Comments Add Comment

पहिलो दिन नै ट्रम्पका करिब दर्जन निर्णय उल्ट्याउँदै बाइडन

४ माघ, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनले आफूले पदभार ग्रहणको पहिलो दिनमा नै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा गरेका करिब एक दर्जन निर्णय उल्ट्याउने तयारी गरेका छन् । बाइडनका शीर्ष सहयोगीले शनिबार बाइडनले आफ्नो पहिलो दिनमा नै ट्रम्पले गरेका करिब एक दर्जन निर्णय उल्ट्याउन कार्यकारी आदेश जारी गर्न सक्ने बताएका हुन् ।

आफ्नो पहिलो दिनमा बाइडनले अमेरिकामा हाउजिङ, विद्यार्थी ऋण, जलवायु परिवर्तन र आप्रवासनसम्बन्धी विषयमा पहिलो दिन कार्यकारी आदेश जारी गर्नेछन् । त्यसका साथै यसअघि गरेको प्रतिबद्धताअनुसार बाइडनले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणसम्बन्धी निर्णय पनि पहिलो दिन गर्नेछन् । राष्ट्रपति बनेपछि बाइडनका चिफ अफ स्टाफ बन्न गइरहेका रोक क्लेनले दिएको जानकारीअनुसार बाइडन राष्ट्रपतिको पदभार ग्रहण गरेको पहिलो दिन निकै व्यस्त रहनेछन् । उनका अनुसार पहिलो दिन पेरिस सम्झौतामा सामेल हुने, केही मुस्लिम मुलुकहरुमाथि लगाइएको प्रतिबन्ध हटाउने, विद्यार्थीको ऋण भुक्तानीको समयसीमा लम्ब्याउने, निष्कासन र लिलामी प्रक्रिया तत्कालका लागि रोक्ने, अर्को राज्य वा सरकारी सम्पत्तिमा प्रवेश गर्दा मास्क अनिवार्य लगाउनेजस्ता निर्णय बाइडनले आफ्नो कार्यकालको पहिलो दिनमा गर्नेछन् ।

बाइडनले यसअघि नै यी विषयमा पहिलो दिन नै कार्यकारी आदेश जारी गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । बाइडनले पहिलो दिन नै गर्न लागेका अधिकांश आदेश ट्रम्पको नीतिको विरुद्धमा हुनेछन् र यसको कार्यान्वयनका लागि संसद्को अनुमति आवश्यक हुँदैन । यद्यपि बाइडनको कागजात नभएका आप्रवासीहरुलाई पनि नागरिकता दिने प्रस्तावको लागि भने संसद्को अनुमति आवश्यक हुन्छ ।

त्यसका साथै बाइडनले प्रस्ताव गरेको १९ खर्ब डलरको राहतको प्रस्ताव पनि संसदबाट पारित हुनुपर्छ । यद्यपि संसद्को दुवै सदनमा डेमोक्रेटिक पार्टीको नियन्त्रण रहेकाले उनलाई आफ्नो योजना पारित गराउन भने केही सहज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment