+
+

विराटनगर विमानस्थल विस्तार गर्न जग्गा कित्ताकाट रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १७ गते ८:०६

१७ माघ, विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि जग्गा कित्ताकाट रोकिएको छ । विमानस्थलका लागि अधिग्रहण गरिने जग्गाको कित्ताकाट रोकिएको हो ।

विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार विमानस्थल विस्तारका लागि मोरङ र सुनसरीमा पर्ने १२६.४ विगाह जग्गा अधिग्रहण गरिँदैछ । जिल्ला प्रशासन कार्यालय मोरङमा छलफलपछि रेखाङ्कन भित्र परेका जग्गाको कित्ताकाट रोक्ने निर्णय भएको उनले बताए ।

विराटनगर महानगरपालिका– ४ मा रहेको विमानस्थल विस्तार गर्दा सो वडाका ३ सय घर परिवार विस्थापित हुनेछन् । विस्थापित हुने घर परिवारले उचित मुआब्जाको माग गर्दै आएका छन् । मुआब्जाका लागि बेदराज पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ ।

विस्तारपछि विमानस्थल विराटनगर महानगरपालिका–४ र सुनसरीको बर्जु गाउँपालिकासम्म फैलिने छ । विस्तार गर्दा विमानस्थल रहेको स्थानबाट पूर्वतर्फ ७.८३ बिघा, पश्चिमतर्फ ६९.१४ बिघा, उत्तरतर्फ ३५.८१ बिघा र दक्षिणतर्फ ८.८७ बिघा तथा सडकका लागि ३.७० बिघा जग्गा अधिग्रहण गरिनेछ ।

गत कात्तिक २७ गते विमानस्थल विस्तारका लागि आवश्यक पर्ने १२६.४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय मन्त्रिपरिषदले गरेको थियो । विस्तारपछि विमानस्थलको धावनमार्गको लम्बाइ दुई हजार ५०० मिटर हुने छ । हालको धावनमार्ग एक हजार ५०० मिटरको छ ।

हाल विराटनगर विमानस्थलबाट दैनिक १४ वटा उडान–अवतरण हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?