Comments Add Comment

महिला लिग : विमलाकाे ह्याट्रिकमा आर्मीकाे पहिलाे जित

११ माघ, काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएकाे खेलमा विमला चाैधरीकाे ह्याट्रिक मद्दत वालिङ नगरपालिकालाई ७-०ले पराजित गरेकाे हाे ।

आर्मीका लागि दीपा राई, शर्मिला थापा, भुजुङ्गा राई र हेमा चौधरीले एक एक गोल गरेका थिए ।

तीन विदेशी खेलाडीसहित मैदान उत्रिएपनि वालिङले गाेल गर्न सकेन ।

१४ औं मिनेटमा विमला चौधरीले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । २८ औं मिनेटमा दीपाले आर्मीले अग्रता दोब्बर पारिन् ।

४४ औं मिनेटमा शर्मिलाले गोल गर्दा आर्मी पहिलो हाफमा ३-० काे अग्रता लियाे । दोस्रो हाफमा पनि आर्मीले चार गाेल थप्याे ।

खेलको ६६ औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले ४-० को अग्रता बनायाे । विमलाले ७५ औं मिनेटमा ह्याट्रिक पुरा गरिन् ।

८९ औं मिनेटमा हेमाले र खेलको इन्जुरी समयमा भुजुङ्गाले गोल गर्दै आर्मीलाई ७-० को फराकिलाे जित दिलाईन् ।

पहिलाे जितपछि आर्मीले २ खेलमा ४ अंक जोडेको छ । आर्मीले पहिलो खेलमा पुलिस क्लबसँग गोलरहित बराबरी खेलेकाे थियाे ।

पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १-१ गोलको बराबरी खेलेको वालिङकाे याे पहिलाे हार हाे । वालिङले २ खेलमा १ अंक जोडेको छ

आर्मीका प्रशिक्षक राजु तामाङले अट्याकिङ थर्डमा राम्राे खेलेकाे र शुरुमै गाेल हुँदा जित सहज भएकाे बताए । टिममा अझै सुधार गर्नुपर्ने ठाउँ रहेकाे उनले बताए ।

यस्तै वालिङका प्रशिक्षक दीलिप थापाले विदेशी खेलाडी भएपनि अझै तालमेल राम्राे नमिलेकाे बताए । उनले एकजना वपदेशी खेलाडी ट्रेनिङमा घाईते भएकाेले आज नखेलेकाे बताए । विदेशी खेलाडी टेक्निकल्ली राम्राे रहेकाे र उनीहरुबाट सिक्न सकिने दीलिपले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment