
२७ पुस, विराटनगर । लागूऔषध ब्राउन सुगर कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले मोरङको दुई स्थानबाट चार जनालाई पक्राउ गरेको छ । उर्लाबारी र विराटनगरबाट चारजनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट ब्राउन सुगर र जोख्नका लागि ल्याइएको तराजु पनि बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार विराटनगरबाट एकजना भारतीय नागरिकसहित दुईजना र उर्लाबारीबाट एक युवक र एक युवतीलाई पक्राउ गरिएको हो ।
उर्लाबारी नगरपालिका–६ मा रहेको होटल ह्याभन भ्यालीबाट मोरङको रतुवामाई नगरपालिका–१० का धजेन्द्र भट्टराई र मिक्लाजुङ गाउँपालिका–४ की २० वर्षीया कविता लिम्बु पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले १४ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
भारतको पानी ट्यांकीबाट नेपाल आएका उनीहरुले साथमा कारोबारका लागि लागूऔषध पनि ल्याएको प्रहरीको दाबी छ । उनीहरुको साथबाट खरिद बिक्रीमा प्रयोग गरिने नापतौल मेसिन पनि बरामद गरेको छ ।
विराटनगर महानगरपालिका–१० शान्ति चोकबाट प्रहरीले आइतबार राति दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का २२ वर्षीय धमेन्द्र रजक र भारत अररीयाका २२ वर्षीय मोहम्द अफरोजलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट चार ग्राम पाँच सय ९० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । उनीहरुले भारतको जोगवनीबाट ब्राउन सुगर लिएर विराटनगर आएका थिए । बिक्री गर्ने तयारीमा रहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4