५ माघ, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले सोमबार पहिलो जित हासिल गरेको छ ।
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा गण्डकीले प्रदेश १ लाई २ विकेटले पराजित गर्यो । प्रदेश-१ ले दिएको १ सय ३ रनको लक्ष्य गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।
गण्डकीको जितमा अर्जुन कुमाल र दीपक डुम्रेले समान ३५ रन बनाए । अभिषेक थापाले अविजित १३ रन बनाए । बलिङतर्फ प्रदेश-१ का मिनास थापा र शुभशंकर उराले २/२ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २७.४ ओभरमा १ सय २ रन जोड्दा अलआउट भयो । प्रदेश-१ का कप्तान सिद्धान्त लोहनीले २४ रन बनाए भने मिनास थापाले २२ रन जाेडे । यस्तै शुभशंकर उराले १२, दीपक पासवानले ११ र दीपेश कँडेलले १० रन बनाए ।
प्रदेश-१ लाई सस्तैमा समेट्न गण्डकीका विशाल पौडेलले ह्याट्रिकसहित ४ विकेट लिए । उनले २७ ओभरको दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिदै ह्याट्रिक पूरा गरेका थिए ।
यस्तै सुवास भण्डारीले पनि ४ र विपिन खत्रीले २ विकेट लिए ।
पहिलाे जितपछि समूह ‘ए’ मा रहेको गण्डकीले २ खेलमा २ अंक जोडेको छ । प्रदेश-१ को यो लगातार दोस्रो हार हो । पहिलो खेलमा प्रदेश-१ एपीएफसँग पराजित भएको थियो ।
प्रतिक्रिया 4