Comments Add Comment

केपी ओली माओवादी जनयुद्धप्रति सकारात्मक भएकै हुन् त ?

वर्षमान पुन भन्छन्- ओलीजी फेरि 'ढेडु बाँदर' लाई राखेर घर बनाउनतिर लाग्नुभयो !

पूर्व लडकाुसँग छलफल गर्दै केपी ओली ।

११ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहलाई विगतदेखि नै माओवादी जनयुद्धप्रति आक्रमक र कठोर मानिँदै आएको थियो । नेकपा विभाजनपछि त उनी माओवादीप्रति झनै आक्रामक बन्लान् भन्ने धेरैको अनुमान थियो । किनभने, ओली समूहका नेता-कार्यकर्ताले माओवादी नेताहरुलाई जंगली, बाँदर, १७ हजार मानिसका हत्यारा, हिंस्रक आदि उपमाहरु दिने गरेका थिए ।

तर, पुसको पहिलो साता नेकपाको विभाजन भएयता केपी ओलीले दुईवटा विषयमा सम्झौता गरेका छन् । एउटा- माओवादी आन्दोलन र जनयुद्धप्रति नरम हुन खोज्ने । र, दोस्रो- पार्टी विभाजनयता जनताको बहुदलीय जनवाद (जबज) लाई नै अब पार्टीको नीति बनाइने भनेर स्पष्ट नभन्ने । मदन भण्डारीका योगदानहरुको उच्चारण गरे पनि ‘जनताको जनवाद’ लाई नै पार्टीको नीति बताउने ।

अझ रोचक त के छ भने कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा ज्यान मुद्दा खेपिरहेका पूर्वलडाकू कमाण्डर कालीबहादुर खामलाई समेत बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले उनलाई आफूले संरक्षण गर्ने बताएका छन् ।
यसैवीच, शनिबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी जनयुद्धका केही पूर्वलडाकूहरुलाई बोलाएर छलफल गरे । स्रोतका अनुसार सो छलफलमा ओलीले पूर्वलडाकूहरुलाई भनेका थिए,’जनयुद्धको अवधिमा तपाईहरुको योगदान त्याग, बलिदान र क्रान्तिको सपनाप्रति हाम्रो सम्मान छ ।’

यो पनि – प्रधानमन्त्री ओलीले गरे पूर्व लडाकूहरुसँग छलफल

ओलीजी सस्तो लोकपि्रयताका लागि, सामान्य सहानुभूति बटुल्नका लागि मात्रै माओवादी आन्दोलनप्रति नरमजस्तो देखिनुभएको हो, उहाँ माओवादी जनयुद्धप्रति कहिल्यै पनि सकारात्मक होइन- वर्षमान पुन

प्रधानमन्त्री ओलीको यो भनाइले उनी १० वर्षे माओवादी जनयुद्ध र त्यसको अगुवाई गर्नेहरुप्रति सम्झौता गर्न चाहेजस्तो देखिएको छ । ओलीले माओवादी जनयुद्धलाई हत्या, हिंसा वा आतंकका रुपमा नभई ‘त्याग, बलिदान र क्रान्ति’का रुपमा व्याख्या गर्दै बालुवाटारमा शनिबार उनले दिएको अभिव्यक्तिबाट उनी जनयुद्धप्रति सकारात्मक बनेका हुन् कि भन्ने प्रश्न पैदा भएको छ ।

यतिसम्म कि उनी कालीबहादुर खामलाई समेत संरक्षण गर्ने ठाउँमा आइपुगेका छन् ।

त्यसो त प्रधानमन्त्री ओलीले आफू कामचलाऊ बनिसकेको अवस्थामा पुनर्गठन गरेको मन्त्रिपरिषदमा पनि पूर्वएमालेका त्यागी नेताहरुको साटो माओवादीबाट आएका मानिसहरुलाई प्राथमिकता दिएर माओवादीप्रति सम्झौतावादी नीति लिएका छन् ।

रामबहादुर थापा बादल पहिले नै गृहमन्त्री छँदैथिए, त्यसमा टोपबहादुर रायमाझी, मणि थापा, गौरीशंकर चौधरी, प्रभु साह, दावा लामा आदि पूर्वमाओवादी नेताहरुलाई ओलीले आफ्नो क्याबिनेटमा समेटे । ओलीले आफ्नै समूहका पुराना नेता छविलाल विश्वकर्मा, राजेन्द्र राई, घनश्याम खतिवडा, राजेन्द्र गौतम आदि नेताहरुलाई सम्झेनन् ।

ओलीले माओवादीसँग सम्झौतापरस्त नीति लिएका कारण त्यसैको प्रतिविम्वन स्वरुप उनले सार्वजनिक भाषणहरुमा जबजबारे खुलेर वकालत गरेका छ्रैनन् । मदन भण्डारीका योगदानहरुको चर्चा गरे पनि उनले अबको बाटो जबज नै हो भनेर किटानी गरेका छ्रैनन् । विशेष गरी माओवादीहरु नचिढिउन् भनेर उनले जबजको खुल्ला वकालत नगरेको नेताहरु बताउँछन् ।

शुक्रबार काठमाडौंमा आयोजित सभामा नेकपाको अर्को समूहका अध्यक्ष प्रचण्डले केपी ओलीमाथि आलोचना गर्दै जनयुद्धका घाइते र अपाङ्गहरुप्रति ओली सरकारले बेवास्ता गरेको आरोप लगाएका थिए । त्यसैको काउन्टरमा ओलीले शनिबार बालुवाटारमा पूर्व लडाकूहरुसँग भेट गरे भने आइतबार राष्ट्रिय सभागृहमा अपांगता भएका व्यक्ति र संस्थाहरुसँग छलफलको आयोजना गरेका छन् । ओली सरकारले अपाङ्गता भएका व्यक्ति एवं जनयुद्धका घाइतेहरुको भत्ता कटौती गरेको प्रचण्डले आरोप लगाएको भोलिपल्ट ओलीले यस्तो छलफल आयोजना गरेका हुन् ।

यो पनि

वर्षमान पुन भन्छन्- ओलीजी फेरि ‘ढेडु बाँदर’ लाई राखेर घर बनाउनतिर लाग्नुभयो !

पूर्वजनमुक्ति सेनाका डेपुटी कमाण्डरसमेत रहेका नेकपा नेता वर्षमान पुन भने जनयुद्धप्रति केपी ओली कहिल्यै सरकारात्मक नरहेको बताउँछन् । माओवादीलाई बाँदरको संज्ञा दिने ओली अहिले तिनैलाई साथ लिएर घर बनाउनेतिर लागेको भन्दै पूर्वमन्त्री पुनले कटाक्ष गरे ।

केपी ओली माओवादी जनयुद्धप्रति नरम भएकै हुन् त ? अनलाइनबरको प्रश्नमा नेता पुनले यस्तो प्रतिक्रिया दिए –

ओलीजी कहिल्यै पनि जनयुद्धप्रति सकारात्मक हुनुहुन्थेन । उहाँले सुरुदेखि नै जनयुद्धको विरोध गरेर आफ्नो राजनीति गर्नुभयो । अहिले पार्टीमा समस्या आएपछि पनि उहाँले दुईवटा कुरा भन्नुभएको छ –

एउटा– माओवादी आन्दोलन कुहिएको फर्सी हो । यस अर्थमा उहाँतिर जाने बादल र टोपबहादुरजीहरु पनि उहाँको विश्लेषणमा कुहिएका फर्सी हुन् । एउटा फर्सी कुहियो भने लगत्तै अरु फर्सी पनि कुहिन्छन् । यदि बादल र टोपबहादुर कुहिएका फर्सी हुन् भने अब केपी ओली पनि कुहिनुहुन्छ ।

दोस्रो– उहाँले माओवादीलाई व्यंग्य गर्दै के भन्नुभएको छ भने बाँदरहरुलाई ल्याएर घर बनाउने कोसिस गरें, तर बाँदर आखिर बाँदरै रहेछन् । त्यसो हो भने हिजो बालुवाटारमा उहाँले भेला गरेका साना बाँदरहरु होलान् । बादल र टोपबहादुर ठूला बाँदरहरु होलान् । ढेडु बाँदरहरुलाई राखेर उहाँ फेरि घर बनाउनतिर लाग्नुभएको छ ।

त्यसैले, ओलीजी सस्तो लोकपि्रयताका लागि, सामान्य सहानुभूति बटुल्नका लागि मात्रै माओवादी आन्दोलनप्रति नरमजस्तो देखिनुभएको हो, उहाँ माओवादी जनयुद्धप्रति कहिल्यै पनि सकारात्मक होइन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment