Comments Add Comment

सवारी लाइसेन्सको अनलाइन आवेदनमा कोटा प्रणाली हट्ने

२८ पुस, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षाका लागि लागू भएको कोटा प्रणाली हटाउने भएको छ । लाइसेन्सको अनलाइन आवेदन दिन पनि सस्ती हुने भएपछि यातायात व्यवस्था विभागले आगामी साताबाट दैनिक जति पनि संख्या सेवाग्राहीले आवेदन दिनसक्ने गरी प्रणाली व्यवस्थापन गर्न लागेको हो ।

हाल हरेक दिन सम्बन्धित लाइसेन्स कार्यालयले आफ्नो क्षमताअनुसार निश्चित कोटा तोक्ने र त्यसैअनुसार मात्रै अनलाइन फारम भर्न मिल्ने व्यवस्था छ । यसले गर्दा दैनिक ४ देखि ५ हजारले मात्रै लाइसेन्सको आवेदन दिन सक्ने अवस्था छ । लाइसेन्सको परीक्षामा सहभागी हुन चाहाने हजारौंले दिन-दिनै फारम भरेपनि अनलाइनबाट ‘सम्बिट’ गर्न सास्ती भोगिरहेका छन् । अझ विहान ६ बजे अनलाइन आवेदनको प्रणाली खुल्नासाथ एकैपटक हजारौं सेवाग्राही यातायात व्यवस्था विभागको साइटमा आउने गर्दा प्रणालीमै समस्या देखिन थालेको छ ।

अब भने लाइसेन्सको परीक्षा दिन चाहानेले जुनसुकै समयमा आवेदन भर्नसक्ने र आफ्नो फारम भरेर ‘सब्मिट’ गरेपछि आवेदकलाई यो दिनमा परीक्षामा हाजीर हुन भनेर प्रणालीमार्फत नै जानकारी दिने व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

‘अनलाइन फारममा कोटा राख्दा विचौलियाको चलखेल पनि बढ्ने देखियो,’ उनले भने,’सेवाग्राहीलाई सास्ती भएको देखेपछि हामीले सबै फारम स्वीकार गर्ने र कार्यालयको क्षमताअनुसार प्रणालीबाट नै दिन तोकेर आवेदकलाई परीक्षाको दिन जानकारी गराउने व्यवस्था गर्दैछौं ।’

९ महिनापछि लाइसेन्सको परीक्षा खुलेकाले लाइसेन्स कार्यालयमा ठूलो चाप छ । तर, कार्यालयको लाइसेन्स वितरण क्षमता सीमित भएकाले सेवाग्राहीलाई नै सास्ती भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment