Comments Add Comment

संसद विघटन राजतन्त्र पुन:स्थापना गर्ने प्रक्रियाको सुरुवात : प्रचण्ड

६ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुन:स्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् ।

प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास्स गन्‍हाएको टिप्पणी गरे । ‘यो राजतन्त्र पुन:स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जो सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नु छ’ उनले भने ।

आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निहित सार्वभौमसत्तामाथि आक्रमण गरेकाले आफूमा आवेग, घृणा र आक्रोश रहेपनि अधैर्य नभएको प्रचण्डले बताए । उनले अघि भने, ‘विधि पद्धतिबाट प्रतिगमन सच्याउन चाहेका छौं ।’

संसद भंग गरेर ओलीले देशलाई संविधानविहीनता र तानाशाहीको भूमरीमा लैजान खोजेको प्रचण्डले बताए ।

जनताले सही फैसला दिन्छन्, जनअदालतमा जान्छौं

अहिलेको परिवर्तन जनताको आन्दोलन र जनविद्रोहबाट आएको भन्दै प्रचण्डले यसको रक्षा गर्न फेरि जनतामै जाने बताए । ‘जनताको आन्दोलन जनविद्रोहबाट आएको परिवर्तन हो । यसको रक्षा गर्न हामी जनतामै जान्छौं । जनअदालतमा नै जान्छौं’, प्रचण्डले भने ।

यसको तात्पर्य सर्वोच्च अदालत र निर्वाचन आयोगप्रति अविश्वास नरहेको बताए । ‘जनताले मात्रै सही फैसला दिन्छ भनेर जनतालाई अपिल गरिरहेका छौं । यसको तात्पर्य निर्वाचन आयोग र सर्वोच्च अदालतप्रति अविश्वास होइन । हामी जनतामा जानुले उहाँहरुलाई स्वतन्त्रतापूर्वक निर्णय गर्न पनि सहज बनाउँछ’, उनले भने ।

सर्वोच्च अदालत र निर्वाचन आयोग जस्ता संवैधानिक आयोगहरुलाई विश्वास गरिहेको भए पनि धम्काउने र प्रेसर दिने काम गर्न नहुने उनको भनाइ छ । ‘केपी नजिक मान्छेले अदालतलाई धम्क्याउने, निर्वाचन आयोगलाई प्रेसर गर्दै हिड्नुभएको छ । हामी त्यसको पनि खबरदारी गरेका छौं’, प्रचण्डले भने ।

अझ, अदालत र निर्वाचन आयोगमा सेटिङ छ भन्ने प्रचारले आशंका जन्माएको उनले बताए । ‘गाउँगाउँमा उहाँहरुका मान्छेहरुले भन्नुहुन्छ, हाम्रो सेटिङ भइसकेको छ, सूर्य हाम्रै हुन्छ । यो के हो ?’ उनले भने, ‘हाम्रो प्रश्न केपी गुटलाई हो, अदालत र निर्वाचन आयोगलाई होइन ।’

केपीको हातमा केही पनि छैन

उनले प्रतिनिधिसभा विघटन गरेर  ओलीले आफूलाई कू पात्रका रुपमा चित्रित गरेको उमते प्रचण्डले बताए । ‘उहाँ कू पात्र भइसक्नुभयो । हामीले बनाइदिएको होइन । उहाँको आफ्नै कर्मले आफैलाई सिध्याउनुभयो । अब केही महिना मात्रै हो’, प्रचण्डले भने ।

विदेशीका अगाडि लम्पसार परेर संसद विघटन गरेको उनको आरोप छ । अब ओलीको हातमा केही बाँकी नरहेको प्रचण्डले बताए । ‘प्रष्ट बुझ्नुहोला । केपीको हातमा अब केही पनि छैन । जुन दिन उहाँले संसद् भंग गर्ने सिफारिस गर्नुभयो, त्यो दिन देखि केपीको हात सिद्धियो’ उनले भने, अब अन्तै छ चिजहरु ।’

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले शाहाकारी आन्दोलनले नपुग्ने भन्ने आफ्नो अभिव्यक्तिबारे समेत प्रष्टोक्ति दिए । ‘संविधानसभाबाट जन्मेको बच्चाको हत्या हुँदैछ । यसको रक्षा गर्न नेपाली जनता सिंह जस्तो गर्जनु पर्छ भनेको हुँ । हिंसाको आहृवान गरेको होइन । यसमा प्रष्ट हुनुपर्छ’, प्रचण्डले भने ।

प्रचण्डभन्दा अगाडि वरिष्ठ पत्रकार एवम् लेखक नारायण वाग्लेले प्रतिगामी कदम चाल्नेलाई बल पुग्नेगरी यस्तो शब्द किन प्रयोग नगर्न आग्रह गरेका थिए । त्यसतर्फ संकेत गर्दै प्रचण्ड-माधव समूहका अध्यक्ष प्रचण्डले बन्दूकको भाषा नभएर जनताको भाषा प्रयोग हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment