Comments Add Comment

माननीय खोज्दै डिल्लीरामलाई माधव नेपालको फोन !

८ माघ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका झापाका प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले गुट फेर्ने चर्चा चल्दै थियो ।

प्रचण्ड–माधव समूह छाड्ने मनसायमा पुगेका उनलाई फकाउन नेताहरुले निकै प्रयास गरे । तर अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता गर्दै उनी ओली समूहमा लागे । उनीसँगै झापाका गोपालचन्द्र बुढाथोकी र जसमाया गजमेर पनि ओली समूहमा लागे ।

समूह फेर्ने तयारी गर्दै गर्दा गजमेर र बुढाथोकीलाई पार्टीका नेताहरुले फोन गरे । तर बुढाथोकी र गजमेरलाई जस्तो फोन मैनालीलाई आएन । प्रदेशसभा सचिवालयले गलत नम्बर राखेका कारण मैनालीको फोन झापा विर्तामोडका डिल्लीराम श्रेष्ठलाई गयो । प्रदेशसभा सचविालयले मैनालीको भन्दै श्रेष्ठको नम्बर राखेको छ । नेकपाका नेताले श्रीप्रसाद भन्दै डिल्लीरामलाई तारन्तार फोन आयो । अझै आउने क्रम जारी छ ।

सवारी साधन भाडामा लगाउने व्यवसाय गर्दै आएका उनलाई माननीयज्यू भन्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि फोन गरे । तर रङ नम्बर भनेपछि फोन काटे । नेकपा विभाजनपछि उनलाई माननीयज्यू भन्दै फोन आउनेक्रम बढेको हो ।

‘माधवकुमार नेपालले पनि फोन गर्नु भयो’ टेलिफोन सम्पर्कमा उनले भने, ‘आएका फोन उठाउँछु । फोन उठाउँदा माननीयज्यू भन्नु हुन्छ । रङ नम्बर भनेपछि राख्नुहुन्छ ।’
नयाँ नम्बरबाट धेरै फोन आउने गरेको उनले बताए । ‘एक पटक म माधवकुमार नेपाल बोलेको भन्दै फोन आयो’ उनले भने ‘ फोन गर्दा उहाँले नाम भन्नु भयो, अरुले सुरुमा नाम भन्नुभएन मैले सोधिन पनि ।’

मैनाली ओली समूहमा लागेपछि उनलाई फोन आउन कम भएको छ । प्रदेश १ को संसद सचिवालयको वेवसाइटमा सांसद मैनालीको मोबाइल नम्बर ९८५२६७२७३९ भनी राखिएको छ । तर सो नम्बर डिल्लीरामले चलाउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment