Comments Add Comment

सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारबाहीमा

१० माघ, टीकापुर । सुदूरपश्चिम प्रदेशमा ६ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारबाहीमा परेका छन् ।

चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३९ हजार ३९३ सवारी साधन कारबाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्कअनुसार छ महिनामा सबैभन्दा बढी १४ हजार ७८५ मोटरसाइकल, नौ हजार ६३५ जीप र कार, छ हजार ५६० ट्रक, छ हजार ५४ ट्र्याक्टर, एक हजार २२६ बस र एक हजार १३३ अन्य सवारी साधन कारबाहीमा परेका छन् ।

६ महिनाको अवधिमा सबैभन्दा बढी मङ्सिर महिनामा आठ हजार ३४० र कम भदौमा तीन हजार ५५६ सवारी साधन कारवाहीमा परेका छन् ।

कारबाहीमा परेका सवारी साधनबाट रु दुई करोड २८ लाख ६७ हजार ५०० राजस्व सङ्कलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरीक्षक मोहनबहादुर साउँदले जानकारी दिए ।

‘अघिल्लो आवको छ महिनामा ३५ हजार ९६१ सवारी साधन कारवाहीमा पर्दा रु दुई करोड ११ लाख ७१ हजार ५०० राजस्व सङ्कलन भएको थियो’, प्रहरी निरीक्षक साउँदले भने, ‘अघिल्लो आवको तुलनामा यस वर्षको छ महिनामा तीन हजार ४३२ सवारी साधन बढी कारवाहीमा परेका छन् । जसमा गत वर्षभन्दा रु १६ लाख ९६ हजार राजस्व वढी सङ्कलन भएको देखिन्छ ।’

यस वर्ष ट्राफिक नियम बढी उल्लङ्घन भएका र नयाँ प्रविधिको प्रयोगले सवारी साधन बढी कारवाहीमा परेका प्रवक्ता साउँदको भनाइ छ ।

सुदूरपश्चिममा यस वर्षको छ महिनामा ३३४ सवारी दुर्घटना भएका छन् । तीन सय ३४ दुर्घटना हुँदा ४२७ सवारी साधनमा क्षति भएको छ भने ९९ को ज्यान गएको छ । यो अवधिमा ३२० गम्भीर र २९० सामान्य घाइते भएका छन् ।

ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आवको छ महिनामा १३६ सवारी दुर्घटना भएका थिए ।

१३६ दुर्घटना हुँदा १९६ सवारी साधनमा क्षति भएको थियो भने ६९ को ज्यान गएको थियो ।

अघिल्लो आवको छ महिनाको तथ्याङ्क हेर्दा चालु आवमा सवारी दुर्घटनासमेत बढेको तथ्याङ्क छ ।

सडकको अवस्था र तीव्र गतिका कारण सवारी दुर्घटना बढिरहेको र दुर्घटनामा कमी ल्याउन सबै पक्ष सचेत हुन आवश्यक रहेको प्रहरीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment