
१२ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा ए डिभिजन फुटसल लिग आगामी वर्ष वैशाखमा पोखरामा हुने भएको छ ।
एन्फाले वैशाख २५ देखि जेठ १५ सम्म पोखरामा फुटसल लिग आयोजना गर्ने जनाएको छ ।
एन्फा फुटसल कमिटीले गर्ने फुटसल लिगमा कुल १० टिमले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।
जसमा बागमती प्रदेशबाट ४ टिम तथा प्रदेश १ र गण्डकी प्रदेशबाट २-२ टिम सहभागी हुने छन् । यस्तै प्रदेश २ बाट एक टिम र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट संयुक्त एक टिम हुनेछ ।
फुटसल लिगका लागि प्रदेश १ को छनोट खेलहरु चैत १ देखि ५ सम्म इटहरीमा हुनेछ । प्रदेश २ को छनोट चैत ८ देखि १२ सम्म हेटौँडामा हुनेछ ।
यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको छनोट चैत १९ देखि २३ सम्म दाङमा हुनेछ । बागमतीको छनोट खेलहरु चैत २५ देखि ३० सम्म काठमाडौंमा हुनेछ ।
गण्डकीको छनोट खेलहरु बैशाख ३ देखि ७ सम्म पोखरामा हुनेछ ।
छनोट चरण पार गरेका १० टिमबीचको फाइनल राउण्डको लिग पोखराको बहुउदेशीय हलमा हुनेछ ।
लिगमा ए, बी र सी डिभिजन क्लब, जिल्ला संघमा आबद्द क्लब तथा राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध क्लबहरुले सहभागिता जनाउन पाउने एन्फाले जनाएको छ ।
फुटसल लिगको विजेताले नगद १० लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ५ लाख पाउनेछन् । व्यक्तिगततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेण्डर, कोच र इमर्जिङ खेलाडीले नगद २५-२५ हजार पाउनेछन् ।
एन्फाले सहभागी १० वटै टिमलाई तयारी स्वरुप १ लाख उपलब्ध गराउने जनाएको छ ।
प्रतिक्रिया 4