस्तै महाकवि देवकोटाले अफ्रो एशियाली सम्मेलन तासकन्दमा गरेको विश्वविख्यात भाषण भोजेर नेपाली भाषामा प्रस्तुत गरेर उनले ठूलो गुन लगाएका छन् ।  हस्तलिखित किरणबाट सुरू गरेको सम्पादनयात्रा त्यतिमा रोकिएन, उनले टंकण गरिएको झिल्को, मुद्रित पत्रिका ‘सार्थवाह’ तथा नेपाली नारी निकुञ्ज मस्कोको ‘नारी–दृष्टि’ पनि सम्पादन गरे ।

उनले नेपाली साहित्यका महत्त्वपूर्ण कृतिहरू पनि रूसी भाषामा लगेर रूसी भाषाको  साहित्य भण्डारमा नेपाली कृतिहरूको स्थान सुरक्षित राखेका छन् । उनले ‘यमलोकमा जिउँदो मान्छे’ लोककथा सङ्ग्रह, भानुभक्तको ‘लोकको गरुँ हित भनी’ बाङ्गदेलको ‘लङ्गडाको साथी’, विकलको ‘फूटपाथ मिनिस्टर्स’, देवकोटाको मुनामदन, सुनको विहान, गोनु झाको मैथिली लोकाख्यान कथाकुथुङ्ग्री, उत्तम कुँवरको स्रष्टा र साहित्यजस्ता कृतिहरूका साथै नेपाली कविहरूको कविता सङ्कलन पनि रूसी भाषामा अनुवाद गरेर गुनिलो काम गरेका छन् ।

उनले ‘रूसी नेपाली शब्दकोष’, ‘नेपाली नेपाल भाषा शब्दकोष’ तथा ‘संक्षिप्त अङ्ग्रेजी नेपाली पारिभाषिक शब्दकोष’ संकलन–सम्पादन गरेका छन् ।

उनले गरेका यी सारा कामहरूको फेहरिस्त निकै लामो छ । जीवनको पछिल्लो समयमा उनले पत्नी वियोगको वेदना पनि सहनुपर्यो । उनकी पत्नी ईरिना, जसको कारण नै उनी रूसलाई कर्मभूमिको रूपमा स्वीकारेर बसे, उनी गएपछि कृष्णप्रकाश भौतिक रूपमा एक्लिएका छन् । तर उनलाई छोरीहरूको स्नेहको साथ छ । ने

पाली तथा रूसी भाषा साहित्यमा उनको लगाव यथावत निरन्तर छ । भर्खरै पनि यौटा नयाँ कृति प्रकाशन भयो, ‘दुई राजधानी’ । रूसी सहकर्मी भा.गालेचन र उनको संकलन तथा उनको अनुवादमा रूसी साहित्यकारहरूले मस्कोको विषयमा लेखेका रचना तथा नेपाली साहित्यकारहरूले काठमाडौंको विषयमा लेखिएका रचनाहरू नेपाली र रूसी भाषामा अनुवादसहितको यो पुस्तक दुई देशको राजधानी साहित्यको हेर्ने ऐना बन्न पुगेको छ ।

कृष्णप्रकाश श्रेष्ठ ८२ वर्षमा पनि साहित्यिक सक्रियताका साथ मजबूत महाविद्यालय झैं देखिन्छन् । उनको सक्रियता निरन्तर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment