Comments Add Comment

‘दुई जुनी’ बिताएका देवेन्द्रराज पाण्डे

१२ माघ, काठमाडौं । काठमाडौंको आम मध्यमवर्गीय परिवारमा जन्मे-हुर्केका र २०१७ सालमा अधिकृतबाट सरकारी सेवा प्रवेश गरेका देवेन्द्रराज पाण्डे अर्थ-सचिवसम्म भए । जागिर सुरु गरेको १८ वर्षमै अर्थ मन्त्रालयको सचिव बनेपछि उनले आफ्नो बाहुबलले भ्याएका सुधारका काम गर्न खोजे ।

तर, राजनीतिक परिवेशको जटिलताले अनि देशप्रतिको निष्ठा जोगाउने कर्तव्यले जनमत सङ्ग्रहका बेला उनले राजीनामा दिए । ८१ वर्षीय पाण्डेले आफ्नो पहिलो जुनी त्यही ४० वर्षे उमेरखण्डलाई मानेका छन् ।

दरबार, पञ्चायत र तत्कालीन निजामती प्रशासनका भित्री-बाहिरी पाटा पाइने यो कालखण्डमा पञ्चायती सत्ता सञ्चालनका उज्याला-अँध्यारा अनुभूति लेखिएका छन् । त्यतिबेला सामान्य अर्थमा उनी एक कर्मचारीमात्र थिए । आज्ञापालक बढी थिए । सरकारी सेवाप्रवाह कस्तो हुने रहेछ अभ्यास गर्दै थिए ।

दोस्रो जुनीमा, पाण्डे काठमाडौं मानसिकताबाट बाहिर निस्केर नेपाली समाजसँग संवाद गर्दै निरन्तर प्रगतिशील भूमिकामा रहे । जहाँ उनले एकजना लोकतान्त्रिक समाजवादी, मानवअधिकारवादी र नागरिक आन्दोलनका अगुवाका रूपमा देशको अवस्था बुझ्न पाए ।

आफू सडकमा आएर अरुलाई पनि सडकमा ल्याएर परिवर्तनलाई सम्भव बनाए । एक निर्भीक नागरिक भई नागरिक समाजलाई बल दिए । २०३६ पछिका दिनलाई उनी दोस्रो जुनी मान्छन् । २०४८ पछि उनी मानवअधिकार, भष्ट्राचार निवारण, नागरिक अधिकार र लोकतन्त्रको क्षेत्रमा निरन्तर सक्रिय रहे ।

आज नागरिक अभियन्ताको रुपमा सम्मानित बनेका पाण्डेको जन्म १९९६ भदौमा काठमाडौंमा भएको हो । खगेन्द्रराज पाण्डेका सुपुत्र देवेन्द्रराजका पुर्खा राणा शासनकै समयमा उपल्लो तहकोे कर्मचारीको रुपमा काम गर्थे । उनी पनि २०१७ साल चैतमा कलिलो उमेरमै तत्कालीन श्री ५ को सरकारको निजामती सेवाअन्तर्गत शाखा अधिकृत पदमा सरकारी सेवामा प्रवेश गरे ।

स्पष्टवादी स्वभावका पाण्डेले २०३६ साल फागुनमा अर्थ-सचिवबाट स्वेच्छाले राजीनामा दिए । २०४८ को कृष्णप्रसाद भट्टराईको अन्तरिम सरकारमा अर्थमन्त्रीसमेत भएका विशिष्ट बुद्धिजीवी तथा चिन्तनशील लेखक पाण्डेले २०१४ सालमा त्रिचन्द्र कलेजबाट बिए र २०१६ सालमा इलाहावाद विश्वविद्यालयबाट अर्थशास्त्रमा डिग्री हासिल गरेका छन् ।

संयुक्त राज्य अमेरिकाको पिट्सवर्ग विश्वविद्यालयबाट २०२० सालमा आर्थिक विकास मुख्य विषय लिई सार्वजनिक र अन्तर्राष्ट्रिय सम्बन्धमा मास्टर्स डिग्री (एमपीआईए) एवम् २०२५ सालमा सोही विश्वविद्यालयबाट सोही विषयमा पिएचडी (विद्यावारिधि) गरेका छन् । अभियन्तासँगै उनी अर्थशास्त्रीका रुपमा पनि उतिकै चिनिएका छन् ।

२०४८ पछि पाण्डेले स्वतन्त्र चिन्तक, मानवअधिकारकर्मी र नागरिक आन्दोलनका अभियन्ता बनेर सक्रिय जीवन बताइरहेका छन् । अहिले भइरहेको ओली सरकारको प्रतिगमनको विरोधमा ८१ वर्षीय पाण्डेले निरन्तर बोल्दै-लेख्दै आएका छन् ।

उनै नागरिक आन्दोलनका अग्रणी देवेन्द्रराज पाण्डेले ८० वर्षे जीवन-अनुभव समेटेको आफ्नो आत्मकथा ‘एक ज्यान दुई जुनी’ बजारमा ल्याएका छन् ।

फाइनपि्रन्टले प्रकाशनमा ल्याएको आत्मकथा आइतबार एक भर्चुअल माध्यमबाट सार्वजनिक गरियो । कोभिड जोखिमको ख्याल गर्दै पुस्तकको विमर्श भर्चुअल रुपमै गरिएको बताइएको छ ।

लोकार्पण कार्यक्रममा बोल्दै लेखक खगेन्द्र संग्रौलाले पाण्डे इमानदार, निष्ठावान् र पारदर्शी चरित्रको व्यक्ति भएको बताए । पाण्डेको निष्ठाजान् जीवनको प्रशंसा गर्दै संग्रौलाले भने, ‘लोकतन्त्र, गणतन्त्र र संघीयताको आन्दोलनमा सडक संघर्षकै माध्यमबाट संलग्न भई नागरिकको आवाजलाई बलियो बनाउनुभयो ।’

यता २०१७ सालपछिको ६० वर्षे सार्वजनिक जीवनमा अलग पहिचान बनाएका सक्रिय पाण्डेले पुस्तकमा आˆनो कार्यकालमा निर्वाह गर्नुपरेका भूमिकालाई समेटेको लेखक एवं विश्लेषक झलक सुवेदीले बताए । सुवेदीले भने, ‘आजको समयमा पनि विकास चिन्तन, वैदेशिक सहायता, विदेश सम्बन्ध र आफ्ना राष्ट्रिय स्वार्थहरूको प्रतिनिधित्व एउटा प्रशासकले कसरी गर्न सक्छ र गर्नुपर्छ भन्ने विषय यहाँ समेटिएको छ ।’

यस्तै लेखकको रुपमा बोल्दै पाण्डेले लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक निर्माण भएर लागू भइसकेपछि पनि यहाँको राजनीति र अर्थतन्त्रले फड्को नर्मादा आफूलाई सधैं विरक्त लाग्ने गरेको तीतो अनुभव बाँडे । ‘त्यसपछि आफ्नै जीवनलाई मैले र्फकेर हेरें, आखिर मैले पनि जीवनमा के गरें त ?’ पाण्डेले भने, ‘यसपछि आफ्नै आत्मसमीक्षा गर्नुपर्छ भन्ने लाग्यो । त्यसैले यो पुस्तक रचना हुने आधार बन्यो । कुनै एक रात म सुत्न नसकेको अवस्थामा यसको खाका तयार पारें । अनि बिस्तारै लेख्दै गएँ, मिलाउँदै गएँ । अन्ततः यो पुस्तकले साकार रूप लियो ।’

पाण्डेले पुस्तकको भूमिकामा उज्यालो सपना देख्ने युवाहरू आफ्नो पुस्तक समर्पण गरेको उल्लेख गर्नुका साथै न्यायपूर्ण र लोकतान्त्रिक समाजको जग बसाउन सबैले प्रयत्न गर्नुपर्ने आहृवान गरेका छन् । एघार खण्डमा विभाजित पुस्तकमा पाण्डेले आफ्नो व्यक्तिगत जीवनसँगै देश, समयको चित्रण पनि बराबरी गरेका छन् । राजनीति, समाज र व्यक्तिगत सेरोफेरोमा पाण्डेले आफ्नो जीवनाभूति पोखेका छन् । पञ्चायतकालीन प्रशासन, सरकार र सेवा प्रवाहको जीवन्त चित्रण पुस्तकको विशेषता हो ।

पुस्तकमा पाण्डेले आˆनो व्यक्तिगत जीवनबारे एकदमै कम, तर आफूले बाँचेको समय, आफूले गरेका काम, आफूले डोर्‍याएको नागरिक आन्दोलन आदिका विषयमा चर्चा गरेको प्रकाशक फाइनप्रिन्टका अजित बरालले बताए । ‘यो पुस्तक नेपाली समाज, राजनीति, इतिहास र अर्थतन्त्र चियाउने आँखीझ्याल हो,’ प्रकाशक बरालले भने ।

आत्मकथाको हार्ड कभर मूल्य ७४० रुपैयाँ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment