
काठमाडौं । जो बाइडनले अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेसँगै ठूला प्रविधि कम्पनीले खुसी व्यक्त गरिरहेका छन् । एप्पल, गुगललगायत कम्पनीका सीईओले बाइडनलाई बधाई दिइसकेका छन् । बाइडनले पदभार ग्रहणसँगै गरेका विभिन्न घोषणालाई धेरैले स्वागत गरेका छन् ।
जलवायु परिवर्तन तथा आप्रवासीसम्बन्धी ट्रम्प प्रशासनका निर्णय उल्ट्याउने गरी बाइडनले गरेको निर्णयमा प्रविधि क्षेत्रका मानिसहरु खुसी छन् । तर, यस विषयमा फेसबुकका सीईओ मार्क जुकरबर्गलगायतका मानिसहरु भने मौन छन् ।
माइक्रोसफ्टका सीईओ सत्य नडेलाले आफू कोभिड–१९ तथा जलवायु परिवर्तनलगायत विषयमा बाइडन र उपराष्ट्रपति कमला ह्यारिससँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन् ।
यसअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस जलवायु सम्झौताबाट हात झिक्ने तथा विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)सँगको सम्बन्धविच्छेद गर्ने निर्णय गरेका थिए । साथै उनले आप्रवासनसम्बन्धी नियममा परिवर्तन गर्दै विभिन्न मुस्लिम बाहुल्य मुलुकमाथि भ्रमण प्रतिबन्ध लगाएका थिए ।
प्रविधि जगतका सबैजसो प्रमुख तथा कम्पनीले आधिकारिकरुपमा अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई दिँदै उनका नयाँ घोषणाको स्वागत गरिरहँदा टेस्लाका सीईओ एलन मस्क र फेसबुकका सीईओ मार्क जुकरबर्गले चाहिँ कुनै सार्वजनिक वक्तव्य जारी गरेका छैनन् ।
गुगलका सीईओ सुन्दर पिचाईले समेत कोरोना भाइरस महामारीमा राहत तथा जलवायु सम्झौतामा पुनः आबद्ध हुनेलगायत बाइडनका निर्णयको सह्राना गरेका छन् । यी महत्वपूर्ण विषयमा सहयोग गर्न गुगल तयार रहेको उनको भनाइ छ ।
त्यस्तै एप्पल सीईओ टिम कुकले पनि बाइडन र ह्यारिसलाई बधाई दिँदै जलवायु परिवर्तन, आप्रवासन तथा कोभिड–१९ बारे लिएको निर्णयको स्वागत गरेका छन् । विशेषगरी आप्रवासन नीतिलाई लचिलो बनाउने बाइडनको निर्णयको कुकले खुलेर प्रशंसा गरेका छन् ।
त्यस्तै नेटफ्लिक्सका सह–प्रमुख कार्यकारी अधिकृत रीड हास्टिङले चाहिँ शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गर्न आनाकानी गरेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पप्रति व्यंग्य गरेका छन् । हास्टिङ गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीलाई धेरै चन्दा दिनेमध्ये एक हुन् ।
यद्यपि अमेजन कम्पनीका सीईओ जेफ बेजोसले अहिलेसम्म बाइडनलाई बधाई दिएका छैनन् । यद्यपि उनको अमेजन कम्पनीले कोरोना खोप उत्पादन तथा बजारमा ल्याउन सहयोग गर्ने घोषणा गरिसकेको छ ।
अमेजन कम्पनीका कन्जुमर बिजनेस विभागका प्रमुख डेभ क्लार्कले बाइडनलाई बुधबार एक पत्र लेख्दै अमेरिकी सरकारको कोरोना खोप अभियानमा पूर्णरुपमा सहयोग गर्न तयार रहेको बताएका छन् ।
उता ट्वीटर सीईओ ज्याक डोर्सीले व्यक्तिगतरुपमा बाइडनलाई बधाई नदिएपनि ट्वीटर स्वयंले बाइडनको आप्रवासनसम्बन्धी नयाँ नियमको स्वागत गरेको छ ।
प्रविधि जगतका सबैजसो प्रमुखहरु तथा कम्पनीले आधिकारिकरुपमा जो बाइडनलाई बधाई दिँदै उनका नयाँ घोषणाको स्वागत गरिरहँदा टेस्लाका सीईओ एलन मस्क र फेसबुक सीईओ मार्क जुकरबर्गले कुनै सार्वजनिक वक्तव्य जारी गरेका छैनन् ।
पेरिस जलवायु सम्झौताबाट ट्रम्प प्रशासनले हात झिक्ने निर्णय गरेसँगै त्यसको विरोधमा ह्वाइट हाउसको सल्लाहकार काउन्सिलबाट राजिनामा दिएका मस्कले पेरिस सम्झौतामा पुनः जोडिने बाइडनको निर्णयको स्वागत नगर्नुलाई अनौठो मानिएको छ ।
रोचक त के भने फेसबुकका सीईओले नयाँ अमेरिकी राष्ट्रपतिलाई बधाई नदिइरहेको बेला फेसबुककी सिओओ शेरिल स्याण्डबर्गले चाहिँ नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसलाई अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनेको भन्दै भावुक शब्दमा बधाई दिएकी छिन् । तर उनले बाइडनलाई भने बधाई दिएकी छैनन् ।
–एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4