Comments Add Comment

सम्पत्तिका लागि फुपाजुको योजनामा अकलेशको हत्या

प्रहरीको आँखा छल्न आत्महत्या गरेजस्तो देखाउने प्रयास

१६ माघ, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–४ बहुअरीका २१ वर्षीय अकलेश राउत अहिर मंसिर ३० गते बेपत्ता भए । त्यसको भोलिपल्ट पसागढी नगरपालिका–९ चैनपुरमा झुण्डिएको अवस्थामा उनको शव फेला पर्‍यो । गलबन्दीले पासो लगाएर आत्महत्या गरेको भन्ने खबर फैलियो । प्रहरीले पनि घटनालाई आत्महत्याकै रुपमा लियो । चैनपुरस्थित खेतको आलीमा रहेको पकडीको रुखमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको थियो ।

प्रहरी अधिकारीहरुसहितको टोली घटनास्थलमा पुगे । घटनास्थल जाँच मुचुल्का तयार पारेर शव पोष्टमार्टमका लागि पठाए । पोष्टमार्टमपछि शवको दाहसंस्कार पनि भयो ।

प्रहरीले घटनास्थलमा लिइएको तस्वीरहरु, घटनास्थल र घटना अघिपछिका अवस्था र घटनासँग सम्बन्धित स–साना तथ्यहरुको अध्ययन सुरु गर्‍यो । उनको मृत्युबाट विभिन्न पक्षलाई हुन सक्ने लाभ हानीलाई समेत विश्लेषण गर्‍यो ।

मृत्युको सम्भावित कारणहरुबारे सूक्ष्म अनुसन्धान गर्दा उनको हत्या भएको हुन सक्ने आशंका बलियो भयो । घटनाबारे पुनः अनुसन्धान गर्दा आशंका सही सावित भयो । घटनामा संलग्न रहेको आशंकामा तीनजना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–५ बस्ने ५१ वर्षीय भागरित राउत अहिर, ४१ वर्षीय शेष ताहिर मियाँ र २७ वर्षीय छठु पटेल भन्ने दिनेश पटेल छन् ।

उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजीत कुँवरले जानकारी दिए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले तीनै जना अभियुक्तलाई सार्वजनिक गरेको थियो ।

प्रहरीका अनुसार अभियुक्त भागरित मृतकको फुपाजु हुन् । बुबा शिवचरण राउत अहिरको दुई भाइ भएपनि उनीहरुको अकलेश मात्रै एक्लो छोरा थिए । अकलेशको मृत्यु पश्चात निजको बुबा तथा ठूलोबुबाको नाममा भएको जग्गा जमिन लगायत सम्पत्तिको एक्लो हकदार भागरित नै हुन्थे । त्यसै योजना अनुसार घटना भन्दा २ दिन अघि अन्य अभियुक्तहरुसँग भेटी आर्थिक प्रलोभनमा पारी योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

भागरित राउत अहिरले अन्य अभियुक्तहरुलाई आर्थिक प्रलोभन दिएर घटनामा संलग्न गराएको अनुसन्धानबाट खुल्न आएको प्रहरी नायब उपरीक्षक कुँवर बताउँछन् । उनीहरुले अकलेशको घाँटीमा डोरीले कसेर मारेका थिए । हत्यापछि अकलेशकै गलबन्दीको पासो बनाई रुखमा झुण्ड्याएर आत्महत्या जस्तो देखाउन खोजेको प्रहरीको दाबी छ ।

पुस १ गते झुण्डिएको अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धानका लागि मृतकको फुपाजु भागरितलाई पक्राउ गरेको थियो । तर प्रमाण फेला नपरेपछि एक रात राखेर छोडेको थियो । प्रहरी समक्ष जाहेरी समेत आएको थिएन । सामान्य हिसाबमा झुण्डिएर आत्महत्या गरेको भन्ने नै थियो । तर यो विषयमा फलोअप गर्ने क्रममा सुसाइडल ह्याङ्गिङ नभएर कमिटेड ह्याङ्गिङ रहेको अर्थात अर्काले मारेर झुड्याइएको बलियो आधारहरु फेला परेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

‘साँझ बोलाएर डोरीले घाँटीमा बेरेर मारेका रहेछन्, डोरी हटाएर गलबन्दीको पासो लगाएर आत्महत्या गरेको जस्तो बनाएछन् । घटनामा संलग्न फुपाजुसहित ३ जना अभियुक्तलाई पक्राउ गरेका छौं ।’ उनले भने । सम्पत्ति हत्याउनका लागि नै हत्या गरेको पुष्टि भएको उनले बताए ।

‘मृतकको ठूलो बुबाको बालबच्चा रहेनछ । भाइको एउटा छोरा रहेछन् । २१ वर्षको भएपनि उनी विवाहित थिए । दुवै भाइ सोझा सामान्य खालका रहेछन्, फुपाजु बढी एक्टिभ खालका रहेछन्,’ उनले भने ‘घटना भन्दा दुई हप्ता अगाडि उनीहरुको परिवारमा अंशबण्डा भएको रहेछ । ५ बिघा जमिनमा साढे २ बिघा/साढे २ बिघा हुनुपर्नेमा बच्चा नभएको बाउपट्टि साढे ४ बिघा र बच्चा भएकोतर्फ १० कठ्ठा अंश बण्डा गरिएको रहेछ ।’

अंशबण्डाकै विषयमा किचलो बढेर हत्या गर्ने योजना बनेको हुन सक्ने उनी बताउँछन् ।

‘अकलेशको हत्यापछि उनको श्रीमतीलाई भगाउने, उनी पक्षको काँधमा अपराध थोपर्ने योजनाका लागि भगरितले आपराधिक पृष्ठभूमिको शेष ताहिर मियाँ र छठुको सहयोग लिएको देखिन्छ,’ एसपी पाण्डेले भने, ‘दुवैलाई आर्थिक प्रलोभनमा पार्न सफल भागरितको दुवै जनासँग लेनदेन पनि भएको देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment