३ माघ, बुटवल । नेकपा प्रचण्ड-नेपाल पक्षका नेता घनश्याम भुसालले ‘सेटिङ’ वाहेक अरुले प्रतिनिधि सभा पुनर्स्थापनालाई रोक्न नसक्ने दाबी गरेका छन् ।
प्रतिनिधि सभा विघटन असंवैधानिक र गलत छ भन्ने सामान्य खेलपढ गर्नसक्नेलाई पनि थाहा भइसकेको अवस्थामा पुनर्स्थापनाको विकल्प नभएको उनले बताए । ‘संविधानलाई च्यातिन नदिन र देशलाई फेरि सही ट्रयाकमा ल्याउन प्रतिनिधि सभा पुनर्स्थापनाको विकल्पै छैन’ शनिबार रुपन्देहीको मणिग्राममा नेकपा तिलोत्तमा नगर कमिटीको विस्तारित भेलालाई सम्बोधन गर्दै भुसालले भने, ‘सेटिङ वाहेक अरु कुनै तरिकाले पुनर्स्थापना रोकिन्न ।’
पुर्वमन्त्री भुसालले प्रतिनिधि सभा पुनर्स्थापना नभए देश अनिश्चयको डरलाग्दो भूमरीमा फस्ने खतरा औंल्याए । ‘वैशाखमा चुनाव गर्छु र दुई तिहाई वहुमत ल्याउँछु भन्ने प्रधानमन्त्रीको कुरा हास्यास्पद छ’ भुसालले भने, ‘खासमा ओलीजीको उद्देश्य चुनाव गर्ने हुँदै होइन, संविधान भत्काउने हो ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याएर प्रभावित पार्ने र जबरजस्ती विघटनलाई वैधता दिलाउन लागिपरेको भन्दै उनले त्यसलाई रोक्न आफूहरु र विपक्षी दलहरु आन्दोलनमा उत्रिनुपरेको उनले बताए ।
पद नपाएर नेताहरुले विवाद गरेको भनेर प्रधानमन्त्रीले लगाउने गरेको आरोप गलत भन्दै भुसालले ठूलादेखि पियनसम्म सबै पदमा आफ्नै गुटको मान्छेलाई मात्रै नियुक्ति दिने र सबै चिज आफ्नो नियन्त्रणमा राख्न चाहने प्रधानमन्त्री ओलीको तानाशाही सोच समस्या भएको बताए ।
‘हाम्रो आन्दोलन प्रतिनिधिसभा पुनर्स्थापना हुन नदिने षड्यन्त्र र सेटिङविरुद्ध हो, संविधान रक्षाका लागि हो, देशलाई ट्रयाकमा ल्याउन हो’ भुसालले भने, ‘तर उहाँहरुले पद नपाएर सडकमा गएको भनेर कुतर्क गरिहनुभएको छ, जसरी गणतन्त्रका लागि आन्दोलन हुँदा बयलगाडा चढेर अमेरिका पुगिन्न भन्नुभाथ्यो ।’
प्रतिनिधि सभा पुनर्स्थापना भए पार्टी एकता पनि जोगिने, तर ओलीको ‘अपराध’बारे समीक्षा गर्ने र उनी सजायको भागिदार बन्नुपर्ने भुसालले बताए ।
प्रधानमन्त्री बन्न संविधानको पक्षमा उभिएका हुन्
प्रधानमन्त्री बन्नकै लागि मात्र ओली अहिलेको संविधान बनाउने पक्षमा उभिन आएको भुसालले दावी गरे । ‘उहाँ शुरुदेखि नै यो संविधानका अग्रगामी र समावेशी व्यवस्थाहरुप्रति बेखुशी हुनुहुन्थ्यो, त्यसकारण यो संविधान भाँड्न र भत्काउन चाहनहुन्थ्यो’ भुसालले भने, ‘संविधान नबनाई सुशील कोइरालाको सरकार नढल्ने देखेपछि आफू प्रधानमन्त्री बन्न संविधान जारी गर्ने अन्तिम समयमा मात्रै ओलीजी संविधान बनाउने पक्षमा उभिए जस्तो गर्नुभयो ।’
प्रचण्ड-माधव समूहका नेता भुसालले ओली कहिल्यै पनि राष्ट्रवादी नभएको दावी गरे । महाकाली सन्धि हुनु अघिदेखि नेपालको नक्सा जारी गर्दासम्म ओली राष्ट्र हितको पक्षमा कहिल्यै नउभिएको भुसालको आरोप छ ।
उनले भने-‘नेपालको चुच्चे नक्सा निकाल्ने विषयमा पनि शुरुमा वामदेव गौतम र पछि सचिवालयका सदस्यले भनेपछि ओली तयार भएका हुन् ।’
पापी पेट पाल्न बादल ओलीतिर लागे
नेता भुसालले रामबहादुर थापा बादल पापी पेट पाल्न ओलीको समूहमा लागेको टिप्पणी गरे । ‘एक महिनाअघि ओलीलाई सर्वसत्तावादी र साम्राज्यवादी अमेरिकाको गोटी बनेर एमसीसी थोपरेको भन्दै भाषण गर्ने बादलजी एक महिनापछि पापी पेट पाल्नका लागि सबै कुरा बिर्सेर उतै लाग्नुभो’ भुसालले भने ।
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रधानमन्त्री ओलीको सर्वसत्तावादी सोच र अहंकारका कारण प्रतिनिधिसभा विघटन गरिएको बताए । संविधानको कुनै पनि धारामा वहुमत प्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको भन्दै उनले विघटनले संविधानमाथि प्रहार भएको टिप्पणी गरे । ‘अदालतले नै संविधानको बर्खिलाप फैसला गर्यो भने यो संविधान कसले मान्छ ?’ उनले भने, ‘त्यसपछि संविधान, प्रधानमन्त्री, सर्वोच्च, न्यायाधीश, निर्वाचन आयोग कसैलाई मान्ने कुरा हुन्न । जनताले अर्को संविधान बनाउँछन् ।’
कार्यकर्ता भेलामा नेता वामदेव क्षेत्रीले, ओली सामूहिक निर्णय नमान्ने, वैठकबाट भाग्ने र स्वेच्छाचारी ढंगले अघि बढेकाले पार्टीभित्र समस्या आएको बताए ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4