१४ माघ, जनकपुरधाम । कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान बुधबारदेखि प्रदेश २ मा पनि शुरु भएको छ । प्रदेशका ८ वटै जिल्लाबाट एकैसाथ यो अभियान प्रारम्भ भएको हो ।
अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा शुरु भएको अभियानअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले पहिलो खोप लगाएका छन् । खोप लगाएका मन्त्री यादव कोरोना पोजेटिभसमेत भएका थिए ।
खोप लगाउँदै मन्त्री यादवले नडराई यो खोप लगाउन सबैसँग आग्रह गरे । ‘खोपबाट साइड इफेक्ट छैन । न्यून छ । त्यही भएर डराउनुपर्ने र हच्किनुपर्ने अवस्था छैन,’ उनले भने, ‘स्वास्थ्यकर्मी साथीहरुको सल्लाहको आधारमा खोप लिऊँ ।’
कोरोना संक्रमण अन्त्य नभएको र यसको अर्को विकल्प पनि नभएकाले खोप नै विश्वसनीय उपाय भएको बताए ।
प्रदेश २ कोरोनाको सबैभन्दा बढी जोखिममा रहेको स्मरण गर्दै मन्त्री यादवले त्यस बेला प्रदेशका मान्छेलाई हेरेर अन्य प्रदेशका मान्छे तर्सिरहेको र संवेदनहीन वक्तव्य पनि दिने गरेको बताए ।
‘तर म धन्यवाद दिन चाहन्छु स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई,’ उनले भने, ‘आफ्नो ज्यान जोखिममा राखेर कोरोना संक्रमणलाई रोकथाम गर्न उनीहरुको उदाहरणीय सहभागिता थियो ।’
एउटा योद्धाले युद्ध मैदानमा काम गरेजस्तै काम गर्दा कोरोना भाइरसको संक्रमणलाई रोक्न सफल भएको उनको भनाइ छ ।
हामीजस्तो विकासशील देशमा एक वर्षभित्रै खोप आउनु ठूलो उपलब्धी रहेको भन्दै उनले दुःखको बेला सहयोग गर्ने छिमेकी भारतलाई प्रदेश सरकारको तर्फबाट धन्यवाद समेत दिए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4