Comments Add Comment

साताको सेयर बजार : निराश बने बैंकिङ समूहका लगानीकर्ता

छोटेलाल रौनियार भन्छन्- अब बैंकमा तहल्का मच्चिनेवाला छ

९ माघ, काठमाडौं । माघ महिनाको पहिलो साता समग्रमा सेयर बजार उकालो लागेको छ । सेयर कारोबार सार्वजनिक बिदा बाहेक सातामा ५ दिन खुला रहन्छ । माघको पहिलो साता पाँचै दिन कारोबार भएको छ ।

पाँच दिनको कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक ५३ अंकले वृद्धि भएको छ । गत आइतबार नेप्से परिसूचक २ हजार ३ सय १५ अंक रहेको थियो । सोमबार परिसूचक बढेर २ हजार ३ सय ३२ दशमलव ४७ अंकमा पुग्यो । तर मंगलबार भने सेयर बजार घट्दा नेप्से परिसूचक २ हजार ३ सय २६ दशमलव ९० अंकमा झर्‍यो ।

बुधबार भने पुनः बजार बढेर २ हजार ३ सय ४२ दशमलव ७७ अंकमा उक्लियो । यो क्रम साताको अन्तिम कारोबार बिहीबार पनि जारी नै रहृयो । बिहीबार नेप्से परिसूचक बढेर २ हजार ३ सय ६८ दशमलव २१ अंकमा पुगेर रोकिएको छ ।

सबै समूहमा चम्किँदा बैंकिङ भने घट्यो

नेप्सेमा कारोबार हुने १२ समूहमध्ये अधिकांशको सब-इन्डेक्स (समूहगत परिसूचक) उकालो लागेका छन् । लघुवित्त, बिमा तथा व्यापार समूहको परिसूचक चम्किँदा बैंकिङ र उत्पादनमूलक भने ओरालो लागेका छन् ।

साताको पहिलो दिन आइतबार २७५३ दशमलव ३१ अंकमा रहेको नेप्से परिसूचक साताको अन्तिम कारोबार पछि २ हजार ९ सय ६७ ५२ मा पुगेको छ । जीवन बिमा समूह त अझ करिब २ हजार अंकले नै वृद्धि भएर रेकर्ड नै कायम भएको छ । १४ हजार ८ सय ७५ अंकमा रहेको जीवन बिमा समूह बिहीबारको कारोबार पछि १६ हजार ३ सय ६४ दशमलव ६२ अंकमा पुगेको छ ।

अर्को लघुवित्त समूह पनि ३ हजार ७ सय ३३ दशमलव ४० बाट बढेर ४ हजार ८ दशमलव ४५ अंकमा पुगेको छ । जलविद्युत्, विकास बैंक, लगायतका समूहहरु समेत बढ्दा बैंकिङ समूह भने सातामा ११.५० अंकले घटेको छ । आइतबार १ हजार ७ सय ३५ दशमलव ५७ मा रहेको बैंकिङ परिसूचक सोमबार झिनो अंकले वृद्धि भएर १ हजार ७ सय ३८ दशमलव ३८ मा पुग्यो ।

तर यसको वृद्धि २ दिन पनि टिक्न सकेन । मंगलबार नै ८ अंकले घटेर १ हजार ७ सय ३० दशमलव ३२ अंकमा झर्यो । यो क्रम बुधबार र बिहीबार पनि जारी नै रहृयो । बुधबार बैंकिङ परिसूचक ३ अंकले र बिहीबार पनि ३ अंकले नै घटेर १ हजार ७ सय २४ दशमलव ०६ मा आइपुगेको छ ।

निराश बने बैंकका लगानीकर्ता

बजार राम्रै सुधार हुँदा पनि आफ्नो लगानी रहेको क्षेत्र भने ओरालो लाग्दा बैंकिङ क्षेत्रका लगानीकर्ता निराश बनेका छन् । सबै क्षेत्र बढ्दा बैंकिङ चाहिँ किन घट्यो त भन्ने विषयमा विश्लेषकदेखि लगानीकर्तासम्म अचम्ममा छन् । सेयर विश्लेषक तथा पू्र्व बैंकर अनलराज भट्टराई अहिलेको बजार देखेर आफैं छक्क परेको सुनाउँछन् । अहिले बैंकिङ क्षेत्र घट्ने र अरु बढ्नुपर्ने खास कुनै कारण नरहेको उनले बताए ।

नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेल बढ्नुपर्ने समूह नबढेको बताउँछन् । यो साता बैंकिङ समूह नबढे पनि आगामी दिनमा भने वृद्धि हुने उनले बताए । बजारलाई नकरात्मक भने अहिले हुने सम्भावना नरहेको उनी बताउँछन् ।

बजारमा मूल्य बढाउनमा माग र आपूर्तिकै विषय भएको भए पनि सप्लाई बढी भएका कम्पनीहरुको जति बढ्नु पर्ने थियो, त्यो अनुसार सेयर मूल्य बढ्न नसकेकेा उनले बताए । तर अहिले बैंकिङ समूह घट्नुको कुनै त्यस्तो खास कारण भने नभएको उनले बताए ।

‘बैंकिङ क्षेत्र उचालिन्छ’

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार अहिले बैंकिङ इन्डेक्स घट्नुपर्ने कुनै खास कारण नरहेको बताउँछन् । तर पछिल्लो समय लगानीकर्ताहरु जलविद्युत, लघुवित्त र बिमा समूह तिर जादा बैंकिङ क्षेत्रमा थोरै असर परेको उनले बताए ।

तर अब चाडै नै बेंकिङ क्षेत्रमा तहल्का नै मच्चिनेवाला रहेको उनले बताए । ‘अहिले थोरै इक्डेक्स घट्यो भनेर आत्तिनु पर्दैन, बैंकिङ क्षेत्र बुल हुने नै हो’ अध्यक्ष रौनियारले भने, ‘अब मर्जरको पनि चर्चा छ, यसले बैंकिङ क्षेत्रमा तहल्का मच्चिनेवाला छ ।’ अहिले घट्यो भनेर आत्तिनुपर्ने आवश्यकता नै नरहेको उनले बताए । चाडैं बैंकिङ क्षेत्र माथि चढ्ने उनको दावी छ ।

बैंकहरुको धमाधम दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुन थालेको भन्दै उनले यसले पनि माथि लैजाने बताए । अहिले लगानी गर्ने अवसर नै भएको उनको भनाई छ । ‘राम्रो रिपोर्ट आएको छ, यो त लगानी गर्ने अवसर हो’ उनले भने, ‘अरु सेक्टर जस्तो होइन, हृवाहृवाती बढ्ने अहिले होइन, अब बैंकिङ क्षेत्रमा बुल आउँछ ।’

यसका धेरै कारणहरु रहेको उनको भनाइ छ । उनका अनुसार बैंकिङ क्षेत्र राम्रो हुने मूख्य दुई कारणहरु रहेका छन् । पहिलो- वित्तीय विवरण, र दोस्रो- मर्जर । ‘दोस्रो त्रैमासको राम्रो रिपोर्ट आउदैछन्, मर्जरमा जाने कुराहर आइरहेका छन्’ उनले भने, ‘मर्जबाट लगानीकर्ताहरुलाई फाइदा हुन्छ, बजार त बढ्ने नै भयो नि ।’

३ करोड बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साता करिब तीन करोड बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा यस साता एनआइसी एशिया बैंक र बैंक अफ काठमाण्डूको २ करोड ९५ लाख बराबरको बोनस शेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार यसै साता एनआईसी एसिया बैंक लिमिटेडको एक करोड ८४ लाख ६३ हजार ५ सय ३७ दशमलव ९८ कित्ता र बैंक अफ काठमाण्डू लिमिटेडको एक करोड ११ लाख १२ हजार ८ सय ९० कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment