Comments Add Comment
संसद विघटनको बहसमा समयको कुरा :

‘चुनावको तयारी भइसकेकाले केही गर्नुपरेन भन्न नपरोस् !’

५ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको एक महिना भइसकेको छ ।

तर झण्डै एक महिनापछि विघटनकै विषयमा आइतबारदेखि बहस सुरु भएको छ । सोमबारसम्म जम्मा ६ जनाले बहस गरेका छन् । मुद्धाको पक्ष र विपक्षमा गरी १८८ जनाले बहसका लागि वकालतनामा बुझाएका छन् ।

सोमबारको बहसमा दिनमणि पोखरेलले मात्रै दुई घण्टा दश मिनेट समय लिए । विहानैदेखि बहस थालेका उनले खाजा समयपछि पनि निरन्तरता दिएपछि न्यायाधीश अनिलकुमार सिन्हाले प्रश्न गरे, ‘कति समय लिनुहुन्छ तपाईं ?’

उनले अघि भने, ‘अरुलाई पनि समय दिनुपर्ला । फेरि झारखण्डको जस्तो नहोस् । विघटन गलत हो भन्दाभन्दै, सुनुवाइ गर्दागर्दै चुनावको समय आइसक्ने र तयारी भइसकेको हुनाले अब केही गर्नुपरेन भन्नु नपरोस् । समय म्यानेज गर्नुहोला ।’

पोखरेलले ‘बहस त गर्नुप¥यो श्रीमान’ भन्दा न्यायाधीश सिन्हाले हामी रोक्दैनौं भन्ने जवाफ दिए ।

आइतबार बहस गरेका वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य र अधिवक्ता सुनील पोखरेलले लामो समय लिएका थिए । सोमबार भने इजलासले समयबारे सचेत गराएको छ ।

आइतबार रिट निवेदनमाथि सुनुवाइ हुने क्रममा निवेदकका तर्फबाट बहसका लागि समय तोक्नुपर्ने विषय पनि उठेको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले यति महत्वपूर्ण विषयमा समय तोक्नुभन्दा बहस गर्नेहरुले विचार गर्नु उपयुक्त हुने जवाफ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment