Comments Add Comment

काठमाडौंको हावा : साँझ परेपछि बढी प्रदूषित

२७ पुस, काठमाडौं । अघिल्लो साता तीन दिन काठमाडौं उपत्यकाको मौसम खुलेन । पश्चिमी वायुको प्रभावका कारण न्यूतमत तापक्रम मात्र बढेन, अहिलेसम्मकै सबभन्दा धेरै प्रदूषित हावाको रेकर्ड बस्यो ।

वातावरण विभागले चार वर्षदेखि देशका विभिन्न स्थानमा स्टेसन राखेर वायु प्रदूषणको मापन गर्दै आएको छ । विभागका उपमहानिर्देशक इन्दु विक्रम जोशीका अनुसार अघिल्ला वर्षहरुमा प्रदूषत अधिकतम २०० माइक्रोग्राम प्रतिघनमिटर मापन भएको थियो ।

तर अघिल्लो साता ३७६ को अंक नाघ्यो । विभागका अनुसार पुस २० गते सोमबार काठमाडौं उपत्यकामा रेकर्ड गरिएको वायु प्रदूषण वातावरण विभागले मापन गरेको अहिलेसम्मकै सबैभन्दा उच्च बिन्दु हो । हावा गुम्सिएका कारण प्रदूषणले उच्चबिन्दु भेट्टाएको विभागका उपमहानिर्देशक जोशी बताउँछन् ।

सोमबार विश्वका प्रमुख ९६ सहरमध्ये बढी प्रदूषित सहरको सूचीमा काठमाडौं पर्‍यो । त्यसयता प्रदूषणको मात्रा केही कम भएको छ ।

काठमाडौंमा प्रदूषण : साँझ परेपछि बढी जोखिम

तथ्यांकले बिहानभन्दा साँझपरेपछि प्रदूषणको जोखिम बढी हुने देखाएको छ । ३ जनवरी अर्थात् पौष १९ गते आइतबारसम्म ललितपुरको भैंसेपाटी स्टेसनले मापन गरेको वायुमा प्रदूषणकोमात्रा सामान्य अवस्थामा थियो ।

२.५ माइक्रोन वा सोभन्दा साना हानिकारक कणयुक्त हावाको अवस्था औषतमा १०० देखि १५० माइक्रोग्राम प्रतिघनमिटरको बीचमा थियो । वातावरण विभागका अधिकारीहरु यो अवस्था जाडो मौसममा नियमित हुने भन्दै यसलाई सामान्य अवस्थाको रुपमा लिनुपर्ने बताउँछन् ।

यो पनि पढ्नुस्

काठमाडौंमा आँखा पोल्ने प्रदूषण, आपतकालको तह नाघ्यो

प्रवक्ता जोशी पनि काठमाडौं उपत्यकामा अघिल्ला वर्षहरुमा अधिकतम भनेको नै २०० माइक्रोग्राम प्रतिघनमिटरसम्म पुगेको प्रदूषण हावा गुम्सिएर एक्कासी आकासिएको बताउँछन् ।

‘हामीले २०१६ को अन्तिममा वायु प्रदूषण मापन गर्ने मेसिनहरु जडान गरेका थियौं, यो वर्षको प्रदूषणको दर अहिलेसम्मकै सबैभन्दा धेरै रेकर्ड भएको छ’ जोशीले भने ‘हिमाल सिमेन्ट र विक्रम टेम्पोलाई विस्थापन गरेपछि सम्भवतः यो वर्ष नै होला सबैभन्दा धेरै प्रदूषण भएको ।’ जोशीले अरु केही नभएर खुला वायुमण्डलमा नफैलिई गुम्सिएर बसेको हावाले नै प्रदूषण बढाएको बताए ।

तथ्यांक अनुसार भैंसेपाटी क्षेत्रमा साँझ ७ बजेपछि प्रदूषणको मात्रा बढ्ने गर्छ । पुस २० गते सोमबार साँझ ७ बजे सबैभन्दा धेरै ३७६.१९ माइक्रोग्राम प्रतिघनमिटर रेकर्ड गरिएको थियो । यसको बढ्ने क्रम भने दिउँसो १ बजेदेखि नै सुरु भएको वातावरण विभागको तथ्यांकले जनाएको छ । त्यसो त अघिल्ला दिनमा पनि रातिको समयमा दिउँसोको भन्दा धेरै प्रदूषण हुने गरेको तथ्यांकले देखाएको छ ।

अर्काेतर्फ रत्नपार्कको प्रदूषणले पनि झण्डैझण्डै भैंसेपाटीको तथ्यांकलाई भेटेको छ । २० पुसमा सोमबार राति ९ बजे रत्नपार्कको वायु प्रदूषण ३६८ माइक्रोग्राम प्रतिघनमिटरको बिन्दुमा पुगेको थियो । त्यसो त रत्नपार्कको हावाले शनिबारदेखि नै वायु प्रदूषण बढ्न थालेको संकेत दिइसकेको थियो । शनिबार राति ८ बजे रत्नपार्कको हावामा २०८.४० माइक्रोग्राम प्रतिघनमिटर प्रदूषणको मात्रा रेकर्ड गरिएको थियो । रत्नपार्कमा साँझदेखि रातिसम्म प्रदूषण बढी हुने गरेको तथ्यांकले देखाएको छ ।

यो पनि पढ्नुस् –

चुरोटको धुँवा जत्तिकै छ काठमाडौंको हावा

शनिबार र आइतबार सामान्य बढेको प्रदूषणको मात्रा अपराहृन ४ बजे एक्कासी १९७ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको थियो । सोमबार साँझ ७ बजे एक्कासी रत्नपार्क क्षेत्रको प्रदूषणको मात्रा ३१९.०४ माइक्रोग्राम प्रतिघनमिटर पुग्यो । सो क्रम राति ८ बजे ३४१.६४ पुगेकोमा राति ९ बजे सबैभन्दा धेरै ३६८.४५माइक्रोग्राम प्रतिघनमिटर पुगेको थियो ।

भैंसेपाटी र रत्नपार्कको वायु प्रदूषणले नेटो काटिरहँदा भक्तपुरमा भने वायुप्रदूषणको अवस्था त्यति डरलाग्दो थिएन । २० पुस, सोमबार भक्तपुरमा सबैभन्दा धेरै प्रदूषण मापन राति ८ बजे २७०.४० माइक्रोग्राम प्रतिघनमिटर रेकर्ड गरिएको थियो ।

प्रदूषणको मुख्य स्रोत के ?

काठमाडौंमा वायु प्रदूषणको मुख्य स्रोत अहिले पनि सवारी साधन नै रहेको वातावरण विभाग जनाउँछ । पछिल्लो समय यस विषयमा व्यवस्थित अध्ययन नभएको भए पनि प्रदूषणको मुख्य स्रोत सवारी साधन नै रहेको वातावरण विभागका उपमहानिर्देशक जोशीले जानकारी दिए ।

एयर क्वालिटी स्टाटस एण्ड म्यानेजमेन्ट इन काठमाडौं भ्याली शीर्षकमा गरिएको एक अध्ययनले वायु प्रदूषणसम्बन्धी पीएम १० को मुख्य स्रोतहरुमा ३८ प्रतिशत जिम्मेवार सवारी साधन, २५ प्रतिशत जिम्मेवार फोहोरमैला, पराललगायत कृषिजन्य सामग्री आगो लगाउँदा १८प्रतिशत र इँटा भट्टाबाट निस्कने धुवाँले वायु प्रदूषणमा ११ प्रतिशत भूमिका खेल्ने गरेको उल्लेख थियो । त्यस्तै, अन्य उद्योगहरुले प्रदूषणमा ३ प्रतिशत र अन्य शीर्षकमा ४ प्रतिशत भूमिका वायुप्रदूषणमा हुने गरेको उल्लेख गरिएको थियो ।

जाडो मौसममा आगो बाल्दा आउने धुवाँले पनि प्रदूषणमा महत्वपूर्ण भूमिका खेल्ने गरेको वातावरण विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment