Comments Add Comment

सिद्धान्तकाे अर्धशतक र मिनासकाे ५ विकेटमा प्रदेश १ विजयी

९ माघ, काठमाडौं । कप्तान सिद्धान्त लाेहनीकाे अर्धशतक अनि मिनासले थापाकाे ५ विकेटपछि प्रदेश १ ले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेकाे छ ।

समूह ए मा रहेकाे प्रदेश १ यसअघिका तीन खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिसकेकाे थियाे । अन्तिम खेल जित्दै प्रदेश १ ले प्रतियाेगितामा सुखद अन्त्य गरेकाे छ ।

कप्तान सिद्धान्त लोहनीको अर्धशतक मद्दतमा प्रदेश १ ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरी  ५० ओभर खेल्दै ९ विकेट गुमाएर २१५ रन बनाएको थियाे ।

जवाफी ब्याटिङ गरेको कर्णाली प्रदेश ३५ ओभरमा १५६ रनमा अलआउट भयाे । कर्णालीका लागि ओपनर विपिन रावलले ४७ र निशान रावलले ३१ रन बनाए ।

कर्णालीलाई अलआउट गर्न प्रदेश १ का मिनास थापाले १० ओभरमा २ मेडन राख्दै २६ रन खर्चेर ५ विकेट लिए । यस्तै दिपेश कँडेलले ३ र मनाेज तामाङले २ विकेट लिए ।

त्यसअघि प्रदेश १ का लागि कप्तान लोहनीले सर्वाधिक ६६ र बनाए । उनले ९७ बल खेल्दै ९ चौका प्रहार गरे । यस्तै शुभांकर उराउले ३६ र मिनास थापाले २५ रन जोडे । श्रवण यादव र फिर्दोस अन्सारीले समान १७ र राजन मगरले १० रन बनाए ।

बलिङमा कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३ तथा दिनेश अधिकारी र अनुज चुनाराले समान २ विकेट लिए । ४ खेल खेल्दा प्रदेश १ ले एक खेल जित्दै २ अंक मात्र जाेड्याे ।

यस्तै कर्णालीले ३ खेल खेल्दा २ खेलमा हार व्यहोरेको छ र उसले २ अंकमात्र जोडेको छ । कर्णालीकाे हारपछि तीन खेल जित्दै ६ अंक जाेडेर शीर्ष स्थानमा रहेकाे त्रिभुवन आर्मी एक खेल अगावै सेमिफाइनल पुगेकाे छ ।

समूह ए मा अब एपीएफले कर्णाली प्रदेशसंग र आर्मीसंग खेल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment