Comments Add Comment

खुल्न थाले काठमाडौंका विद्यालय : सुरक्षा मापदण्डमा आ–आफ्नै बन्दोबस्ती

५ माघ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड १९) का कारण १० महिनादेखि बन्द काठमाडौं उपत्यकाका अधिकांश विद्यालयहरू आइतबारबाट खुल्न थालेका छन् ।

उपत्यकाका सबै स्थानीय तहले औपचारिक स्वीकृति नदिए पनि स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा सञ्चालन गर्न थालेको विद्यालयहरूले बताएका छन् ।

कक्षा चलाउने निर्णय गर्दै–पछि हट्दै आएका विद्यालयहरूले अहिले स्वास्थ सुरक्षादेखि जोरबिजोर प्रणालीसम्मका सतर्कता अपनाएर कक्षा खोलेका छन् ।

स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा सञ्चालन गरे हस्तक्षेप नगर्ने संकेत काठमाडौं महानगरपालिकाले दिएपछि विद्यालयहरूले आँट गरेका हुन् । उता गोदावरी नगरपालिकाले भने स्वास्थ्य मापदण्ड तोकेर आइतबारदेखि कक्षा सञ्चालन गर्न अनुमति दिएको छ ।

कुन विद्यालयमा कस्तो सतर्कता ?

करिब ३१ सय विद्यार्थी अध्ययनरत त्रिपुरेश्वरको विश्वनिकेतन उच्च माध्यमिक विद्यालयले प्राविधिक उपकरणको अभाव भएका १५० जना विद्यार्थीका लागि गत मंसिरदेखि नै कक्षा सञ्चालन गरेको थियो । आइतबारदेखि जोर–बिजोरको आधारमा कक्षा एकदेखि पाँचसम्मका कक्षा चलेको छ ।

प्रधानाध्यापक हेरम्बराज कँडेल कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई भने भिड हुन नदिन अनलाइनबाटै पढाउने व्यवस्था गरिएको बताउँछन् । प्राथमिक तहलाई अनलाइन पढाउँदा २५ प्रतिशतभन्दा कम मात्र प्रभावकारिता भएको उनले बताए ।

भौतिक उपस्थितिमा कक्षा सञ्चालन भएको पहिलो दिन आइतबार विश्वनिकेतनमा बिहान र दिउँसो दुई सिफ्ट कक्षा सञ्चालन भयो । दुई सिफ्टमा करिब दुईहजार विद्यार्थी उपस्थित भए । विद्यालयले खाजाको समयमा हुनसक्ने भिड रोक्न विद्यार्थीलाई घरबाटै खाजा लिएर आउनुपर्ने नियम लागु गरेको छ ।

भौतिक दुरी कायम गर्न एउटा कक्षामा बढीमा २६ जना राख्ने, जोर–बिजोर गरेर कक्षा सञ्चालन गर्ने, खाजा कक्षामा बसेकै ठाउँमा खाने जस्ता सुरक्षा सतर्कता अपनाइएको प्रअ कँडेलले बताए ।

निजी सवारीमा यात्रा, आलोपालो कक्षा

ललितपुरको लिटिल एन्जेल्स स्कुलले पनि आइतबारदेखि कक्षा ११ र १२ को कक्षा सञ्चालन गरेको छ । अनलाइन पढाइ कम प्रभावकारी भएकोले सुरक्षा सतर्कता अपनाउँदै कक्षा सुरु गरेको विद्यालयका संस्थापक अध्यक्ष उमेश श्रेष्ठले बताए । उनले एक सातापछि ९ र १० कक्षा पनि चलाउने बताए ।

जोर–विजोरको आधारमा कक्षा खोलेको लिटिल एन्जेल्सले शिक्षक–विद्यार्थीलाई सार्वजनिक गाडी प्रयोग नगर्न भनेको छ । स्कुल बसहरूमा आधा सिटमा मात्र विद्यार्थी चढाउने, हरेक हप्ता बसका चालक र सहचालकको पीसीआर टेस्ट गर्ने तयारी गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

उनका अनुसार, भिडभाड नहोस् भनेर खाजाको लागि फरक–फरक समयमा बढीमा १५ मिनेट तोकिएको छ । जोखिम हुन्छ भनेर स्कुल आउन नचाहे विद्यार्थीहरूका लागि अनलाइन कक्षा कायम राखिने अध्यक्ष श्रेष्ठ बताए ।

टोलसिकाइको अभ्यासपछि विद्यालयमै सिकाइ

गोदावरी नगरपालिका वडा नम्बर १३, झरुवारासीस्थित नवज्योति माध्यमिक विद्यालयले गत साउनदेखि नै टोल सिकाइको अभ्यास सुरु गरेको थियो । शिक्षकहरूले घरपायकको टोलमा गएर आफ्नो विषयको वर्कसिट दिने, नजानेको कुरा सिकाउने गरेका थिए । तर मंसिर २५ गते एक शिक्षकमा कोरोना पोजिटिभ देखिएपछि एक साता सो सिकाइ बन्द भयो ।

पुस ६ गतेदेखि हप्ताको २ दिन विद्यालय आउने, बाँकी दिन अनलाइन कक्षा लिने व्यवस्था गरेको प्रधानाध्यापक हरिहर लामिछाने बताउँछन् । आइतबारदेखि भने बिहान ११ र १२ कक्षाको पढाइ सुरु गरेको उनले बताए ।

खाजा समयपछि घरै पठाउने तयारी

काठमाडौंको पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालयले पनि स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा चलाउने निर्णय गरेको छ । आइतबारदेखि कक्षा १२ को परीक्षा सुरु गरेको विद्यालयले अभिभावकको सल्लाह अनुसार ११ माघदेखि नियमित कक्षा सञ्चालन गर्ने तयारी थालेको छ ।

एउटा कक्षामा बढीमा २० जना राखेर पढाउने तयारी गरिएको प्रधानाध्यापक नारायण गौतमले बताए । पद्मोदयमा करिब साढे चारसय विद्यार्थी छन् । कक्षा कोठामा स्वास्थ्य मापदण्ड लागू गरिएपनि बाहिर विद्यार्थीले गर्ने लापरबाही चुनौतीपूर्ण रहेको प्रअ गौतम बताउँछन् ।

उनका अनुसार, खाजा खाने समयमा भिड नहोस भनेर कक्षा ५ सम्मका विद्यार्थीलाई दिउँसो साढे १२ बजे बिदा गरिने उनले बताए । बाँकी कक्षा साढे १० बजेदेखि साढे २ बजेसम्म चल्ने छ ।

संस्कृत विद्यालयमा नियमित कक्षा

आइतबारदेखि सुरु भएको रानीपोखरीको संस्कृत माविले विद्यालय खोलेको पहिलो दिन आइतबार नै परीक्षा लियो । कक्षा ६ देखि १० सम्मको परीक्षामा आधा विद्यार्थी उपस्थित भएको प्रधानाध्यापक शिवराज अधिकारीले बताए । उनका अनुसार ५ वटा कक्षामा कुल १६० विद्यार्थी छन् ।

विद्यालयमा मास्क र स्यानिटाइजर अनिवार्य गर्दै विद्यार्थीलाई भौतिक दुरी कायम गरेर राखिएको छ । संस्कृत माविमा कक्षा ११ र १२ को कक्षा पनि आइतबारबाटै सुरु भएको छ । सामाजिक दुरी कायम गर्न नयाँ सेक्सन छुट्याएको प्रअ अधिकारीले बताए ।

विद्यालयले गत असार दोस्रो सातादेखि कक्षा १० र तेस्रो सातादेखि कक्षा ६–९ सम्मको अनलाईन कक्षा चलाएको थियो । असोजसम्म आइपुग्दा सबै कक्षाको अनलाइन पढाई सञ्चालन गरेको प्रअ अधिकारीले बताए ।

११ माघदेखि तीनधारा संस्कृत छात्रावास पनि खुलेकाले अब सबै विद्यार्थी नियमित कक्षामा आउने प्रअ अधिकारीको अनुमान छ । उनले भने ‘अब सबै कक्षामा पुनः परीक्षाको व्यवस्था गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment