
८ माघ, काठमाडौं । चर्चित जनवादी गायक जीवन शर्माले गाएको एउटा पुरानो गीतलाई यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले चर्चामा ल्याइदिएका छन् । गीतले भनेको छ– पिलो निचोरी फ्याँक्दा वजन घटेको हुन्न !
पुसको पहिलो साता नेकपामा विभाजन आएपछि बालुवाटारमा बसेको आफ्नो समूहको केन्द्रीय कमिटी बैठकमा केपी ओलीले पहिलोचोटि गीत गुन्गुनाउने प्रयास गरे । तर, शब्दहरु प्रष्टसँग उच्चारण गर्न जानेनन् । ओलीले प्रचण्ड र माधव नेपाललाई पिलोसँग तुलना गर्ने प्रयास गर्दै भने, ‘भन्न त नहुने, भन्न नमिल्ने । नमिले पनि एउटा गीत सम्झिनुपर्यो । जीवन शर्माको जस्तो लाग्छ– पिलो निचोरिएर तौल कम हुँदैन कि के भन्ने एउटा गीत छ । पिलो निचोरिँदैमा तौल घटेको हुन्न कि के ।’
ओलीले दोहोर्याए– ‘पिलो निचोरिँदैमा वजन घटेको हुन्न । पिलो निचोरिँदैमा वजन घटेको हुन्न । पिलो निचोरिन्छ, त्यसको खिल बाहिर जान्छ । तर, वजन घट्या हुन्न खिल निक्लँदैमा ।’
एक सातापछि आयोजित अर्को कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले माइकबाट फेरि यो गीत गुन्गुनाउने प्रयास गर्दै भने, ‘जीवन शर्माले एउटा गीत गाउनुभएको छ । गीतको एउटा लाइन यस्तो छ– पिलो निचोरिँदैमा वजन घटेको हुन्न ।’ (गीतको शुद्ध वाक्यचाहिँ यस्तो हुनुपर्ने हो– पिलो निचोरी फ्याँक्दा वजन घटेको हुन्न )
सो कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूहका नेताहरुलाई पिलोको संज्ञा दिँदै थपे, ‘दुई चारवटा पिलो निचोरिएर बाहिर निस्कियो खिल भने पनि शरीरको वजन घट्या हुन्न । त्यल्ले नोकसान पार्या हुन्न । अझ मजबुद भएर, पीडारहित भएर अगाडि बढ्छ आन्दोलन । म भन्न चाहन्छु, तपाईहरु नहुँदा…. तपाईंहरु सहिद भएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो । तपाईहरु सहिद त होइन, तपाईंहरुलाई अब कार्यक्रमहरुमा स्मरण गर्नुपर्ने पनि आवश्यकता छैन…. ।’
प्रधानमन्त्री ओलीले असाध्यै मन पराएर पटक–पटक चर्चा गरिरहेको यो गीतको अन्तर्य के हो ? कसले, कसका लागि लेखेको गीत हो यो ? ‘पिलो’ कसलाई भन्न खोजिएको हो ? गीतका सर्जक र गायकको मनसाय के हो ? यिनै सन्दर्भमा अनलाइनखबरले जनवादी गायक जीवन शर्मालाई जिज्ञासा राख्दा उनले भने– ‘यो गीतमा क्रान्तिकारी आन्दोलनलाई उर्जा दिने शब्दहरु नै प्रयोग भएका छन् ।’
केपी ओलीले बारम्बार उच्चारण गरेको गीतबारे शर्माको प्रतिक्रिया यस्तो छ–
२०४३/०४४ सालतिर राम कार्की र मेरो दिल्लीमा भेट भयो । उहाँले मसँग एउटा गीत छ, तपाईंले संगीत भरिदिनोस् भन्नुभयो । त्यसपछि यो गीत मैले उहाँको डायरीबाट सारेको हो । यो गीत उहाँले लेख्नुभएको हो । मैले त संगीत भएर गाएको हो । ०५२/०५३ सालदेखि नै यो गीत गाउँदै गाउँदै हिँडियो ।
हाम्रो गीत त कहिले जनयुद्धमा प्रयोग भएका छन्, कहिले चुनावमा प्रयोग गर्छन् । ०५६ सालतिर मलाई प्रश्नहरु आउँथे, तपाईंको पार्टी एकातिर, गीत अर्कातिर भए । यसमा मेरो एउटा मात्रै उत्तर के हो भने म त किसानजस्तो हुँ, धान उत्पादन गर्छु, बजारमा लगेर बेच्दिन्छु । कसले किनेर खान्छ र कसले खाँदैन भन्ने हिसाब त मसित हुँदैन । मेरो कर्तव्य त के हो भने खेतीपाती गर्ने हो, उत्पादन गर्ने हो ।
मेरा गीतहर कहिले जनयुद्धमा प्रयोग भएका छन्, कहिले हुम्ला–जुम्लातिर नारायणमान बिजुक्छेले मेरा गीतहरु प्रयोग गरेर संगठन निर्माण गर्नुभयो । कहिले चुनावहरुमा प्रयोग भए यिनै गीतहरु । कहिले आन्दोलनमा प्रयोग हुन्छन् यी गीतहरु । फेरि पनि हुकुमी शासन चल्दैछ भन्ने गीतले जनआन्दोलनमा निकै ठूलो उर्जा दियो ।
यसमा त अब मैले के भन्ने कुरो भयो र । जसलाई मनपर्छ, ज–जसलाई उर्जा दिन्छ, उनीहरुले प्रयोग गर्छन् । अहिले ओलीजीले प्रयोग गर्नुभयो, झलनाथ जीले पनि प्रयोग गर्नुभयो ।
यो गीतको आशय के हो भन्ने कुरा त राम कार्कीजीलाई नै थाहा होला । यो गीतमा क्रान्तिकारी आन्दोलनलाई उर्जा दिने शब्दहरु नै प्रयोग भएका छन् । यही लागेर नै मैले यो गीत गाउँदै हिँडेको हुँ ।
पिलोको खिलले नै गीत कोट गरिराखेको छ : राम कार्की
गीतका लेखक राम कार्कीले चाहिँ स्वयं पिलोको खिलले नै अहिले यो गीत ‘कोट’ गरिराखेको प्रतिक्रिया दिए । आफूले यो गीतमा क्रान्तिकारी लाइनबाट विचलित भएकाहरुलाई पिलोको उपमा दिएको कार्कीले स्पष्ट पारे । यो गीतका शब्दहरुले केपी ओलीको प्रतिरक्षा नगर्ने उनले बताए । उनले केपी ओली आफैं पिलोको खिलजस्तो भएको बताए ।
‘जो क्रान्तिकारी लाइनबाट विचलित हुन्छन्, यो गीतले तिनीहरुलाई पिलो भनेको हो । मान्छेलाई पिलो निचोर्दा त सञ्च हुन्छ नि त,’ गीतका सर्जक कार्कीले अनलाइनखबरसँग भने, ‘अहिले के भैदियो भने पिलोको खिलले नै यो गीत ‘कोट’ गरिराखेको छ । उनी आफैं पिलोको खिल हुन् क्या ।’
झापाबाट निर्वाचित सांसद समेत रहेका नेकपा नेता कार्कीले थपे, ‘यो गीतका अरु लाइनहरु हेर्नुहोस् न, यो लाइनले त कहीँ पनि ओलीलाई डिफेन्स नै गर्दैन । यो गीतले त समाजवादको कुरा गर्छ, लडाइँको कुरा गर्छ र जनता आँधी भिरेर आउँछन् भन्छ ।’
‘साक्षी छ हाम्रो इतिहास’ शीर्षकको गीतको पूर्णपाठ–
साक्षी छ हाम्रो इतिहास, मुक्ति कहीँ डुबेन
ठोकेर भन्न मिल्छ, हार हुँदै हुँदैन ।
साक्षी छ हाम्रो इतिहास…..
०००
मोर्चाहरुको हारले युद्धको हार हुन्न
सहिदहरु बढेर हिम्मत खसेको हुन्न ।
उठ्छन् ती वस्ती बस्ती, आँधीहरु भिरेर
उदाउँछन् चन्द्र सूर्य कालो निशा चिरेर
उज्याऊ मुठ्ठीहरु छेकेर छेकिँदैन
ठोकेर भन्न मिल्छ हार हुँदै हुँदैन
साक्षी छ हाम्रो इतिहास…….
०००
गाली ढिपी कसेर के पो लछार्न सक्थ्यो
पत्करहरु खसेर कोशी कहाँ रुकेथ्यो
कायरहरु हटेर शक्ति घटेको हुन्न
पिलो निचोरी फ्याँक्दा वजन घटेको हुन्न
भत्काऊ उसको किल्ला, रोकेर रोकिँदैन
ठोकेर भन्न मिल्छ, हार हुँदै हुँदैन ।
साक्षी छ हाम्रो इतिहास….
जीवन शर्माको स्वरमा युट्युवमा सुन्नुहोस्–
प्रतिक्रिया 4