Comments Add Comment

आगलागीबाट कति सुरक्षित छन् काठमाडौंका अपार्टमेन्ट ?

६ माघ, काठमाडौं । काठमाडौंको रविभवनमा रहेको सोल्टी सिटी अपार्टमेन्टको ‘ए’ ब्लकमा सोमबार दिउँसो आगलागी भयो । आगलागी भएपछि अपार्टमेन्टभित्र रहेकाहरु बाहिर निस्कन प्रयास गरे । तर, असफल भएपछि उद्धारकर्ता नै तलबाट आगो निभाउँदै अपमार्टमेन्टहरु भित्र पुग्नुपर्‍यो । २३ जनालाई अपार्टमेन्टभित्रबाट अत्तालिएको अवस्थामा उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ ।

कालिमाटी प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) अपीलराज बोहोराका अनुसार तेस्रो तलाको ढोकासँगैको बिजुलीको वायरिङ सर्ट भएपछि चौधौैं तलासम्मैको ढोकाहरुमा आगो सल्किएको थियो । त्यसका कारण कोही पनि मूल ढोका खोलेर नियमित भर्‍याङबाट तल र्झन सक्ने अवस्था थिएन ।

‘तलबाट मूल भर्‍याङ हुँदै आगो निभाउँदै गएर भित्र फसेकाहरुको उद्धार गरेका हौं,’ बोहोराले भने, ‘सबैजसो मूल ढोकाहरुमा आगो लाग्दा अपार्टमेन्टभित्र धुवाँले ढाकेकाले थुनिएकाहरु अत्तालिएका थिए ।’

अपार्टमेन्टमा आकस्मिक रुपमा निस्कन मिल्नेद्वार र भर्‍याङ (फायर एक्जिट) भएपनि त्यो भित्रैबाट मात्रै भएकाले बाहिर निस्कन कसैले आँट नगरेको प्रहरीको भनाइ छ ।

‘कतिपय ठूला भवनको त बाहिरबाट पनि ठूला आकस्मिक भर्‍याङ हुन्छन्,’ उनी भन्छन्, ‘तर, सोल्टीको आकस्मिक भर्‍याङ पनि भित्रैबाट मात्रै रहेछ, त्यसमाथि भर्‍याङमा कतिपय ठाउँमा समानहरु पनि थिए, भित्र धुवाँमा फसेकाहरुले त्यहाँबाट निस्कन आँट गरेको देखिएन ।’

उपत्यका विकास प्राधिकरण, काठमाडौं महानगरपालिका र शहरी विकास तथा भवन निर्माण विभाग सबैले यो अपार्टमेन्ट नियम विपरीत निर्माण भएपनि आँखा चिम्लिएका छन्

उद्धारमा खटिएका प्रहरी निरीक्षक शिशिर श्रेष्ठको अनुभव पनि त्यस्तै छ । ‘भित्र धुवैधुवाँ थियो, आकस्मिक रुपमा प्रयोग गर्ने भर्‍याङ ङ बाहिरबाट पनि भएको भए सायद त्यहीँबाट निस्कन आँट गर्थे होलान्,’ प्रहरी निरीक्षक श्रेष्ठ भन्छन्, ‘कतिपय अपार्टमेन्टको फल्स सिलिङसम्म पनि आगो सल्किसकेको थियो, उद्धारकर्ता समयमै पुगेकाले ठूलो क्षति हुन पाएन ।’

सोल्टी सिटी अपार्टमेन्टका प्रोजेक्ट ८/९ वर्षअघि म्यानेजर सुरेन्द्र कर्ण नक्सापास नै बाहिरबाट भर्‍याङङ नराख्ने गरी भएको बताउँछन् । ‘हामीले नक्सापास नै बाहिर भर्‍याङ नरहने गरी गरेका थियौं,’ उनी भन्छन्, ‘फायर एक्जिटको भर्‍याङङमा अपार्टमेन्टमा बस्नेहरुले नै फर्निचर राख्नुभएछ, त्यही भएर निस्कन गाह्रो भएको होला, हामीले नक्सापास गर्दा बाहिर भर्‍याङ राख्न अनिवार्य गरिएको थिएन ।’अपार्टमेन्टमा फर्निचरको काम गर्ने आएकाहरुले असावधानी अपनाएकाले लाइट सट भएर वायर गरिएको पाइप जल्दा त्यसबाट आगो फैलिन पुगेको कर्णले दावी गरे । तर, अपार्टमेन्टमा बसोबास गर्नेहरुले वायरिङमा लापरवाही भएको र कमजोर गुणस्तरको विद्युतीय सामग्री प्रयोग गरेको आशंका गरेका छन् ।

तर, प्रोजेक्ट म्यानेजर कर्ण सुरक्षामा कुनै सम्झौता नगरी अपार्टमेन्ट तयार गरिएको दावी गर्छन् । यो अपार्टमेन्टले अझै निर्माण सम्पन्न भएको प्रमाणपत्र लिएको छैन । तर, २८० वटा अपार्टमेन्ट लगभग बिक्री भइसकेको छ । करिब डेढ वर्षअघिबाट मात्रै यो अपार्टमेन्टमा बसोबास सुरु भएको थियो । अझै एउटा टावर (ब्लक)को निर्माण सकिएको छैन ।

भूकम्पपछि मात्रै यो अपार्टमेन्ट बन्ने क्रम तीव्र भएपनि यसमा आकस्मिक भर्‍याङ राख्न लगाउन कुनै सरकारी निकायले जोड नगरेको देखिएको छ । उपत्यका विकास प्राधिकरण, काठमाडौं महानगरपालिका र शहरी विकास तथा भवन निर्माण विभाग सबैले यो अपार्टमेन्ट नियम विपरीत निर्माण भएपनि आँखा चिम्लिएका छन् ।

अग्नि सुरक्षा पूर्वाधार अनिवार्य

सोल्टी अपार्टमेन्टको आगलागीको घटना र नियम नमान्ने बलमिच्याइँले फेरि एकपटक काठमाडौंका अन्य गगनचुम्बी अपार्टमेन्टहरु पनि कति सुरक्षित छन् भन्ने प्रश्न जन्माएको छ । भूकम्पका बेलामा पनि अपार्टमेन्टहरुको सुरक्षाबारे प्रश्न उठेको थियो ।

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष मीनमान श्रेष्ठ कुनै पनि अपार्टमेन्टले सुरक्षालाई बेवास्ता गर्न नहुने बताउँछन् ।

‘अपार्टमेन्टका हरेक तलमा ‘फायर होस’ (आगो निभाउन पानी आउने गरी तयार राखिएको पाइप) र फायर स्टिङविसरजस्ता अग्नि नियन्त्रक उपकरण राख्नैपर्छ,’ उनले भने, ‘भित्रैबाट फायर एक्जिट (भर्‍याङ) र बाहिरबाट निस्कने अर्को आकस्मिक भर्‍याङ पनि हुनुपर्छ ।’

त्यस्तो आकस्मिक अवस्थाका लागि केही समय दमकल नै नआए पनि अपार्टमेन्टका ट्यांकीमा पर्याप्त मात्रामा पानी रहने सुनिश्चित गर्नुपर्ने हुन्छ । अध्यक्ष श्रेष्ठले धेरैजसो अपार्टमेन्टले सुरक्षात्मक पूर्वाधारको व्यवस्था गरेको दावी गरे ।

अपार्टमेन्टमा कुनै विपत्ति आइलागे सजिलै तल उत्रने विकल्पहरु दिनुपर्ने भन्दै उनले मापदण्डले पनि त्यसलाई सुनिश्चित गरेको बताउँछन् । बदमासी गरेर अपार्टमेन्टमा त्यस्ता पूर्वाधारहरु नराखिएमा त्यसले त्यहाँ बस्नेहरुलाई असुरक्षा पैदा गर्ने श्रेष्ठले बताए । कतिपय कम्पनीले साँघुरा भर्‍याङहरु प्रयोग गर्ने गरे पनि त्यसो गर्नु व्यवसायिक मर्यादाविपरीत हुने श्रेष्ठको भनाइ छ ।

किन्नुअघि नै ग्राहकले पनि आगलागी लगायतका विपत पर्दा अपार्टमेन्ट कति सुरक्षित हुनसक्छ भनेर विचार गर्नुपर्ने उनको भनाइ छ ।

‘हाम्रै कम्पनीका अपार्टमेन्टका कुरा गर्नुहुन्छ भने यस्ता घटना हुँदा मान्छे सजिलै बाहिर आउन कुनै सकस पर्दैन,’ श्रेष्ठ भन्छन्, ‘यस्ता व्यवहारिक र अत्यावश्यक नियमको पालना गरेर अपार्टमेन्टहरु बन्नुपर्छ ।’

विभाग भन्छ- बदमासी छ

शहरी विकास तथा भवन निर्माण विभागका अनुसार २०५४ सालमा नेपालमा संयुक्त आवासको स्वामित्व सम्बन्धी ऐन आएपछि नेपालमा अपार्टमेन्ट बन्ने क्रम सुरु भएको थियो । त्यसपछि अपार्टमेन्टहरु बने पनि त्यसको अनुगमन र नियमन राम्रोसँग नभएकाले यस्ता समस्या आएको विभागको दाबी छ ।

विभागका महानिर्देशक नवराज प्याकुरेल अग्ला अपार्टमेन्टहरुमा भूकम्प, आगलागीजस्ता विपदहरु पर्दा सुरक्षित रुपमा अवतरण हुनसक्ने गरी बाहिरबाट भर्‍याङ राख्नैपर्ने बताउँछन् ।

‘यस्ता अपार्टमेन्ट बनाउने अनुमति दिने बेलामा एउटा नक्सा देखाएर संरचना भने अर्कै बनाउने गरिएको पनि हुनसक्छ,’ उनी भन्छन्, ‘त्यसमा विभागले स्थलगत अध्ययन नै गर्नुपर्छ । यसतर्फ हाम्रो ध्यानाकर्षण भएको छ ।’

उनका अनुसार यस्ता भवनको नक्सापास सम्बन्धित नगरपालिकाले गर्ने भएकाले पनि भवन निर्माण मापदण्ड अनुसार बन्यो/बनेन भनेर असहज छ । तर, सरकारले अपार्टमेन्टमा बस्ने जनताको सुरक्षालाई प्राथमिकता दिएर नियम बनाउने र त्यसको कार्यान्वयनमा ध्यान दिने उनको दावी पनि छ ।

शहरी विकास तथा भवन निर्माण विभागका प्राविधिकहरु पनि काठमाडौंमा धेरैजसो अपार्टमेन्ट र मल लगायतका व्यवसायिक भवनहरुमा यस्ता विपत्ति आइलागेमा सहजसँग आकस्मिक ढोका र भर्‍याङबाट बाहिर आउन नसक्ने अवस्था रहेको बताउँछन् ।

‘सोल्टीमा मात्रै हैन, काठमाडौंमा धेरै अपार्टमेन्टमा यस्तो जोखिम छ,’ विभागका एक इन्जिनियर भन्छन्, ‘विगतमा नक्सापास गर्दा, निर्माण सम्पन्न प्रमाणपत्र दिँदा भएका बदमासी र भवन निर्माणसंहिता खुकुलो बनाएर निर्माण गरिएका नीतिगत अनियमितताका कारण भविष्यमा यस्ता विपदले ठूला भवनमा कतिबेला कति मान्छेको ज्यान लिने हो भन्न सकिन्न ।’

उनकाअनुसार भूकम्पका बेलामा नै काठमाडौंमा रहेकामध्ये धेरैजसो अपार्टमेन्ट कति सुरक्षित छन् भन्ने प्रमाणित भएको थियो । भूकम्पका कारण पार्क होराइजन अपार्टमेन्ट बस्न अयोग्य हुने गरी क्षतिग्रस्त भएको थियो भने धेरैजसो अपार्टमेन्ट मर्मत गरेर मात्रै बस्ने गरी सरकारले पहेँलो स्टिकर टाँसेको थियो ।

‘भूकम्पलाई त धेरैले बिर्सिए, यस्ता आगलागीका घटना हुने हो भने अरु धेरै अपार्टमेन्ट पनि मान्छे बस्नयोग्य नरहेको प्रमाणित हुन्छन्,’ ती इन्जिनियर दावी गर्छन् ।

कालिमाटी प्रहरी वृत्तका प्रमुख बोहोरा भने बनेका पूर्वाधारको प्रयोग गर्न सिकाउन पनि आवश्यक रहेको बताउँछन् । कतिपय तलाबाट ‘फायर एक्जिट’बाट बाहिर आउन सक्ने अवस्था भए पनि धुवाँ देखेर मान्छे डराएको पाइएको उनले बताए ।

‘आगलागी नियन्त्रण गर्ने गरी बनाइएका पूर्वाधारको उपयोग गर्ने तरिका पनि सिकाउनुपर्छ,’ उनी भन्छन्, ‘यस्तो सिपले अपार्टमेन्टहरुलाई सुरक्षित राख्न मद्दत पनि गर्छ ।’

के छ अपार्टमेन्टहरुको अवस्था ?

भवन निर्माण विभागका अनुसार अहिलेसम्म अनुमति लिएका ३० वटा अपार्टमेन्टको निर्माण सकिएको छ । ३९ वटाले निर्माणको अनुमति लिए पनि निर्माण सकेको सूचना विभागमा छैन । ४ वटा अपार्टमेन्टका लागि जारी भएको अनुमति रद्द भएको छ भने केही नयाँ अपार्टमेन्ट अनुमति लिने प्रक्रियामा छन् । भूकम्पपछि ६ वटा अपार्टमेन्टमा होटल चलाइएको छ ।

भूकम्पछि पिरामिड शैलीमा मात्रै अपार्टमेन्ट बनाउन पाइने नियम लागेपछि धेरै व्यवसायी पुरानो योजनाबाट पन्छिएका छन् । बरु अहिले व्यवसायीहरु नियम संशोधनको माग गरिरहेका छन्

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष श्रेष्ठका अनुसार भूकम्पपछिका दुई वर्षसम्म नेपालमा अपार्टमेन्टको व्यापारमा ठूलो धक्का लागेको थियो । भूकम्पले धेरै गारो चर्काएपछि धेरैले अपार्टमेन्टको बिक्री अब बन्द हुने अनुमान गरेका थिए । तर, भूकम्पको त्रास साम्य हुँदै गएपछि अग्ला (हाइराइज) अपार्टमेन्टमा बस्न चाहनेहरु बढ्दै गएका छन् ।

भूकम्प जाने बेला करिब ४७ सय युनिट अपार्टमेन्ट बिक्री हुन बाँकी रहे पनि अहिले त्यो संख्या एकदेखि डेढ सयमा झरेको हुनसक्ने अध्यक्ष श्रेष्ठ बताउँछन् । भूकम्पपछि सहरी विकास तथा भवन निर्माण विभागले जम्मा ६ वटा अपार्टमेन्टलाई मात्रै तत्कालै मर्मत नगरी बस्न मिल्ने सूचीमा राखेको थियो । बाँकी अपार्टमेन्टहरु मर्मत गरेर फेरि बस्नयोग्य बनाइएको थियो ।

अहिले अपार्टमेन्टको मौज्दात सकिनै लाग्दा नयाँ परियोजना भने खासै अघि बढ्न सकेका छैनन् । भूकम्पपछि सरकारले कानून संशोधन गरेर ५ तलाभन्दा अग्लो भवन बनाउनेले प्रत्येक तला -४ मिटर माथि)बाट कम्तिमा १ मिटर खाली भाग बढाउनुपर्ने व्यवस्था गरेपछि अपार्टमेन्ट बनाउनेहरु निरुत्साहित भएको श्रेष्ठ बताउँछन् ।

अर्पाटमेन्टमा रहनुपर्ने फायर होज

भूकम्पछि पिरामिड शैलीमा मात्रै अपार्टमेन्ट बनाउन पाइने नियम लागेपछि धेरै व्यवसायी पुरानो योजनाबाट पन्छिएका छन् । बरु अहिले व्यवसायीहरु नियम संशोधनको माग गरिरहेका छन् ।

‘काठमाडौंमा अब केही समयमा घडेरी नै नपाइने अवस्था बन्छ, त्यसैले अपार्टमेन्ट नै भविष्य हो,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘भूकम्पमा पनि एउटाबाहेक अरु कुनै अपार्टमेन्टमा ठूलो क्षति भएन, त्यसले पनि नेपाली इन्जिनियरिङ र यहाँको अपार्टमेन्टको स्ट्रक्चरल अवस्था बलियो रहेको देखाएको छ ।’

भूकम्पले कुनै पनि अपार्टमेन्ट थोरै पनि नढल्किएको दावी गर्दै उनले सुरक्षाका मापदण्डलाई व्यवहारिक र अनिवार्य गरेर अघि बढ्न सरकारलाई आग्रह गरे ।

‘अहिले पिरामिडको नियम मान्ने अपार्टमेन्ट नै बनाउन नसक्ने अवस्था छ, यसले नियम धेरै उल्लंघन हुने अवस्था आएको छ,’ उनले भने, ‘आगलागी र अन्य विपतबाट सुरक्षित रहने गरी व्यवहारिक मापदण्ड ल्याएर अपार्टमेन्ट व्यवसायमा लगानी आकर्षिरत नगर्ने हो भने भविष्यमा सहरभित्र आवासीय समस्याहरु झन् बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment