Comments Add Comment

बहुपति प्रथाबारे नयाँ उपन्यास लेखिसकें : नीलम कार्की निहारिका

फाइल तस्वीर

६ माघ, काठमाडौं । उपन्यासकार नीलम कार्की निहारिकाले नयाँ उपन्यास तयार पारेकी छिन् । ‘योगमाया’ उपन्यासबाट मदन पुरस्कार जितेकी निहारिकाले आफ्नो छैटौं उपन्यास लेखन सकिएको र चाँडै बजारमा आउने बताएकी छिन् ।

बहुपति प्रथाबारे लेखिएको नयाँ उपन्यासको रचना गर्भ र विषयवस्तुबारे कार्की यसो भन्छिन्–

मार्च–२ मा नेपालबाट अमेरिका आउँदा कोरोना अमेरिकामा पनि भित्रिइसकेको थियो । त्यसको लगत्तै यहाँ लकडाउन भयो । विद्यालयहरू बन्द भए । त्राही–त्राहीको वातावरण भयो । यस्तो परिस्थितिमा कुनै सिर्जना गर्नु त के, एक अक्षर पढ्न पनि सकेकी थिइनँ । किताब लिन्थें । तर, हप्ता दिनसम्म केही पाना पनि सकिएको हुँदैनथ्यो ।

सबै कारणले निकै विक्षिप्त भएँ । परिवारको सदस्य डाक्टर भएकाले त्रास हामीलाई धेरै थियो । मैले लेख्दै गरेको उपन्यास ऐतिहासिक विषयकै थियो । सोध–सामग्रीको रूपमा पढ्दै गरेका किताब सबै थन्क्याएँ । आफनो मन भुलाउनका लागि प्रवचन सुन्ने, योग–ध्यान गर्ने गरेँ । केही समय यसरी नै चल्यो । त्यो बीचमा केही भर्चुअल साहित्यिक कार्यकममा पनि भाग लिएँ ।

एक दिन अचानक ठूलो छोराले सोध्यो– ‘हजुरलाई थाहा छ, नेपालमा पनि बहुपति प्रथा रहेछ नि ?’

उसले आफनो कलेजमा एन्थ्रोपोलोजी अध्ययनका क्रममा संसारभरिका परिवारको प्रकारमा भारत, नेपाल र तिब्बत आदि देशमा बहुपति प्रथा छ भन्ने पढेको रहेछ । उसले मलाई आफूले प्राप्त गरेको रिसर्च पेपरहरू मेरो इमेलमा फरवार्ड गरिदियो । ती रिसर्च गरेका केही व्यक्तिसँग पनि इमेलमार्फत कुरा गरेको रहेछ, त्यो पनि पठायो ।

अन्त्यमा ६ वटा विदेशी र नेपालीले पनि गरेको रिसर्च पढिसकेको उसले मलाई एक्कासी भन्यो, ‘म सबै समाग्री भेला पारिदिन्छु, हजुरले उपन्यास लेख्नू !’

आफूले नसोचेको जवाफ पाएर म हाँसे । यसपछि छोरालाई पुरानो डायरी देखाएँ । त्यहाँ धेरैअघि नै मैले लेख्ने योजनामा टिपिसकेको थिएँ उक्त विषय । त्यो देखेर ऊ झन् उत्साहित भयो । सोध्यो– हजुरले भेट्नु पनि भएको छ ?

मैले भनेँ, ‘भेटेकी छु ।’

मैले नातिनी पुस्ताकी एक युवती नेपालगञ्जमा भेटेकी थिएँ । छिमेकीकी पाहुना थिइन् उनी । उनले एक हजुरआमा, तीन हजुरबुबा भएको कुरा सुनाएकी थिइन् । अनि आमा र दुई बुबा भएको बताएकी थिइन् । जेठालाई बुबा र कान्छालाई काका भनेकी रहिछन् । पहिलोपटक उनीबाट सुन्दा मलाई एकरत्ति विश्वास लागेको थिएन । अहिलेजस्तो गुगल–सर्च गर्न मिल्ने थाहा पाउन मिल्ने विज्ञानको समय थिएन त्यो ।

उनले सबै कुरा भनिन् । हामी सुन्नेले प्रश्नमाथि प्रश्न गरेका थियौँ । उनले कत्ति पनि झिँजो नमानी जवाफ दिएकी थिइन् । त्यो भेटबारे पनि मैले छोरालाई बताएँ ।

अनि उसले भन्यो, ‘हजुर अब उपन्यास लेख्नु । आउने मेरो बर्थ–डेमा त्यो नै मेरो गिफ्ट हुनेछ ।’

यसो भन्नुको तात्पर्य उसले मलाई समय सीमाको कसीमा बाँधेको थियो । ‘खोइ सक्छु र !’ म अलमलमै थिएँ ।

उसले भन्यो, ‘कोसिस गर्नु । अहिले नसके अर्को बर्थ डेसम्म सक्नुभए पनि हुन्छ । म त्यति कन्सिडर गर्न सक्छु ।’

त्यसपछि पनि उसले लेख्न–बुझ्नका लागि समाग्री भेला गर्न सघाइरह्यो । मैले पढ्दै गएँ । थिम उसैले दिएको थियो । अनि केही एकान्तमा मैले कथा बुनें ।

लेख्दा अझै कमलले कागजमै लेख्ने बानी छ मेरो । ‘योगमाया’, चीरहरण लेख्दा दिनमा २० पेजसम्म लेख्थें । तर, यो ३० पेजसम्म पनि लेखेँ । अघिका उपन्यास मैले मध्यरातमा पनि लेख्थें । यो भने नौ बजेराति र बिहानको पाँचभन्दा अघि लेखिनँ । अरू उपन्यास मैले छोराहरू स्कुल गएका बेला या उनीहरूको अनुपस्थितिमा लेखेँ । तर, यो मैले दुवै छोरा घरमै भएका बेला, उनीहरूबाट सहयोग लिँदै लेखेँ ।

यसरी यो मैले सम्पूर्ण कथा घरमा नै लेखेँ । यो लेखन मेरो लागि कोभिडको दुःख बिर्साउने ‘मेडिटेसन’ जस्तो भयो ।

हामीसँग विविध संस्कृति, जीवन पद्दति छ । समाजमा आ–आफ्ना विवाह पद्धति छन् । जुन हामीले द्वापरयुग द्रौपदीको विवाहबारे पढेको सुनेका छौँ । यो युगमा पनि हाम्रै जन्मभूमिमा पनि यसप्रकारको विवाह–प्रथा प्रचलनमा छ । त्यसमा केन्द्रित छ मेरो उपन्यास । मैले यही एक सामाजिक संस्कृतिलाई आख्यानीकारण गरेकी मात्र हुँ ।

तर, उहाँहरूको विश्वास नै एक आधार हो मेरो लेखनको । यो लेख्दा मलाई चुनौती छ । तर, म सतर्क छु । मैले उहाँहरूको भावनामा थोरै पनि चोट पुर्‍याउनु हुँदैन । मान्दै आएको संस्कृति, परम्परा आ–आफनो समाजको प्रिय सम्पति हो । मैले त्यसमा आख्यानीकरण गर्दा अतिरञ्जित गर्नु हुँदैन ।

काल्पनिक पात्र उभ्याएर कथा बुनेकी छु । मैले कसैको जीवनबाट सिधै साभार गरेको छैन । यो भन्दैमा फेरि समाजिक यथार्थबाट टाढा पनि छैन ।

मैले यो लेख्दै गर्दा सम्बधित स्थानका व्यक्तिहरूसँग निरन्तर टेलिफोन सम्पर्कमा छु । को–कसबाट सहयोग प्राप्त भयो, त्यसबारे उपन्यासमा उल्लेख गर्ने छु । उहाँहरूको सहयोग नपाएको भए यो उपन्यास लेख्न मेरा निम्ति सम्भव थिएन । मेरो पान्डुलिपि उहाँहरूले पढ्नुभयो र पुस्तकको नामकरणका क्रममा समेत छलफल भयो ।

आजको यो लेखनमा सामाजिक सञ्जाल र प्रविधिले पनि धेरै सघाउ पुगेको छ ।

प्रिय पाठकहरू, म उपन्यासमार्फत तपाईंहरू समक्ष चाँडै आउनेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment