Comments Add Comment

उखुको बक्यौता : उद्योग मन्त्रालय भन्छ- ८ करोड मात्रै, गृहको रेकर्डमा १९ करोड

६ माघ, काठमाडौं । उखु किसानहरुको बक्यौता भुक्तानी सम्बन्धमा गृह र उद्योग मन्त्रालय तथ्याङ्क बाझिएको छ । गृह मन्त्रालयले दिएको तथ्याङ्क सूचना गलत भएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पत्रकार सम्मेलन नै गरेको छ ।

मंगलबार पत्रकार सम्मेलन गरेर मन्त्रालयले किसानको भुक्तानी सम्बन्धमा गृहबाट भ्रामक सूचना सम्प्रेषण गरिएकोमा ध्यानाकर्षण भएको बताएको हो । किसानको रकम तिर्न नसकेको भनेर बाहिर आएको समाचारमा गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता डा. नारायण प्रसाद रेग्मीले बताए ।

‘अझै रकम तिर्न नसकेको भनेर जुन समाचार आएको छ, त्यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रवक्ता रेग्मीले भने ।  चार वटा चिनी मिलबाट किसानले ८ करोड एक लाख रुपैयाँ मात्रै भुक्तानी गर्न बाँकी रहेको उनको दाबी छ ।

चिनी उद्योग, जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार नै मन्त्रालयले एकीकृत तथ्याङ्क तयार पारेको प्रवक्ता रेग्मीको भनाइ थियो । कुल ६५ करोड ३१ लाख बक्यौतामध्ये ५७ करोड ३० लाख रकम किसानहरुको खातामा पठाइएको उनले बताए ।

इन्दिरा र अन्नपूर्ण गरी दुई वटा मिलको मात्रै रहक खाता पठाउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । महालक्ष्मी सुगर मिल र श्रीराम सुगर मिलले सबै रकम किसानको खातामा जाने गरी भुक्तानी गरेको मन्त्रालयले दाबी गरेको छ ।

मन्त्रालयका अनुसार श्रीराम सुगर मिलको कुल बक्यौताको शतप्रतिशत ३५ करोड रुपैयाँ किसानलाई तिरेको छ । यस्तै अन्नपूर्ण चिनी उद्योगको १७ करोड भुक्तानी बाँकी रहेकोमा १० करोड ८८ लाख रुपैयाँ किसानलाई भुक्तानी गरेको छ भने एक करोड ७६ लाख रकम खातामा जम्मा गरेको छ ।

इन्दिरा सुगर मिलको ४ करोड ७० लाख बक्यौता बाँकी रहेकोमा एक करोड ५० लाख रुपैयाँ भुक्तानी भएको छ । लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख रुपैयाँ किसानलाई तिर्नु पर्नेमा ५ करोड ३१ लाख भुक्तानी भएको र तीन करोड रुपैयाँ खातामा रोक्का रहेको छ । यस्तै महालक्ष्मी सुगर मिलले २० लाख रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

फरक छ गृहको तथ्याङ्क

गृह मन्त्रालयका उप-सचिव एवं सूचना अधिकारी प्रेमलाल लामिछानेले दिएको जानकारी अनुसार किसानलाई अझै उद्योगहरुले १९ करोड दुई लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । ‘उखु किसानको भुक्तानी सन्तोषजनक छ । सोमबार साँझसम्म गृहमन्त्रालयमा प्राप्त विवरण अनुसार कुल बक्यौताको झण्डै ७३ प्रतिशत रकम किसानको खातामा पठाइएको छ,’ सूचना अधिकारी प्रेमलाल लामिछाने भने ।

उनका अनुसार चार उद्योगबाट ७० करोड ५८ लाख बक्यौता रहेकोमा ५१ करोड ३८ लाख रुपैयाँ किसानको खातामा पठाइएको छ भने १९ करोड दुई लाख रुपैयाँ किसानलाई उपलब्ध गराउन बाँकी छ ।

गृहको विवरणअनुसार श्रीराम सुगर मिलले ४० करोड ४६ लाख भुक्तानी गर्नुपर्नेमा ३५ करोड ७५ लाख ४४ हजार किसानको खातामा गएको छ भने ४ करोड ७० लाख ५६ हजार रूपैयाँ किसानको विवरण नमिल्दा बैंकमा रोकिएको छ । लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख भुक्तानी गर्नुपर्नेमा ४ करोड १६ लाख तिरेको छ भने बाँकी ४ करोड २५ लाख रुपैयाँ भुक्तानी गर्न अझै बाँकी छ ।

लामिछानेका अनुसार अन्नपूर्ण चिनी मिलले १७ करोड रुपैयाँ भुक्तानी गर्नु पर्नेमा ११ करोड २७ लाख किसानको खातामा पठाएको छ भने ५ करोड ७३ लाख रुपैयाँ अझै बक्यौता बाँकी छ । यस्तै इन्दिरा सुगर मिलले ४ करोड ७० लाख भुक्तानी गर्नुपर्नेमा १ करोड ५० लाख रूपैयाँ बैंक खातामा पठाएको छ । अब उक्त उद्योगले ३ करोड २० लाख रुपैयाँ खातामा पठाउनुपर्ने गृहका सूचना अधिकारी लामिछानेले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment