Comments Add Comment

‘अर्थव्यवस्था क्रोनिक बनाउने मुख्यमन्त्री हुन्, जिम्मेवारी मैले पनि लिनुपर्छ’

करिब ६ अर्ब गैरबजेटरी खर्च

मुख्यमन्त्री शेरधन राई र पूर्वअर्थमन्त्री इन्द्र आङ्बो (बायाँ)

१ माघ, विराटनगर । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रीबाट बर्खास्तीमा परेपछि इन्द्र आङ्बोले प्रदेश १ को बजेट दुर्घटनातर्फ उन्मुख भएको तर्क गरे । मुख्यमन्त्री शेरधन राईका कारण बजेट दुर्घटनातर्फ उन्मुख भएको दाबी उनको छ ।

मुख्यमन्त्री शेरधन राईले भने नाम नतोकी आङ्बोका कारण बजेट क्रोनिक अवस्थामा पुगेको दाबी गरे । त्यसैले प्रदेश १ सरकारले खर्चमा मितव्ययिता अपनाउन परिपत्र गरेको छ ।

३४ महिनासँगै काम गरेका मुख्यमन्त्री राई र आङ्बोबीच अहिले आरोपप्रत्यारोपको श्रृङ्खला जारी छ । मुख्यमन्त्री राईलाई अर्थतन्त्रका बारेमा केही पनि ज्ञान नभएको बताउँदै आङ्बो भौतिक पूर्वाधार विकास मन्त्रालयका कारण बजेट क्रोनिक बनेको दाबी गर्छन् । गत आर्थिक वर्ष ४२ अर्बको बजेटमा एउटै मन्त्रालयले ६ अर्ब रुपैयाँ गैर बजेटरी खर्च गरेपछि समस्या भएको उनको भनाइ छ ।

उनका अनुसार गत आर्थिक वर्ष मुख्यमन्त्री राईले नेतृत्व गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयले वित्तीय अनुशासन बाहिर रहेर खर्च गरेको छ । ‘भौतिक मन्त्रालयले वित्तीय अनुशासन भन्दा बाहिर बसेर ६ अर्ब हाराहारी  खर्च गरेको छ,’ उनले भने, ‘यो विषय अबको महालेखाको प्रतिवेदनमा पनि आउँछ ।’

पूर्वमन्त्री आङ्बोले ३४ महिना सरकारमा रहेर काम गरेकाले  कमजोरीको जिम्मेवारी लिन आफू तयार रहेको बताए

भौतिक पूर्वाधार विकास मन्त्रालयले गत आर्थिक वर्ष स्वीकृत गरेको योजनामा विनियोजन भएको बजेटभन्दा २ अर्ब ३१ करोड ८८  लाख १७ हजार बढी खर्च गरेको आङ्बोको दाबी छ । त्यस्तै स्रोत सुनिश्चित नभएको योजनामा ३ अर्ब ४७ करोड बढी खर्च गरेको उनले बताए । गैरबजेटरी खर्चको भुक्तानीका लागि आर्थिक मामिला मन्त्रालयले रोक लगाएको थियो । तर चालु आर्थिक वर्षमा कागज मिलाएर भुक्तानी भइरहेको उनले बताए ।

‘आर्थिक कार्यविधी ऐन अनुसार प्राप्त बजेट खर्च गर्न सकिएन भने फागुनपछि सरेन्डर गर्नुपर्छ,’ उनले भने, ‘सम्बन्धित मन्त्रालयमै रह्यो भने अर्थमन्त्रालयको स्वीकृतिमा मात्रै खर्च गर्नुपर्छ । तर पूर्वाधार मन्त्रालयले कुनै बजेट खर्च गर्दा स्वीकृति लिएन ।’ उनका अनुसार गत आर्थिक वर्षको अन्त्यमा ५३ करोड गैर बजेटरी शीर्षकमा खर्च भएको थियो ।

अधिकांश रकम मन्त्रीको तोक आदेशमा खर्च भएको आङ्बोले बताए । उपभोक्तामार्फत खर्च भएको रकम सम्बन्धित निर्वाचन क्षेत्रका सांसदको सिफारिस र मन्त्रीको तोक आदेशमा निकासा भएको उनको भनाइ छ ।

गैर बजेटरी र स्रोत सुनिश्चित नभएको कार्यक्रमको भुक्तानी दिन दबाब दिँदा मन्त्रालयले अस्वीकार गर्दै नीतिगत निर्णयपछि मात्रै भुक्तानी गर्न सुझाव दिएको उनले बताए ।

प्रदेश १ को प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार भौतिक पूर्वाधार मन्त्रालयले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा २ अर्ब ८८ करोड ६२ लाख ५५ हजार ६१० रुपैयाँ पुँजीगत खर्च गरेको छ । गत वर्ष सोही अवधीमा १ अर्ब ६१ करोड ६१ लाख ६४ हजार ७१० रुपैयाँ खर्च गरेको थियो । गत वर्षको तुलनामा करिब एक अर्ब २७ करोड बढी खर्च गरेको छ ।

‘जिम्मेवारी म पनि लिन्छु’

पूर्वमन्त्री आङ्बोले ३४ महिना सरकारमा रहेर काम गरेकाले  कमजोरीको जिम्मेवारी लिन आफू तयार रहेको बताए ।

‘सरकारको नेतृत्वले वित्तीय संकटको जिम्मेवारी लिनुपर्छ,’ उनले भने, ‘३४ महिनासम्म सरकारमा रहेर काम गरेको नाताले मैले पनि कतिपय कुराको जिम्मेवारी लिनुपर्छ ।’

गत वर्षको आम्दानी कम भएको बताउँदै उनले आर्थिक वर्षको अन्तिममा गैरबजेटरी खर्च जथाभावी हुँदा समस्या देखिएको बताए ।

प्रदेश १ सरकारको परिपत्र : सरकारी पैसाले चियापान नगर्नू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment