Comments Add Comment

चुरोटको धुँवा जत्तिकै छ काठमाडौंको हावा

२२ पुस, काठमाडौं । सोमबार काठमाडौं उपत्यकाको हावा विश्वका प्रमुख ९६ शहरमध्ये सबैभन्दा बढी प्रदुषित रह्यो ।

स्वीट्जरल्याण्डस्थित प्रदुषण मापन गर्ने संस्था आईक्युएअरका अनुसार त्यसदिन ७.४५ बजे काठमाडौंको एक्युआई ४८७ थियो । वातावरण विभागको आंकडा अनुसार त्यसदिन भैंसेपाटीमा ४०३ एक्युआई मापन भयो ।

आखिर के हो त यसको अर्थ ? मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाका अनुसार काठमाडौंको प्रदुषित हावामा श्वास फेर्नु भनेको नियमित चुरोट सेवन गर्नु जत्तिकै हो । तत्काल कुनै समस्या नदेखिएपनि दीर्घकालीन स्वास्थ्य समस्या सिर्जना गराउने भएकाले कोइराला यसलाई ‘साइलेन्ट किलर’का रुपमा व्याख्या गर्छन् ।

मुटुरोगका कारण हुने मृत्युमध्ये २० प्रतिशतभन्दा धेरैको कारण वायु प्रदूषण रहेको डा. कोइराला बताउँछन् । त्यस्तै फोक्सोको कारणले हुने मृत्युमध्ये ४३ प्रतिशत मृत्युमा प्रदूषणको भूमिका रहेको उनको भनाइ छ ।

विभिन्न अध्ययनले उल्लेख गरेको प्रदूषणको असरलाई हेर्ने हो भने झनै भयावह अवस्था देखिन्छ । प्रत्येक वर्ष नेपालमा ४२ हजार १०० जनाको मृत्युमा प्रदूषण पनि कारण हुने गरेको स्टेट अफ ग्लोबल एयर रिपोर्ट-२०२० को आंकडा छ ।

प्रदूषणका कारण सीओपीडी (फोक्सोसम्बन्धी) रोग लागेर सबैभन्दा धेरैले ज्यान गुमाउने गरेको अध्ययनले देखाएको छ । फोक्सोसम्बन्धी समस्याबाट मृत्यु हुनेमध्ये ६६ प्रतिशतले प्रदूषणकै कारण ज्यान गुमाउनु परेको देखिएको छ ।

त्यस्तै, मुटुको रोगबाट ज्यान गुमाउनेमध्ये पनि २४ प्रतिशत वायु प्रदूषणकै कारण मृत्यु हुने गरेको विज्ञहरु बताउँछन् ।

वातावरणविद् भुषण तुलाधर वायुप्रदूषणको सबैभन्दा ठूलो असर फोक्सोमा पर्ने गरेको बताउँछन् । उनी वायु प्रदूषणले मानिसको शरीरमा आक्रमण नगर्ने कुनै अंग नै नरहेको बताउँछन् । ‘वायुमा हुने दूषित कण श्वासप्रश्वास मार्फत् सुरुमा फोक्सोमा पुग्ने भएकोले यसमा बढी असर देखिन्छ’ तुलाधर भन्छन् ‘अन्तिममा हातखुट्टामा पनि असर देखिन्छ । तर मृत्युतर्फ हेर्ने हो भने चाहिँ सबैभन्दा धेरै प्रदूषणकै कारण ज्यान जाने गरेको छ ।’

अध्ययन अनुसार बच्चाहरुको मृत्यु, समयभन्दा अघि नै बच्चा जन्मिनु, बच्चाको जन्मिँदै अपांगता भएर जन्मिने जस्ता समस्या पनि प्रदूषणका कारण हुने गर्छ । नवजात शिशुको मृत्युमध्ये २२ प्रतिशत मृत्युको कारण प्रदूषण रहने गरेको स्टेट अफ ग्लोबल एयर रिपोर्ट-२०२० मा उल्लेख छ ।

त्यस्तै, श्वास प्रश्वासका कारण हुने मृत्युमध्ये ४७ प्रतिशत, कुल क्यान्सरबाट मृत्यु हुनेमध्ये ३४ प्रतिशत र कुल मधुमेहका कारण मृत्युहुने मध्ये २५ प्रतिशत मृत्युको कारण वायु प्रदूषण रहेको पनि रिपोर्टमा उल्लेख गरिएको छ ।

कसरी गर्छ प्रदूषणले स्वास्थ्यमा असर ?

वायु प्रदूषणको चर्चासँगै आँखाले देख्न नसकिने पीएम १० र पीएम २.५को कुरा आउने गर्छ । यसमध्ये पीएम १० भनेको हावामा आउने धुलोमा मिसिने कणहरुसँग सम्बन्धित छ भने पीएम २.५ भनेको कार्बनमोनो-अक्साइड, सल्फर, नाइट्रोजन अक्साइड जस्ता हानिकारक ग्यासहरुसँग सम्बन्धित छ ।

त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार प्रदूषित वायुमा रहेका यी ग्यासहरू श्वासनली हुँदै फोक्सोभित्र प्रवेश गरेर श्वासनली र नलिका हुँदै रगतसम्म पुग्छ ।

बाहिर हावाबाट आएको श्वासनली र नलिकाबाट आउने अक्सिजन रगतसम्म पुग्ने गर्छ र रगतमा रहेको बिकारको पदार्थ कार्बन-डाइअक्साइडलाई नलिकाबाट फोक्सोको श्वासनलीबाट बाहिर फाल्ने क्रम रक्तसञ्चार प्रणालीमा चलिरहन्छ ।

पीएम २.५ ग्यासेस पार्टिकलहरू स्वास्थ्यका लागि खराब खालका हुन्छन् । यसमा माथि उल्लेख गरिएकाबाहेक निकोफिन, क्याटमियम, नाइट्रोजन-डाइअक्साइड, ओजोन, सल्फरडाइ-अक्साइड जस्ता क्यान्सरजन्य पदार्थहरू समेत रहेका हुन्छन् ।

यी ग्यासहरू श्वासनली हुँदै भित्र छिर्छन् । ती हानिकारक पदार्थहरू विभिन्न अंगहुँदै रगतसम्म पुग्छन् र रगतका भित्ताहरूलाई कडा बनाइदिन्छन् । जसले हामीमा रक्तचाप बढाउँछ । डा. बमका अनुसार रक्तचाप बढेपछि सामान्य अवस्थामा भन्दा प्रदूषणयुक्त ठाउँमा बसेको मान्छेमा हृदयघात र स्ट्रोकको सम्भावना १० गुणासम्म बढेर जान्छ । यसरी वायु प्रदूषणले नै स्ट्रोक र हृदयघातको समेत प्रचूर सम्भावना बढाइदिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment