Comments Add Comment

पत्थरडाँडा-तिनाउ सडक विस्तार गरिँदै

५ माघ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पत्थरडाँडा चोकबाट पश्चिम हुँदै तिनाउ नदीसम्म जाने सडक विस्तार हुने भएको छ । सडक क्षेत्राधिकार ५२ फुट कायम गरी नाली, पेटीसहित विस्तार गरिने सडक विस्तारका लागि ३४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

दुई लेनमा विस्तार गरिने सडकको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले सोमबार शिलान्यास गरेका छन् ।

तिलोत्तमा नगरपालिकाद्वारा प्रस्तावित प्रादेशिक बसपार्क स्थलसम्म पुग्ने यो सडकको लम्बाइ ६ दशमलव ८ किलोमिटर छ । स्थानीय जनप्रतिनिधिहरुको सक्रियतामा क्षेत्राधिकार कायम गराइएको यो सडक बहुवर्षिय ठेक्का लगाएर दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य लिइएको छ ।

शिलन्यास गर्दै मन्त्री चौधरीले सडक निर्माणमा स्थानीय जनप्रतिनिधिहरुले देखाएको तत्परताको प्रशंसा गर्दै बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए । जग्गाको सुनिश्चितता गराउने जिम्मेवारी नगरपालिकाको भएको बताउँदै उनले सडक निर्माणमा मुआब्जा दिने प्रदेश सरकारको नीति नरहेको स्पष्ट पारे ।

प्रादेशिक बसपार्क निर्माण भन्दा पहिले त्यहाँसम्म पुग्ने पहुँच मार्ग निर्माणलाई प्राथमिकता दिइनुपर्ने बताउँदै मन्त्री चौधरीले सडक सञ्जालको विस्तारले बसपार्कको औचित्यलाई आफैं पुष्टि गराउने बताए । बेलबास—बेथरी सडक, तिनाउ करिडोर, पत्थारडाँडा—तिनाउ सडकलगायतका सडक सञ्जाल निर्माणसँगै बसपार्कको कामलाई अघि बढाउन उपयुक्त हुने उनको भनाइ छ । सोही कार्यक्रममा प्रदेश सांसदहरु तुलसी चौधरी, रमा अर्याल, सन्तोष पाण्डेयले विकासको मुख्य आधार सडक रहेको बताउँदै सडक विस्तारमा सबैको सहयोग र सहकार्य अपरिहार्य रहने बताए ।

तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले स्थानीय, प्रदेश तथा संघीय सरकारको सहकार्यमा नगरका प्रमुख सडकलाई विस्तार गरी स्तरीय बनाउने कार्यलाई प्राथमिकता दिइएको बताए । नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले तिलोत्तमा नगरपालिकाको वडा नं. १३ र १४ को विकासमा यो सडक विस्तार कोशेढुंगा सावित हुने भन्दै सडक विस्तार कार्यमा सहयोग गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment