Comments Add Comment

ताङतिङ चिनाउने ‘हेडसर’को किताब

पोखरा । २ सय घर झुरुप्प परेर मिलेको ताङतिङ । साविक नामार्जुङ गाविसको वडा नम्बर १ देखि ५ सम्म मिलेर बनेको एउटै गाउँ । ९० प्रतिशत गुरुङ बसोबास गर्ने ताङतिङ लाहुरेहरुको गाउँ भनेर पनि चिनिन्थ्यो ।

लाहेरे परिवार र संस्कृतिमा हुर्किए, ओमप्रकाश गुरुङ । गाउँकै स्कुलमा पढेका गुरुङका दामली कोही लाहुले बने त कोही हङकङ, सिंगापुर पुगे । तर, गुरुङले एसएलसी दिएलगत्तै आफैं पढेको स्कुलमा पढाउन थाले । जतिबेला उनी जम्मा १७ वर्षका थिए । एसएलसी दिएपछि लाहुरे हुने लहरमा उभिएनन् उनी । न त अरु देशको आइडी बनाउन दौडिए ।

दामली लाहुरे हुन पोखरा झर्दा उनी उच्च शिक्षा लिन झरे । पोखराबाट उच्च शिक्षा लिएर प्रकाश गाउँमै फर्किए र शिक्षाको ज्योति छर्न लागे । ताङतिङको हिमालय मिलन माविमा प्रकाशले ४८ वर्ष पढाइसके । २३ वर्षदेखि सोही विद्यालयको प्राध्यानाध्यापक छन् । पछिल्लो ३० वर्षमा ताङतिङ गाउँले ठूलो आरोह-अवरोह खेप्यो ।

नुनबाहेक सबै गाउँमै फलाउँथ्यो, ताङतिङ । पोखरादेखि धेरै टाढा नभएर पनि बिकट जीवन बाँचेको ताङतिङको बिस्तारै काख रित्तो हुँदै गएको प्रकाशले देखे । लाहुरे हुन लर्को लागेर झरेकाहरु गाउँ फर्किन छाडे । अधिकांशले पोखरामै घरजग्गा जोडे । लाहुरे संस्कृतिबाट बचेखुचेकालाई रेमिट्यान्सले साउदी, कतार लगायतका देश पुर्‍याउँदा रित्तो ताङतिङको साक्षी पनि बने प्रकाश ।

‘३० वर्षमा ताङतिङले ठूलो काँचुली फेर्‍यो । गाउँ रित्तै भयो । संस्कृति हराउँदै गए । नयाँ पुस्ताले पुरानो ताङतिङ देख्न नपाउलान्जस्तो पो भयो,’ प्रकाशले भने, ‘लाहुरे हुनेदेखि अवसरको खोजि गर्दै झर्ने बढे । रेमिट्यान्सले गाउँका बाँकी युवा पनि लग्यो । सुविधा भित्रिएसँगै गाउँबाट बाहिररिने पनि बढे ।’

अनवरत ताङतिङमा शिक्षाको ज्योति छरिरहेका गाउँका प्रकाश ‘सर’ले पर्यटनको दियो पनि बाले । गाउँमा सबैको प्रकाश सर बनेका छन् उनी । ताङतिङलाई चिनाउन, पर्यटक भित्राउन र संस्कृति बचाउनतर्फ पनि उनले अभियान चलाए । अहिले ताङतिङ नेपालकै पर्यटकीय रोजाइमा पर्ने होमस्टे गाउँहरुमध्येको एक हो ।

त्यही ताङतिङलाई थप चिनाउन र शब्दहरुमा जीवन्त राख्न उनै ‘प्रकाश सर’ले किताब प्रकाशित गरेका छन् । ‘पछिल्लो ३० वर्षमा ताङतिङमा जे भोगें, देखें र बाँचे त्यसलाई किताबमा उतारेको छु,’ प्रकाशले भने, ‘ताङतिङको महत्व, संस्कृति र परम्परा नयाँ पुस्ताले पढ्न पाऊन् भन्ने हो । ताङतिङबारे अध्ययन गर्नेहरुका लागि गतिलो सामाग्री पनि हुने छ ।’

ताङतिङले गरेको विकासबारे बुझ्न किताबले सघाउन पुर्‍याउने छ । प्रकाशद्वारा लिखित ‘ताङतिङ मेरो गाउँ’ निवन्ध संग्रहको शनिबार विमोचन भएको छ । ताङतिङलाई पर्यटनधाम बनाउने सपना गुरुङको छ ।

ग्रामिण पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) को आयोाजनामा ताङतिङ चिनाउने किताब विमोचन गरिएको हो । मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले किताब विमोचन गर्दै गाउँमा शिक्षाको ज्योति छरिरहेका प्रकाशले पर्यटकीय गाउँका रुपमा चिनाउन पनि ठूलो योगदान पुर्‍याएको बताए । विषम् परिस्थितिमा पनि गाउँमै रहेर उनले संघर्ष गरेको र प्रकाशको किताबले नयाँ पुस्तालाई गाउँ बुझ्न सजिलो हुने बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि भट्टराईले नयाँ पुस्ताले गाउँको संस्कृति र महत्व बुझेसँगै ग्रामिण पर्यटनले पनि फड्को मार्ने बताए । यस्ता किताबले गाउँलाई गाउँकै रुपमा बँचाइराख्न सहयोग पुर्‍याउने उनको भनाइ थियो ।

प्रकृति, संस्कृति, जीवनशैली, विकास र जनजीवनका विषयमा लेखिएका ३० वटा निबन्ध पुस्तकमा छन् । लाहुरे जीवन र गाउँको सुखदुख बुझ्न र पढ्न पाइने किताबका सम्पादक तथा पत्रकार अमृत भागगाउँलेले बताए ।

नेपालका गाउँहरुले बाँचेको जीवन, सुविधाहरुको पहुँचसँगै हराउँदए गएका गाउँका कथाहरु किताबमा पढ्न पाइने पत्रकार जमुना शर्मा वषर्ाले बताइन् । ‘यो किताबले विकास गाउँ कसरी छिर्‍यो, गाउँका मानिसले कसरी गाउँलाई जोगाइरहेका छन् र नयाँ पुस्तालाई गाउँ बुझ्नमात्रै सिकाउँदैन, मानवीयता पनि सिकाउँछ,’ किताबको समीक्षा गर्दै वर्षाले भनिन्, ‘किताबमार्फत कतिपय बनिबनाउ, रुढी मानसिकता र परम्परालाई गुरुङले भत्काएका छन् ।’

भिटोफका अध्यक्ष नवराज अधिकारीले गाउँ प्रवर्द्धन गर्ने अभियानमा गुरुङको किताबले ठूलो सहयोग पुर्‍याउने बताए । प्रकाशजस्ता पात्रहरुका कारण गाउँका सम्भावनाहरु व्यापक हुँदै गइरहेको सचिव माधव पनेरुको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment