Comments Add Comment

बेलहियामा आईसीपी निर्माणमा ढिलाइ, मालबाहक ट्रक महिना दिनसम्म सडकमै

५ माघ, बुटवल । भारतीय पक्षले एकीकृत जाँच चौकी (इन्टिग्रेटेड चेक पोस्ट (आईसीपी) निर्माण नगर्दा सीमा क्षेत्र सुनौलीमा मालबाहक ट्रकको ‘जाम’ले आवागमन नराम्ररी प्रभावित हुने गरेको छ ।

आईसीपीको अभावमा भारतीय सुरक्षाकर्मीले नेपाल आउने मालबाहक सवारी साधनलाई सडकमै रोकेर भन्सार जाँच गर्ने भएकाले सुनौलीमा सवारी जामको समस्या बारम्बार दोहोरिने गरेको हो । झण्डै चार किलोमिटर दूरीसम्म हुने ‘जाम’ को समस्या कहिले एक महिनासम्म त कहिले एक हप्तासम्म हुने सीमा क्षेत्रका व्यवसायीको गुनासो छ ।

भारतबाट दैनिक ७०० देखि ८०० को संख्यामा मालबाहक ट्रक सुनौली नाका हुँदै नेपाल आउने गरेको भन्सार एजेन्ट संघका अध्यक्ष डा. शान्तकुमार शर्मा बताउँछन् । सुनौलीमा नेपालतर्फ आउने र नेपालबाट र्फकने सवारी साधनका लागि अलग-अलग सडक लेनसमेत नहुँदा आवागमनमा निकै सास्ती हुने गरेको छ ।

धेरै दिनसम्म सामानसहित ट्रक सडकमै रोकिँदा नेपाली व्यवसायीले भारतलाई विलम्ब शुल्क -डिटेन्सन चार्ज) बढी तिर्नुपरेको छ । नियमानुसार भारतमा सामान लोड भएको एक हप्ताभित्र मालबाहक सवारी नेपाल प्रवेश गरिसक्नुपर्ने हुन्छ । सीमा पार नगरे दैनिक एक हजार भारु डिटेन्सन चार्ज तिर्नुपर्छ,’ शर्मा भन्छन्, ‘अर्कोतर्फ नेपाल आएर एक दिनमा भन्सार पास नभए सवारी लोडका आधारमा ३ सयदेखि एक हजार ६ सय रुपैयाँसम्म डेमरेज चार्ज तिर्नुपर्छ ।’

अहिले भारतबाट नेपाल प्रवेश गर्न मालबाहक गाडीलाई कम्तीमा १०-१५ दिन लाग्ने गरेको छ । नेपाल प्रवेश गरेपछि पनि भन्सार विन्दुमा दुई-तीन ढिलाइ हुँदै आएको शर्मा बताउँछन् ।

धरैै दिन गाडी रोकिनुपर्दा उद्योगका कच्चा पदार्थ समयमै आउन नपाउँदा उत्पादनमा असर परेको छ भने फलफूल-तरकारी लगायतका वस्तु सडेर नोक्सानी पनि व्यहोर्नुपरेको उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारी बताउँछन् । ‘भारतीय पक्षले जाँच पास गर्ने कर्मचारीको विदा, सरुवा आदि कारणले जामको समस्या हुने गरेको देखाउँछन् तर खासमा नेपालमा राजनीतिक तरलता वा कुनै समस्या देखियो भने त्यही मौका छोपेर भारतीय पक्षले नियोजितरुपमा नेपाललाई दबाव र प्रभावमा पार्न जामको समस्या निम्ताउने गरेको छ,’ अध्यक्ष भण्डारीको ठम्याई छ, ‘यसले नेपाली उद्योग र सेवा क्षेत्रको लागत वृद्धिदेखि समग्र चक्र नै प्रभावित गराउँछ ।’

भारतीय प्रहरीले रेल्वेको बाटोबाट आएका ठूला ट्रक र लरीलाई घुस खाएर गाडीको लाइनको बीचमा घुसाइदिने परिपाटीले जाम खुल्न महिना दिनसम्म लाग्ने गरेको बेलहियाका नागरिक अगुवा राम बस्नेत बताउँछन् । नेपालतर्फको सुख्खा बन्दरगाह व्यवस्थापनको जिम्मा लिएको ट्रान्स नेपाल फ्ल्याट सर्भिसेज प्रालिले सवारी साधन व्यवस्थापन गर्न नसक्दा पनि समस्या थपिएको बस्नेतले बताए ।

तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रामकृष्ण ताम्राकार र भारतीय समकक्षी प्रणव मुखर्जीको कार्यकालमा २०६४ सालमा बेलहियासहित नेपालका चार नाकामा आईसीपी निर्माण गर्ने समझदारी भएको थियो । समझदारीअनुसार वीरगञ्ज र बिराटनगरमा सञ्चालनमा आइसके भने नेपालगञ्जमा काम शुरु भएको छ । तर बेलहियामा भने कहिले शुरु हुने भन्ने निश्चित छैन ।

भारतसँगको समझदारीमा नेपालतर्फको भौतिक पूर्वाधार भारतले बनाइदिने सहमति भएको थियो । जसअनुसार भैरहवा भन्सार कार्यालयले ६ वर्षअघि नै ५२ बिघा जग्गा अधिग्रहण गरिसकेको छ । तर भारतीय पक्षले आˆनोतर्फ जग्गासमेत अधिग्रहण नगर्दा आईसीपी निर्माण कार्यमा ढिलाइ भएको छ ।

आईसीपीको अभावमा भन्सार कार्यालय हाताभित्र ट्रकहरु रोकेर सामान जाँचपास गर्दा निकै समस्या हुने गरेको भन्सारका कर्मचारीहरु बताउँछन् । बेलहिया नाकामा आईसीपी निर्माण नहुँदा जाँचपासमा हुने ढिलाइका कारण कतिपय व्यवसायीले यो नाकाको विकल्पमा कपिलवस्तुको कृष्णनगर र सुठौली तथा नवलपरासी पश्चिमको महेशपुर नाका रोज्न थालेको भन्सार एजेन्ट महासंघका अध्यक्ष शर्माले जानकारी दिए ।

आईसीपी निर्माण हुँदा विलम्ब शुल्क तिर्नुपर्ने समस्याबाट मुक्ति पाइनुका साथै भारतबाट सामान आयात र आवागमनमा व्यवसायीलाई सहजता र सरकारको राजस्व संकलनमा पनि वृद्धि हुने शर्माले औंल्याए ।

हप्तौंसम्म मालबाहक सवारी साधन सुनौलीको जाममा रोकिने समस्याले नेपाली उद्योगी व्यवसायीलाई परेको समस्या समाधान गर्न सम्बन्धित निकायमा पटक-पटक अनुरोध गरे पनि आश्वासनबाहेक केही काम नभएको सिद्धार्थ नगर उद्योग वाणिज्य संघका अध्यक्ष कूलप्रसाद न्यौपानेले बताए । ‘भैरहवा व्यापारिक हबको रुपमा स्थापित भइरहेको अवस्थामा आईसीपी निर्माण कार्य अलपत्र अवस्थामा रहनु दुःखपूर्ण विषय हो ।’

भैरहवा भन्सार कार्यालयका प्रवक्ता पूर्णप्रसाद लम्सालले आईसीपी निर्माणको विषयमा सम्बन्धित मन्त्रालयले आफ्नो कार्यालयसँग कुनै समन्वय नगरेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment