Comments Add Comment

जान्नुहोस्, कुन–कुन चलचित्रको सुरु भयो छायांकन ?

उसो त, कोभिडका कारण मारमा परेको चलचित्र क्षेत्रले लयमा फर्किने कोशिश भदौबाट नै गरेको हो । तर, सरकारले हल खोल्ने निर्णय नगरेपछि धेरै चलचित्रका निर्माता अन्यौलमा बसे । धमाधम चलचित्रका लागि कलाकार फाइनल त गरियो तर छायांकन भने सुरु हुन सकेको थिएन ।

सरकारले पौष २६ गतेबाट हल खोल्ने निर्णय गरेपछि चलचित्रको छायांकन पनि सुरु हुन थालेको छ । सरकारले निर्णय नगर्दै कात्तिकको १ गतेबाट चलचित्रहरु ‘ए मेरो हजुर ४ र आई एम ट्वान्टी वान’को छायांकन सुरु भएको थियो ।

तर, सरकारले चलचित्र छायांकन र प्रदर्शनको अनुमती दिएपछि आधा दर्जन चलचित्र फ्लोरमा छन् । नायक आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह लगायतको मुख्य भूमिका रहेको चलचित्र ‘हिड्दा हिड्दै’को काठमाण्डौमा धमाधम छायांकन भैरहेको छ ।

यस्तै, नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र ‘डिसेम्बर फल्स’को छायांकन पोखरामा सोमबारदेखि सुरु गरिएको छ ।

नायिका ऋचा शर्माले निर्माण तथा अभिनय गरिरहेको चलचित्र ‘कौसिद’को छायांकन पनि यतिबेला धमाधम भैरहेको छ । यो चलचित्रको छायांकन मेलम्ची वरिपरी भैरहेको छ ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सुरु भएको एक साता भन्दा बढी भयो । यो चलचित्रको छायांकन पनि काठमाण्डौका विभिन्न स्थानमा भैरहेको छ ।

नायक पुष्प खड्काले सरकारले चलचित्र छायांकनको अनुमती दिनु अगाडि नै ‘कृष्ण लीला’को ४० दिने सेड्यूल सकेका थिए । यो चलचित्रको हाल धमाधम पोष्ट प्रोडक्शनको काम भैरहेको छ ।

नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’को ९० प्रतिशत छायांकन सकिएको छ । यस्तै, नायक धिरज मगर र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन कात्तिक १ गतेबाट विभिन्न चरणमा जारी छ । हाल, यो चलचित्रको छायांकन पाटनमा भैरहेको छ ।

चलचित्र ‘परदेशी २’को पनि छायांकन अन्तिम चरणमा पुगेको छ । नेपालका दृश्यहरु खिचिसकेको निर्माणपक्षले अमेरिकाको केही दृश्य खिच्ने तयारी गरेको छ ।

चलचित्र ‘मनसँग मन’को एक गीतको छायांकन केही साता अगाडि काठमाण्डौमा गरिएको थियो । यो गीतलाई निर्माणपक्षले सार्वजनिक समेत गरिसकेको छ । चलचित्रलाई चैत्र २७ गते रिलिज गर्ने तयारी निर्माताको छ ।

यसरी हेर्दा आधा दर्जन चलचित्र फ्लोरमा छन् भने केही चलचित्रको पोष्ट प्रोडक्शनमा काम भैरहेको छ । तर, कोभिड महामारी अझै नसकिएको र हलमा पनि ५० प्रतिशत अकुपेन्सी तोकिएकाले निर्माताले चलचित्रको प्रदर्शन मिति भने तय गर्न सकेका छैनन् । हाल धमाधम छायांकन भैरहेका चलचित्रका निर्माताले आगाामी बर्षको साउनदेखि मात्र चलचित्र रिलिज गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment