
३ माघ, काठमाडौं । हिउँदे पारिलो घाम लाग्ने यो घुमघामको मौसम हो । काठमाडौं उपत्यकावासीका लागि शनिबारीय बिदामा घुमघामको एउटा राम्रो गन्तव्य जामाचो हो । शिवपुरी राष्ट्रिय निकुन्जभित्र पर्ने जामाचो सपरिवार समुद्री सतहबाट २१३० मिटरमाथि पुग्न सकिने रमणीय डाँडा हो ।
यो यात्राको आकर्षण मुख्यतः दृष्यावलोकन र जमाचो गुम्बा हो । घना सहरबाट केही मिनेटमै घना जंगल पुगिने यो यात्रा साताभरको उकुसमुकुसलाई निकास दिन काफी हुनसक्छ ।
जामाचो ट्रेलका अनुभवी अर्जुन न्यौपानका अनुसार, बढी ठाडो उकालो पर्ने यो यात्रा तुलनात्मकरुपमा छोटो तर पूर्ण छ । ‘जामाचो अन्य पदयात्रामार्गको तुलनामा सफा, व्यवस्थित र सुरक्षित पनि छ’, बालाजुका वासिन्दा उनी भन्छन्, ‘किनकी यो निकुन्जको संरक्षणमा छ ।’
जामाचो हाइकिङमा जान सार्वजनिक बसबाट बालाजु वाइपास पुगेर नुवाकोटको ककनी जाने सडकतिर १० मिनेट हिडेर निकुञ्जको फुलबारी गेटतिर लाग्नुपर्छ । निजी गाडी भए सिधै फूलबारी गेट पुग्न सकिन्छ । नेपाली सेनाको निकुन्ज प्रवेश काउन्टर यही गेटमा छ ।

प्रतिव्यक्ति १०० रुपैयाँको टिकट काटेर दायाँ उकालो लाग्दा नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहको नागार्जुन निवास छेउ हुँदै जामाचो डाँडा पुगिन्छ । त्यहाँ जाँदा नागरिकता वा ड्राइभिङ लाइसेन्स जस्ता फोटोसहितको परिचय पत्र आवश्यक पर्दछ ।
फूलबारी गेटबाट बायाँ घुमाउरो पक्की सडक हुँदै पनि आरामले जामाचो पुगिन्छ । गाडी भने लैजान नपाइने यो रुट अलि साना यात्री भएका पारिवारिक समुूलाई बढी उपयुक्त हुन्छ । निकुञ्जमा सेनाले गस्ती गर्ने भएकाले अन्यत्रको तुलनामा सुरक्षित गन्तव्यसमेत मानिन्छ । यद्यपि बालबालिकालाई एक्लै छोड्नु भने हुँदैन । जाँदा र फर्कदा फरक रुट प्रयोग गर्न पनि पाइन्छ ।
काठमाडौंको छोटो हाइकिङ रुटको रुपमा लोकप्रिय जामाचो पुगेर फूलबारी गेट र्झन सकिन्छ । त्यस्तो हतारको हिँडाइले मनग्गे पसिना निकाले पनि दृष्यावलोकन गर्न पाइन्न । परिवारका साथ वा मन मिल्ने साथीसंगीको झुण्ड बनाएर जाँदा बढी मजा हुने हाइकिङ रुट हो यो ।

वैशाख पूणिर्माको दिन जामाचोमा मेला पनि लाग्छ । डाँडामा गुम्बासँगै भ्युटावर छ । आकास खुलेको दिन पर्यो भने यहाँबाट काठमाडौं सहर त देखिन्छ नै उत्तरतिरका अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जेलाक्पा हिम शृङ्खला निकै नजिक देखिन्छ ।
पानी र खाना बोक्नुस्
निकुन्जभित्र व्यापार हुँदैन, फोहोर पनि गर्न पाइन्न । त्यसैले जामाचो चढ्दा पानी र ड्राइफुड बोक्नुस्, फाल्नुपर्ने बस्तु फोहोर फाल्न राखिएका भाडामै फाल्नुहोस् । रुट छाडेर दायाँबायाँ लाग्नुभयो भने घना जंगल र भीरमा हराउने सम्भावना हुन्छ ।
केही अगाडिसम्म शिवपुरी-नागार्जुन राष्ट्रिय निकुन्जले नेचर गाइड अनिवार्य गरेको थियो, जुन अहिले हटाएको छ ।
जामाचो हाइकिङमा वन र वन्यजन्तुलाई हानी गर्ने खालका सामान, उपकरण लैजान पाइन्न । जस्तो- साउण्ड सिस्टम, लाइटर, सलाई, चक्कु आदि । होहल्ला पनि गर्न पाइँदैन । तयारी खाना, पानी, जुस र ट्रेकिङस्टिक भने मजाले लैजान पाइन्छ ।
प्रतिक्रिया 4