६ माघ, डोटी । डोटीमा गत भदौ २८ गतेदेखि सुरु भएको राष्ट्रिय परिचय पत्रका लागि तथ्यांक संकलन गर्ने कार्यले गति लिन सकेको छैन । कार्यक्रम सुरु भएदेखि सोमबारसम्म एक हजार एक सय २५ जनाले मात्रै राष्ट्रिय परिचय पत्रका लागि विवरण भरेका छन् । विवरण भर्नेहरुमा दुई सय ८० महिला रहेको दर्ता कर्मचारी प्रमेश्वरी जोशीले बताइन् ।
जिल्ला प्रशासन कार्यालय, डोटीले यो अवधिमा एक हजार चार सय ८० महिला र तीन हजार तीन सय पाँच पुरुष गरी चार हजार सात सय ८५ जनालाई नेपाली नागरिकताको प्रमाण पत्र वितरण गरेको छ । यस्तै यो अवधिमा दुई सय ५७ महिला र सात सय २८ पुरुष गरी ९ सय ८५ जनाले नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि लिएको कम्प्युटर अपरेटर गौतमबहादुर रोकायाले जानकारी दिए । तर जिल्ला प्रशासन कार्यालयमै राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन भइरहेपनि नागरिकता प्राप्त गर्ने कुल संख्याको करिब २० प्रतिशतले पनि राष्ट्रिय परिचय पत्रका लागि विवरण भरेका छैनन् ।
किन यस्तो भयो त ? भन्ने प्रश्नमा जिल्ला प्रशासन कार्यालय डोटीका सूचना अधिकारी मधुकृष्ण पौड्याल भन्छन् ‘जनशक्ति अभावका कारण कार्यक्रमले गति लिन सकेको छैन ।’ उनले भदौमा सुरु भएको उक्त कार्य कर्मचारी अभावका कारण बीचमा केही समय बन्द भएको बताए । ‘फेरि नयाँ कर्मचारीको व्यवस्था गरेर सुचारु गरिएको छ,’ पौड्यालले भने, ‘अहिले पनि एक जना मात्रै कर्मचारी भएका कारण समस्या भइरहेको छ ।’
राष्ट्रिय परिचय पत्रका लागि विवरण भर्न सेवाग्राहीहरु आफैं पनि तयार नहुने गरेको पौड्याल बताउँछन् । उनले भने, ‘राष्ट्रिय परिचय पत्रका लागि विवरण भर्नु पर्यो भन्दा, किन चाहियो र ? भन्ने प्रश्न गर्छन् । मतदाता परिचय पत्रका लागि त होला भन्ने कुरा गर्छन्, मान्दैनन् ।’
विवरण भर्न आउनेहरुमध्ये विवाह दर्ता प्रमाण पत्र नलिई आउने गरेका कारण पनि केही व्यक्तिहरु फर्किने गरेको जोशीले बताइन् । उनले भनिन्, ‘विवाहीत पुरुषको हकमा विवाह दर्ता प्रमाण पत्र वा पत्निको नाम खुल्ने कुनै प्रमाण पत्र चाहिन्छ, त्यो नभए हुँदैन ।’
विगतको तुलनामा अहिले विवरण भर्नेको संख्या बढेको पौड्याल बताउँछन् । उनले भने, ‘सुरुमा कर्मचारीलाई पनि त्यति अनुभव थिएन, ढिलो हुन्थ्यो तर अचेल उहाँले एक दिनमा ४० जनाको विवरण भर्ने गरिरहनु भएको छ ।’
प्रतिक्रिया 4