Comments Add Comment

विश्वभर जाँदैछ चीनको खोप, नेपालमा आउला ?

११ माघ, काठमाडौं । विश्वका धेरै मुलुकमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप कार्यक्रम सुरु भइसकेको छ । दर्जनौ मुलुकले खोप ल्याउने योजना बनाइरहेका छन् । यतिबेला विश्वभर नै कोरोना खोपको माग उच्च छ ।

यसबीच चिनियाँ कम्पनीले निर्माण गरेका खोपको माग पनि विश्वभर बढ्दै गएको छ । अनि चिनियाँ कम्पनीले निर्माण गरेको खोपले पनि विश्वभर विश्वास जित्न थालिसकेको छ ।

अहिले चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना खोपको प्रयोग फिलिपिन्स, इन्डोनेसिया र टर्कीमा भइरहेको छ भने ब्राजिलले पनि यो खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । त्यस्तै अर्को चिनियाँ कम्पनी सिनोर्फमले बहराइन, यूएई, इजिप्ट, हंगेरीलगायत मुलुकमा सम्झौता गरिसकेको छ ।

तर नेपालमा भने चिनियाँ खोप ल्याउने सम्बन्धमा कुनै पनि प्रगति भएको देखिँदैन । चिनियाँ कम्पनीले उत्पादन गरेका कुनै पनि खोपले अहिलेसम्म नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति पाएका छैनन् ।

भारतले नेपाललाई १० लाख खोप अनुदानमा उपलब्ध गराएको छ । कोरोनाको महामारी शुरु भएदेखि नै मास्कदेखि विभिन्न औषधी उपलब्ध गराउँदै आएको चीन खोपको सम्बन्धमा भने मौन छ ।

सरकारी अधिकारीहरुले पनि केही बोलेका छैनन् । भारतले खोप उपलब्ध गराएको भोलिपल्ट चिनियाँ अधिकारीहरुले नेपालमा आपत्कालीन प्रयोगका लागि पूरा गर्नुपर्ने आवश्यक कागजात र प्रक्रियाबारे मन्त्रालयसँग परामर्श चाहिँ गरेका छन् ।

अन्य देशहरुले भने चिनियाँ कम्पनीले निर्माण गरेको खोप किन्ने प्रक्रिया अगाडि बढाएका छन् । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार सर्वियाका राष्ट्रपति एलेक्सेन्डर भुकिकले पनि आफूले सिनोर्फमले विकास गरेको कोरोना खोप लिने बताएका छन् ।

अमेरिका, बेलायत र रुसबाट समेत कोरोना खोप मुलुकमा ल्याइएसकेको सर्वियाका राष्ट्रपतिले यति विश्वास गर्नुले पछिल्लो समय चिनियाँ खोपको स्वीकार्यता बढेको देखाउँछ ।

कोरोना महामारी नियन्त्रणको लागि चिनियाँ कम्पनीले विकास गरेको खोप विश्वका सबै मानिसको सार्वजनिक सम्पत्ति हुने चिनियाँ शीर्ष अधिकारीहरुले यसअघि नै बताइसकेका छन् । यस्तोमा विश्वको महामारी नियन्त्रणको प्रमुख भूमिकामा आउने अवसर पनि चिनियाँ कम्पनीले पाएको विश्लेषकहरुको भनाइ छ ।

बढ्दो विश्वास

खोप परीक्षणको स्पष्ट रुपमा नतिजा सार्वजनिक नगरेको भन्दै चिनियाँ खोपबारे विभिन्न मुलुकमा आशंका पनि व्यक्त गरिएको छ । त्यसमाथि पनि चीन यसअघि नै विभिन्न खोपको मुद्दामा अल्झिएको मुलुक हो । त्यसैले पनि चिनियाँ खोपमा आशंका बढेको थियो । तर, पछिल्लो केही समयमा भने चिनियाँ खोपमा मानिसहरुको विश्वास बढ्दो क्रममा रहेको पाइएको छ ।

ग्लोबल टाइम्सका अनुसार अहिलेसम्म विश्वका २० भन्दा धेरै मुलुकहरुले चिनियाँ कम्पनीले विकास गरेको खोप अर्डर गरिसकेका छन् । केही मुलुकहरुले अहिले चिनियाँ कम्पनीसँग खोप खरिदको विषयमा छलफल पनि गरिरहेका छन् ।

विश्वका धेरै मुलुकले चीनको कोरोना खोपमा बढाएको विश्वासलाई चिनियाँ सञ्चारमाध्यमहरुले पनि उत्साहप्रद भएको बताएका छन् । इन्डोनेसियाका राष्ट्रपति जोको बिडोडोले केही दिनअघि मात्र चिनियाँ खोप निकै सुरक्षित रहेको बताउँदै उक्त खोप लिएका थिए । त्यस्तै टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले पनि चिनियाँ खोपको प्रशंसा गर्दै आएका छन् ।

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले चिनियाँ खोपको विरोध तथा आलोचना गर्दै आएका थिए । तर, ब्राजिलको स्वास्थ्य नियामकले भने मुलुकमा चिनियाँ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

आशंका

चिनियाँ कम्पनीहरुले निर्माण गरेको खोप विवादरहित भने छैनन् । फरक-फरक मुलुकमा गरिएको परीक्षणमा फरक-फरक नतिजा आएको कारण पनि चिनियाँ कम्पनीको खोपबारे आशंका बढेको हो ।

सिनोभ्याकले विकास गरेको कोरोना खोपको परीक्षण ब्राजिलमा गर्दा यो खोप ५०.४ प्रतिशत प्रभावकारी पाइएको थियो । यो प्रभावकारिता अनुमति पाउन आवश्यक हुनेभन्दा केही मात्र बढी हो । यसअघि चीनले भने यो खोप ७८ प्रतिशत प्रभावकारी रहेको बताएको थियो । यसअघि टर्कीले भने यो खोप आफ्नो मुलुकमा गरिएको परीक्षणमा ९१.२५ प्रतिशत प्रभावकारी देखिएको बताएको थियो । इन्डोनेसियाले भने यो खोप ६६.३ प्रतिशत प्रभावकारी रहेको बताएको थियो । फरक-फरक मुलुकमा देखिएको फरक-फरक प्रभावकारिताको नतिजाले सिनोभ्याकको खोपमा आशंका बढेको हो ।

अर्को चिनियाँ कम्पनी सिनोर्फमको कोरानेा खोपमा भने यूएईमा परीक्षणको क्रममा ८६ प्रतिशत प्रभावकारी रहेको बताएको थियो । तर, चीनले भने यो खोप ८० प्रतिशत प्रभावकारी भएको बताएको थियो । सिनोर्फमको खोपको प्रभावकारिताबारे दिइएको जानकारी पनि एकनासको छैन ।

किन बढ्दैछ चिनियाँ खोपको माग ?

अहिले अमेरिका र बेलायती कम्पनीहरुले बनाएको कोरोना खोप सबैभन्दा धेरै प्रभावकारी पाइएको छ । तर, पनि धेरै मुलुकहरु चिनियाँ खोपमा आकषिर्त हुनुको एक कारण सहजता हो ।

चिनियाँ खोप दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा भण्डारण गरेर राख्न सकिने किसिमका छन् । जसका कारण यसअघि रहेकै संरचनामा धेरै मुलुकले यो खोपको प्रयोग गर्न सक्छन् । जबकी अमेरिकी कम्पनी फाइजरले बनाएको खोपलाई माइनस ७० डिग्री सेल्सियसभन्दा कम तापक्रम चाहिन्छ भने मोडर्नाको खोपलाई माइनस २० डिग्री सेल्सियस तापक्रम आवश्यक हुन्छ ।

चिनियाँ खोपको माग बढ्नुको अर्को कारण विश्वव्यापीरुपमा फैलिएको महामारी पनि हो । महामारी विश्वभर फैलिएको कारण पश्चिमा मुलुकको खोपले मात्र यो महामारी नियन्त्रणमा आउन नसक्ने देखिएको छ । साथै पश्चिमा कम्पनीले बनाएको खोप यसअघि नै धेरै मुलुकले किनिसकेको र महँगो पनि भएकाले त्यसको विकल्पको खोजीमा चिनियाँ खोपमा धेरैको आकर्षण देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment