Comments Add Comment

पीएम कप क्रिकेटमा विभागीय टोलीकै दबदबा

धेरै रन बनाउने र विकेट लिनेमा बागमतीका खेलाडी

१३ माघ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरिरहेको चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह चरणका खेलहरु सकिएसँगै सेमिफाइनल समीकरण पूरा भइसकेको छ ।

अपेक्षा अनुसार नै साविक विजेता नेपाल पुलिस क्लबसहित तीन वटा विभागीय टिम सेमिफाइनल पुगेका छन् । यसअघिका तीन संस्करणमा पनि विभागीय टोली सेमिफाइनल पुगेका थिए । यसपटक पनि त्यसले निरन्तरता पायो ।

यस्तै सेमिफाइनल पुग्ने अर्को टोली बागमती प्रदेश रह्यो । बागमती गत संस्करणमा पनि अन्तिम चारमा पुगेको थियो र यस पटक पनि त्यसले निरन्तरता पाएको छ ।

तीन विभागीय टोली स्वभाविक रुपमा बलिया टोलीका रुपमा छन् । जसमा राष्ट्रिय टिममा सिनियर र जुनियर लेभलमा खेलिसकेका खेलाडीको बाहुल्य छ ।

प्रदेशका टोलीहरुमा भने स्थानीयस्तरमा खेल्ने खेलाडीहरु धेरै छन् । विभागबाहेक सिनियर टिममा खेलेका खेलाडी प्रदेशमा बिरलै थिए ।

कीर्तिमानी अलराउण्ड मेहबुब आलमले प्रदेश २ बाट खेलेका थिए भने सिद्धान्त लोहनीले प्रदेश १ को कप्तानी सम्हालेका थिए । यस्तै राष्ट्रिय टिमका वर्तमान र निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले बागमती प्रदेशबाट खेलेका छन् । पारस दुई खेल खेलेर टी-१० का लागि युएई गइसके । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका पृथु बास्कोटा र इशान पाण्डे पनि बागमती प्रदेशमै छन् ।

यस पटक क्यानले जिल्लास्तरदेखि प्रदेशस्तरको छनोट खेलाउँदै टिम तयार पार्न भनेको थियो र त्यहीअनुसार नै प्रदेशको टिम बनेका थिए । तर केही प्रदेशको छनोटमा राजनीति भएको भन्ने आवाजसमेत उठेको थियो ।

यतिसम्मकी पीएम कप खेलेकाबाहेक अरु राम्रा खेलाडीहरु पनि प्रदेशमा रहेका र उनीहरु छनोट नभएको भन्दै आलोचना समेत भएको छ । बागमतीबाहेक अन्य प्रदेशका टिम समूह चरणबाटै बाहिरिए पनि केही खेलाडीहरुले आशालाग्दो प्रदर्शन गरेका छन् । यस्तै नयाँ युवा खेलाडीहरुले पनि पीएम कपबाट राष्ट्रिय प्रतियोगितामा डेब्यु गर्दै आफ्नो खेल देखाउने अवसर पाए ।

जे होस् अपेक्षाअनुसार र समूह चरण सकिँदा विभागीय टिम नै सेमिफाइनल पुगेका छन् । जसमा एपीएफ समूह ‘ए’ को चार खेल्दै अपराजित रहेर समूह विजेता बन्यो । समूह ‘ए’ मा एपीएफसँग पराजित भएको आर्मी समूह उपविजेता बन्यो ।

उता समूह ‘बी’ मा भने बागमती प्रदेश अपराजित रहँदै समूह विजेता बन्यो । साविक विजेता समेत रहेको पुलिसले भने समूह चरण पार गर्न अन्तिम खेलसम्म कुर्नुपर्‍यो । चारमध्ये तीन खेल जित्दै पुलिस समूह ‘बी’ को उपविजेता बन्यो । सेमिफाइनल पुगेका एपीएफ र बागमती अपराजित छन् भने आर्मी र पुलिसले एक-एक खेल हारेका छन् ।

आर्मीले प्रतिस्पर्धात्मक खेलमा एपीएफसँग ६ रनको हार व्यहोरेको थियो । तर साविक विजेता पुलिस भने पहिलो खेलमै बागमती प्रदेशसँग स्तब्ध बनेको थियो ।

बागमतीले पुलिसलाई पराजित गरेपछि अन्य खेलमा पनि केही अनपेक्षित नतिजा आउँछ कि भन्ने अपेक्षा बढेको थियो । तर त्यस्तो भएन । बागमतीले पुलिसलाई हराउनुबाहेक अन्य टिमले विभागीय टोलीलाई पराजित गर्न सकेन । अहिलेसम्म प्रधानमन्त्री कपको इतिहासमा विभागीय टोलीलाई अन्य टोलीले पराजित गरेको यो दोस्रो पटक मात्र हो । यसअघि तेस्रो संस्करणमा प्रदेश ५ ले एपीएफलाई पराजित गरेको थियो ।

वर्तमान राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र र अलराउण्डर पारसबाहेक अन्य खेलाडी तीन वटा विभागीय टिममा बाँडिएका छन् । राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित आरिफ शेख, ललित राजवंशी, रासिद खान, अनिल शाह, पवन सर्राफ, सागर ढकाल, सुनिल धमला, राष्ट्रिय टिमका पूर्व खेलाडी मन्जित श्रेष्ठ पुलिसबाट खेलिरहेका छन् । पुलिसले समूह चरणमा ११ खेलाडीलाई मात्र खेलाएको छ ।

यस्तै राष्ट्रिय टिमका विनोद भण्डारीको कप्तानीमा रहेको आर्मीका रोहित पौडेल, भिम सार्की, राजेश पुलामी, विक्रम सोब, अनिल मण्डल जस्ता खेलाडी छन् । युएईमा टी-१० लिग खेल्न गएकाले सोमपाल कामी, करण केसी र कुशल मल्लले यस संस्करण आर्मीबाट खेलेनन् ।

प्रदेशसँगको सुरुवाती खेल खेल्न भ्याउने भए पनि विभागीय टिमसँग खेल्दा उपलब्ध नहुने भएकाले तीन खेलाडीले सुरुमा नखेलेको आर्मीका कप्तान विनोदले पहिलो खेलपछि बताएका थिए । तीन खेलाडी नहुँदा आर्मीलाई कहीँ न कहीँ असर परे पनि अन्य खेलाडीहरुले पनि राम्रो खेल्न सक्ने विनोदको भनाइ थियो । आर्मीले यस पटक लोकेश बम र आकाश चन्दलाई अनुबन्ध गर्दै खेलाएको छ ।

यस्तै शरद भेषावकरको कप्तानीमा रहेको एपीएफ टिममा भेट्रान बसन्त रेग्मी, सुवास खकुरेल, आसिफ शेख, सन्दिप जोरा, भुवन कार्की, अभिनाश बोहरा, कमल सिंह ऐरी र किशोर महतो छन् । किशोरसँगै रित गौतम र सूर्य तामाङ यसै संस्करणदेखि एपीएफमा अनुबन्ध भएका हुन् । यू-१९ कप्तान रितले दुई खेलमा मौका पाए पनि रनको खाता खोल्न सकेका छैनन् ।

आर्मी र एपीएफले भने टिममा भएका १४ जनै खेलाडीलाई खेल्ने अवसर दिएका थिए ।

प्रधानमन्त्री कपमा अर्को पनि एउटा संयोग रहेको छ । दुई विभागीय टोली पुलिस र एपीएफ अहिलेसम्म सेमिफाइनलमै भेट भएका छन् । पहिलो संस्करणमा पुलिसले एपीएफलाई हराएको थियो भने दोस्रो संस्करणमा एपीएफले पुलिसलाई हराएको थियो । यस्तै तेस्रो संस्करणमा पुलिसले एपीएफलाई फेरि हराएको थियो । चौथो संस्करणमा पनि यसले निरन्तरता पाएको छ ।

अर्कोतर्फ आर्मीले भने सेमिफाइनलमा क्षेत्र वा प्रदेशको टोलीसँग खेल्दै आएको छ र हार व्यहोरेको छैन । पहिलो संस्करणको सेमिफाइनलमा आर्मीले पश्चिमाञ्चललाई हराएको थियो भने दोस्रो संस्करणमा प्रदेश ५ (हालको लुम्बिनी)लाई हराएको थियो । यस्तै तेस्रो संस्करणमा प्रदेश ३ हालको बागमतीलाई हराएको थियो । यस पटक आर्मीले बागमतीसँग नै सेमिफाइनल खेल्दैछ ।

विगतलाई हेर्दा आर्मी सधैँ फाइनल पुगेको छ । तर एपीएफ र पुलिसबीच हुने सेमिफाइनल जित्नेले पछिल्लो दुई संस्करणमा उपाधि जितेको थियो । पहिलो संस्करणमा भने वर्षाले खेल बाधक बन्दा आर्मी र पुलिस संयुक्त रुपमा विजेता बनेका थिए ।

अब पहिलो सेमिफाइनमा दुई विभागीय टोली एपीएफ र पुलिस भिड्नेछन् । तेस्रो संस्करणमा पुलिसले एपीएफलाई हराएर फाइनलमा स्थान बनाएको थियो । यस्तै दोस्रो सेमिफाइनलमा आर्मीले बागमतीसँग खेल्नेछ । तेस्रो संस्करणमा आर्मीले बागमतीलाई नै हराएर फाइनल पुगेको थियो ।

सर्वाधिक रन बनाउनेमा बागमतीका पृथु अगाडि

विगतका वर्षहरुमा एपीएफबाट खेल्दै आएका पृथु बास्कोटाले यस संस्करण आफ्नै प्रदेशको टिम रोजे । गुमनाम जस्तै रहेका पृथु यस सिजन फर्ममा फर्केका छन् । उनले समूह चरणमा दुई अर्धशतकसहित सर्वाधिक रन बनाए । पृथुले ४ खेलबाट २१४ रन बनाएका छन् । सुदूरपश्चिमविरूद्ध उनले ८४ रन बनाएका थिए ।

सर्वाधिक रन बनाउनेको दोस्रो स्थानमा पुलिसका सुनिल धमला छन् । उनले एक शतक र एक अर्धशतकसहित १८७ रन बनाए । धमलाले लुम्बिनीविरूद्ध १०४ रन बनाएका थिए ।

यस्तै आर्मीका कप्तान विनोद भण्डारी सर्वाधिक रन बनाउनेमा पाँचौ स्थानमा छन् । उनले एक शतकसहित १५७ रन बनाएका छन् ।

समूह चरणमा ३ खेल मात्र खेलेका एपीएफका आसिफ शेखले दुई अर्धशतकसहित १४४ रन बनाएका छन् र छैटौं स्थानमा छन् ।

सर्वाधिक रन बनाउनेमा तेस्रो स्थानमा लुम्बिनीका सौरभ खनाल र चौथो स्थानमा प्रदेश २ का विवेक यादव छन् । दुवै टिम प्रतियोगिताबाट बाहिरिसकेका छन् । खनालले १८२ र यादवले १६७ रन बनाए । दुवैले समूह चरणमा समान दुई अर्धशतक प्रहार गरेका थिए ।

सर्वाधिक विकेट लिनेमा शहाब र रामनरेश अगाडि

बलिङतर्फ समूह चरणमा सर्वाधिक विकेट लिनेमा आर्मीका शहाब आलम र बागमतीका रामनरेश गिरी अघि छन् । दुवैले समान ९ विकेट लिएका छन् । शहाबले ३ खेल मात्र खेलेका छन् । दुवैले एक खेलमा ४-४ विकेट लिएका थिए ।

यस्तै एपीएफका अभिनाश बोहराले समूह चरणमा ३ खेल खेल्दै ८ विकेट लिएका छन् । उनले एक खेलमा ५ विकेट लिएका थिए ।

कर्णालीका राज शाही र अनुज चुनारा, लुम्बिनीका कृष्ण कार्की र अनिल खरेल, गण्डकीका विशाल पौडेल र विपिन खत्री तथा प्रदेश २ का मिनास थापाले पनि समूह चरणमा ८-८ विकेट लिएका थिए ।

यस्तै सेमिफाइनल पुगेकामध्ये एपीएफका कमल सिंह ऐरी, सागर ढकाल र बागमतीका नन्दन यादव र तिलक भण्डारीले समान ७ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment