Comments Add Comment

नेकपामा गाली पुराण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्षनेताहरू यतिखेर अत्यन्तै तल्लो स्तरको गालीगलौज र आरोप–प्रत्यारोपमा सिँगौरी खेलिरहेका छन् । हाम्रो समाजमा अस्वाभाविक मानिएका तर नेपाली शब्दकोषमा भएका तमाम गाली एवं अश्लील शब्दहरूसमेत उनीहरूले एक–अर्काविरूद्ध प्रयोग गर्न थालेका छन् । त्याग, तपस्या, बलिदान र सङ्घर्ष लगायतका कम्युनिस्ट–शब्दहरू अहिले उनीहरूको शब्दकोषबाट हराएजस्तो अनुभूति हुँदैछ ।

विचारमा अलिकति विमति हुनेबित्तिकै एक–अर्कालाई सत्तोसराप गर्ने र उछितो काढ्ने प्रवृत्ति नेपालको कम्युनिस्ट पार्टीमा २००६ सालदेखि नै देखिन्छ । यो उनीहरुको ‘संस्कृति’ नै बनेको छ ।

पार्टी स्थापनालगत्तै २००७ सालमै ‘गणतन्त्र कि राजतन्त्र ?’, ‘शान्तिपूर्ण आन्दोलन कि हतियारबन्द आन्दोलन’ भन्ने बहसबाट सुरू भएको नीतिगत विवाद नेता पुष्पलाल र तुलसीलाल अमात्यको अन्तरविरोधसम्म आइपुग्दा ‘कुन बाटो ?’ र ‘अबको बाटो’ भन्ने दस्तावेजीय सवाल–जवाफमा परिणत भएको थियो । पार्टीको अन्तरविरोध र विवाद चौथो महाधिवेशनसम्म आइपुग्दा ‘गद्दार पुष्पलाल’ भन्ने पुस्तकाकार–आरोपमै परिणत भयो । तत्कालीन अवस्थामा यो नै एकखालको सैद्धान्तिक र आरोप–प्रत्यारोपको शब्द–युद्ध थियो ।

आफूसँग असहमत हुनेजतिलाई ‘साम्राज्यवादी’, ‘विस्तारवादी एजेन्ट’,‘नवसामन्त’, ‘भ्रष्टाचारी’ र ‘बुर्जुवा’ भनेर बोल्ने, लेख्ने र सत्तोसराप गर्ने परम्परागत संस्कृति र गाली साहित्यको विशाल शब्दभण्डार नै पाइन्छ कम्युनिस्ट पार्टीमा । उनीहरूको सैद्धान्तिक शब्दयुद्ध, अभिव्यक्ति र भाषाशैली हेर्दा गाली पुराणको विश्वविद्यालय नै कम्युस्टिसँग रहेको अनुभूति हुन्छ ।

‘छापामार शैली’को आश्चर्यजनक पार्टी एकीकरणसँगसँगै श्रृङ्खलाबद्ध मनमुटावमा रहेका केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार वर्ष नपुग्दै १९ पृष्ठको ‘आरोप–पत्र’ को बदलामा ३८ पृष्ठको ‘प्रत्यारोप–पत्र’ मार्फत गाली–युद्धको महासङ्ग्राममा उत्रिएका छन् । एक–अर्कालाई खुइल्याएर नाङ्गेझार पार्ने तीब्र प्रतिस्पर्धामा लागेका छन् यतिखेर उनीहरू ।

कुनै बखत ‘नायक’ छवि बनाएका नेतृत्वकर्ता यतिखेर गाली–युद्ध गर्दै खलपात्रमा परिणत भइरहेका छन् । व्यक्तिगत इगो, पदीय अस्तित्व, गुटगत पहिचान अनि नाफा–नोक्सानको हिसाबमात्रै हेर्ने र एकअर्कालाई गाली गर्ने स्वार्थी समूहको झुन्डजस्तो बनेको छ कम्युनिस्ट नेतृत्व ।

राजनीतिक संस्कार, मूल्यमान्यता र आदर्शलाई तिलाञ्जली दिँदै यी पात्रहरू गाली–संस्कृति र शब्द–युद्धमार्फत् कम्युनिस्ट राजनीतिको ‘दाहसंस्कार’तर्फ उद्यतजस्तो देखिन्छन् । उनीहरूको विगत र वर्तमानका अभिव्यक्तिगत शैलीले यही कुरालाई इङ्गित गर्छ ।

उतिखेरै पुष्पलाललाई ‘गद्दार’ र मनमोहन अधिकारीलाई ‘दरबारको पोष्यपुत्र’ भनियो । पार्टी स्थापना गर्ने पुष्पलाललाई ‘गद्दार’ ठान्ने र राजासँग घाँटी जोड्ने केशरजंग रायमाझीलाई ‘राष्ट्रवादी’ देख्ने पनि कम्युनिस्टहरूको एउटा समूह थियो त्यतिबेला । कालान्तरमा रायमाझी ‘लाल गद्दार’ सावित भए भने पुष्पलाल ‘क्रान्तिकारी’ ठहरिए ।

अझ विडम्बना, पुष्पलाललाई विसं २००८ सालमै महामन्त्रीबाट हटाएपछि २०१९ सम्म नेता बन्न दिइएन । यसको उत्कर्ष चौथो महाधिवेशनवालाका मुख्य नेता मोहनविक्रमले ‘गद्दार पुष्पलाल’ पुस्तक नै लेखेर उनलाई अपमानित गरे ।

विसं ०५४ सालमा एमालेले केपी ओलीकै स्वार्थमा ‘राष्ट्रघाती महाकाली सम्झौता’ गरेको तथ्य प्रस्तुत गर्दै पार्टी फुटाउने वामदेव गौतमलाई उनकै पूर्वसहकर्मीहरूले टुँडिखेलको खुला मञ्चबाटै मुलुकको ‘एक नम्बर भ्रष्टाचारी’ घोषणा गरे । तर, तिनै ‘महा–भ्रष्टाचारी’लाई केही वर्षपछि पुनः पार्टीको उपाध्यक्ष बनाइयो ।

एकपटक नेकपा नेता माधव नेपालले आफ्नै पार्टीका नेताप्रति लक्षित गर्दै ‘सहिदपत्नी र विधवा ताक्ने व्यक्ति’ भनेर एक टेलिभिजन–अन्तर्वार्तामै आक्रोश पोखे । उनले भनेकी ‘सहिदपत्नी र विधवा’ को हुन् ? न कहिले खुल्यो, न त त्यसबारे कुनै खोज–अनुसन्धान नै भयो । मानिसहरुले सामान्य अनुमान लगाउने कुरा अर्कै हो ।

उता, दुई ठाउँबाटै चुनाव हारेका माधव नेपाललाई प्रधानमन्त्रीमा सिफारिस गरेका प्रचण्डले केही समयपछि आफैंले ‘विषवृक्ष’को आरोप लगाए । कटवाल प्रकरणपछि प्रचण्डले सत्ता छाडेलगत्तै नेपाललाई ‘विषवृक्ष’को संज्ञा मात्र दिएनन्, ‘कठपुतली र रिमोट कन्ट्रोलबाट चलेको’ भन्दै सत्तोसराप गरे । त्यसको बदलामा नेपालले माओवादी नेतृत्वलाई ‘श्रीलंकाको लिट्टेजस्तै गरी समाप्त पार्ने’ अभिव्यक्ति दिएर प्रतिशोधात्मक भावना प्रकट गरे ।

माओवादी सडक आन्दोलनमा पुग्दा प्रचण्डले ‘हरूवा’ भन्दै नेपालको उछितो काढ्न छाडेनन् । नेपालले पनि ‘अविश्वसनीय’, ‘धोकेबाज’ जस्ता विशेषणसहित प्रचण्डको तीब्र विरोध गरे । नेपालले प्रचण्डलाई ‘फटाहा’ र ‘भ्रष्ट नेता’ भनिरहे ।

प्रधानमन्त्रीबाट हटनुपरेको झोँकमा प्रचण्डले ‘अब सोझै मालिकसँग वार्ता गर्ने’ भन्दै भारतलाई शक्ति देखाउन त्यसबेला मुलुकभर अनिश्चितकालीन आम हडताल गरेका थिए ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन गएका केपी ओली केही दिन देशमा नभएको मौका छोपेर संसद बैठकमा वरिष्ठ नेता नेपालले ‘देश डुब्न लाग्यो’ भन्दै ‘नयाँ माझी’को आवश्यकता औँल्याए । त्यसको प्रतिउत्तर अमेरिकाबाटै दिँदै प्रधानमन्त्री ओलीले ‘देश डुब्दैन, म आउँदैछु’ भन्ने जवाफ फर्काए ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गत असोजमा गोरखा पुगेर प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाले बुढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रूपैयाँ कमिसन खाएर भ्रष्टाचार गरेको आरोप लगाए । यो आरोपको पुष्टि न कतैबाट भयो, न त आरोपितहरूका तर्फबाट कुनै खास प्रतिवाद नै ।

एकपटक नेकपा निकट विद्यार्थी संगठनका एक अध्यक्षले आफ्नो फेसबुक वालमा पूर्वप्रधानमन्त्री डा.बाबुरामलाई ‘हार्दिक श्रद्धाञ्जली’ नै दिए ।

स्वयम् प्रधानमन्त्री केपी ओलीले बाबुरामलाई ‘धेरै पढेर बिग्रेको’ भन्दै ‘भ्यागुताजस्तै भुँडी फुटेर मर्ने’सम्मको अभिव्यक्ति दिएका थिए । तत्पश्चात् प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्तालाई ‘अरिङ्गाल’ बन्न दिएको निर्देशन पनि त्यत्तिकै आश्चर्यजनक छ ।

हालैमात्र प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई ‘सहिद भएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो’ भन्न पनि हिच्किचाएनन् ।

उता, २०७५ सालमै नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले पुष्पकमल दाहाल (प्रचण्ड) र बादललाई बझाङको विशाल जनसभामा ‘लाल गद्दार’ घोषणा गरेका थिए ।

त्यसो त झापालीहरूको विद्रोहलाई ‘व्यक्ति हत्या’ भन्ने र माओवादी जनयुद्धलाई ‘१७ हजारका हत्यारा र लुटेरा ग्रुप’को संज्ञा दिने अनि तात्कालीन एमालेलाई ‘लिङ्ग पहिचान नभएको गुट’ भनेर आरोप लगाएर पनि एमाले–माओवादीबीच ‘छापामार शैली’को एकता हुनु अर्को आश्चर्यजनक घटना नै थियो ।

विगतमा जनादेश साप्ताहिकमा टीएन प्रधानको नामबाट ‘मदन–आश्रित हत्याको योजनाकार तथा सञ्चालक खड्ग ओली र माधव नेपाल नै हुन्’ भनेर श्रृंखलाबद्ध फेहरिस्त प्रस्तुत गर्ने रचनाकार अरू कोही थिएनन्, कम्युनिस्ट भनिनेका ‘कर्तुत’ नै थिए । नेता भीम रावलको नाम दिँदै ‘ओलीले महिलाको किड्नी फेरेकाले दिमाग बिग्रिएको’ भन्ने झुठो खबर दिने गोयबल्स शैलीको स्कुलिङ् पार्टीको विरासतबाटै सिकेको कुरा हो ।

प्रचण्ड–माधव समूहको एउटा विरोध कार्यक्रममा राष्ट्रपतिका विरूद्ध लगाइएका आपत्तिजनक नारा र प्रधानमन्त्रीसँगको सम्बन्धबारे अतिरन्जित प्रसङ्ग उठाउने प्रवृत्ति पनि कार्यकर्ताले सिकेको पार्टीभित्रको परम्परागत शैली र संस्कृतिको उपज नै हो ।

यतिखेर नेकपामा परम्परागत शैली र सांस्कृतिक उपजस्वरूप फेरि गाली–युद्ध र पर्व सुरू भएको छ । कात्तिक २८ मा कार्यकारी प्रचण्डले पेस गरेको १९ पृष्ठको ‘आरोप–पत्र’को बदलामा मङ्सिर १३ गते अध्यक्ष एवं प्रम ओलीबाट ३८ पृष्ठको ‘प्रत्यारोप–पत्र’ आएपछि एक–अर्काप्रति आरोप, सत्तोसराप र लाञ्छना तीब्र गतिमा प्रकट भएका छन् ।

गालीका अनेक शब्दहरू र आरोपहरू लिएर नेताहरू एक–अर्काविरूद्ध रणमैदानमा उत्रिएका छन् । क्षणिक स्वार्थका लागि अनर्गल आरोप, गाली गलौज एवं झुठा प्रचारमा उनीहरू जमेर लागेका छन् ।

प्रधानमन्त्री ओलीलाई ‘सनकी’, ‘दम्भी’ ‘निरङ्कुश’, ‘गणतन्त्रविरोधी’, ‘बयलगाडे’जस्ता शब्दले आरोपित गरिँदैछ त ओलीले प्रचण्डलाई ‘षडयन्त्रकारी, ‘धोकेबाज’, ‘जनहत्यारा’ भन्दै माओवादी जनयुद्धलाई ‘कुहिएको फर्सी’ को उपमा दिएका छन् ।

‘बाँदरको माया लागेर घरमा ल्याएको, घरै भत्काउन लाग्यो ।’, ‘सहिद भएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो’ जस्ता प्रधानमन्त्रीका अभिव्यक्तिको भनाइको अर्थ के होला ? ‘भेट्नो कुहिएर झरेका दुईवटा फलले रूखै मै हुँ भन्ने ?’ ‘यतियति मान्छे त रत्नपार्कमा सीसीमा औषधि बेच्नेले पनि जम्मा गर्छ ।’ ‘गोरू नाङ्गै देख्दा मलाई लाज लाग्दैन ।’ प्रधानमन्त्रीका यस्ता अभिव्यक्तिले मुलुकको समृद्धि र विकाससँग के तात्विक साइनो राख्लान् ? विस्मातपूर्ण र आश्चर्यजनक विषय छ ।

हालै मात्र पार्टीका वरिष्ठ नेता झलनाथ खनालले ओलीलाई ‘लुकेर बसेको विषालु सर्प’ को संज्ञा दिए । यसैगरी पूर्वमन्त्री योगेश भट्टराईले चितवनको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक अवस्थामाथि नै प्रश्न उठाए । पूर्वमन्त्री विना मगरले ओली एक ‘तानाशाही’ र ‘अराजकतावादी’ भएको आरोप लगाइन् । यस्ता तमाम अभिव्यक्ति, उदाहरण र घटनाक्रमले कम्युनिस्ट नेताहरूभित्रको गाली संस्कृति, असभ्यता र अराजक शैलीलाई छर्लङ्ग पारेका छन् ।

नेकपाको नेतृत्व यतिखेर समस्यै–समस्याले ग्रस्त छ । गाली र सत्तोसरापको योे सांस्कारिक अनि विरासतीय शैली र नेतृत्वमा हाल देखिएको अहमता, संवेदनहीनता र अदूरदर्शिता कुनै पनि कोणबाट राजनीतिक प्राणीजस्तो देखिँदैन । जनताले त्यत्रो विश्वास गरेर सिंहदरबारको सिंहासनमा पु¥याएको कम्युनिस्ट पार्टीको नेतृत्वमा देखिएको यो हदसम्मको आरोप–प्रत्यारोपपूर्ण संस्कृति र गाली–युद्धले नेपालका कम्युनिस्टहरूलाई मात्र कलंकित र आलोचित बनाएको छैन,अपितु मुलुकको विकास,समृद्धि र संस्कारमा समेत नकारात्मक असर पारिरहेको छ ।

तसर्थ, गाली पुराणको यो अहङ्कार र असभ्यतापूर्ण रथमा सवार कम्युनिस्ट नेतृत्वको अझै पनि चेत खुलोस् । नत्र दम्भ र अहमताको बेवकुफी धूलिसात् हुन कत्ति पनि बेर लाग्नेछैन ।

–बुटवल, रुपन्देही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment