Comments Add Comment

काठमाडौंमा आँखा पोल्ने प्रदूषण, आपतकालको तह नाघ्यो

विज्ञ भन्छन् - कोरोना संक्रमितलाई बढी जोखिम, सावधानी अपनाउनू

Photo Credit : तस्वीरः आर्यन धिमाल/अनलाइनखबर

२० पुस, काठमाडौं । सोमबार दिनभरि काठमाण्डौं उपत्यकामा घाम लागेन । कतिपयले सडकमा हिँड्दा आँखा पिरो-पिरो भएको अनुभव गरे । खासगरी साँझपख घर बाहिर निस्कने धेरैले आँखा पिरो भएको गुनासो गरे ।

चिकित्सकहरूका अनुसार यसको कारण हो- वायु प्रदूषण ।

नेपाल सरकारका पूर्वसचिव मौसमविद् डा. ऋषिराम शर्मा पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको र हिजो-अस्तिको तुलनामा वायु अत्यधिक प्रदूषित भएको बताउँछन् ।

मौसमविद् डा. शर्माको भनाइलाई वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागको आँकडाले पनि पुष्टि गर्छ । सोमबार साँझ काठमाडौं, भैंसेपाटीको एअर क्वाली इन्डेक्स (एक्युआई) ४०३ छ । अघिल्लो दिनको भन्दा यो दोब्बर भन्दा बढी हो ।

वातावरण विभागको वायु गुणस्तर निगरानीका अनुसार आइतबार भैंसेपाटीको एक्युआई १७३ थियो । २४ घण्टामै वायुको गुणस्तरमा दुई सय प्रतिशतभन्दा बढीले खराब भएको देखिन्छ ।

विश्वकै नम्बर १ प्रदूषित शहर

सोमबार काठमाडौंको वायु प्रदूषण विश्वमै नम्बर एकमा पुग्यो । स्वीटजरल्याण्ड मुख्यालय रहेको एक्युएअरले सोमबार ७.४५ बजे काठमाडौंको एक्युआई ४८७ पुगेको देखाएको छ ।

काठमाडौं नम्बर १ मा पुगेको मात्रै होइन, दोस्रो र तेस्रो स्थानको भन्दा झण्डै दोब्बर पुगेको थियो । त्यतिबेला दोस्रो स्थानमा रहेको कीर्गिस्तानको भिश्केकको २९६ र तेस्रो स्थानको भियतनामको हनौईमा २४१ एक्युआई थियो ।

खतरा जनाउने सूचक रंग पनि काठमाडौंको खैरो छ । रातो र वैजनी भन्दा खैरो रंगले बढी जोखिम संकेत गर्ने जानकारहरू बताउँछन् ।

जनस्वास्थ्य संकटकाल

गत वर्ष दिल्ली सरकारले भारतमा ५० लाख मास्क वितरण गर्‍यो । ती मास्क नोवेल कोरोना भाइरस (कोभिड-१९)बाट जोगिन नभई वायु प्रदुषणबाट आफ्ना जनतालाई बचाउनका लागि थियो । अत्याधिक वायु प्रदूषण भएपछि दिल्ली सरकारले जनस्वास्थ्य संकटकाल (पब्लिक हेल्थ इमरजेन्सी) नै घोषणा गरे ।

नेपाल सरकारले पनि काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामा वायु प्रदुषण आपत्काल सम्बन्धी व्यवस्था गरेको छ ।

मन्त्रिपरिषद् बैठकले ३ माघ २०७६ मा पारित गरेको यो कार्ययोजनामा स्पष्ट रुपमा ३०० एक्युआई नाघेपछि विपदकाल घोषणा गर्ने भनिएको छ । तर, वातावरण मन्त्रालयकै तथ्यांकले एक्युआई ४०० नाघेको देखाउँदा पनि सरकारले कुनै वास्ता गरेको छैन ।

‘३०० मै संकटकाल घोषणा गर्नुपर्नेमा सरकारले ४०३ पुग्दासम्म थाहा पाएको नपाई गरेको छ’ वातावरणविद् भूषण तुलाधार भन्छन्, ‘सरकारले एउटा सूचनासम्म पनि जारी गरेको छैन ।’

कोरोना संक्रमितलाई बढी जोखिम

वायु प्रदूषण कोभिड-१९ संक्रमितका लागि हानीकारक रहेको विभिन्न अध्ययनहरूले देखाएको छ । प्रदूषित क्षेत्रका संक्रमितलाई तुलनात्मक रुपमा बढी हानी पुगेको जानकारहरू बताउँछन् ।

कोरोना उपचारमा संलग्न डा. शेरबहादुर पुन वायु प्रदुषण संक्रमितका लागि अझै घातक देखिएको बताउँछन् । ‘वायु प्रदुषणले कोरोना संक्रमितलाई पार्ने प्रभावको विषयमा थप अध्ययन हुन बाँकी छ’ डा. पुन भन्छन्, ‘दुबैले फोक्सोमा असर पार्ने भएकाले हुनसक्छ वायु प्रदुषण कोरोना संक्रमितका लागि थप घातक मानिएको छ ।’

‘जोखिम समूहले सावधानी अपनाउनू’

मन्त्रिपरिषदले स्वीकृत गरेको काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना अनुसार ३०० एक्युआई पुगेपछि बालबालिका, ज्येष्ठ नागरिक, विरामीहरूलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्नुपर्ने भनिएको छ ।

१५ पुससम्म काठमाडौं महानगरभित्र मात्रै ३४ हजार भन्दा बढी संक्रमित भइसकेका छन् । कोरोना नभए पनि वायु यो तहमा प्रदूषित भएपछि आपतकाल घोषणा गर्नुपर्ने सरकार आफैले बनाएको कार्ययोजनामा उल्लेख छ ।

खुल्ला रुपमा फोहोर बाल्ने कार्य रोक्न स्वयम सेवक खटाउने, ब्रुमर-भ्याकुम प्रयोग गरेर सडक सफा गर्ने, अनावश्यक रुपमा घरबाहिर नआउन र आउनै परे एन-९५ मास्क अनिवार्य लगाउन, सम्भव भएसम्म गाडी नचलाउन, उपत्यकामा उद्योग बन्द गर्ने र मालबाहक बाहेकका गाडी उपत्यका प्रवेश गर्न नदिनुपर्ने कार्ययोजनामा उल्लेख छ ।
वातावरणविद् तुलाधर भन्छन्, ‘यति गम्भीर अवस्था आइसकेपछि सरकारले कमसेकम आफैले बनाएको कार्ययोजना पालना गरे हुने नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment