Comments Add Comment
पीएम कप क्रिकेट :  :

एपीएफलाई हराउँदै आर्मी च्याम्पियन

१७ माघ, काठमाडौं । विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शनिबार भएको फाइनलमा एपीएफलाई ३३ रनले पराजित गर्दै आर्मीले उपाधिसँगै १० लाख जितेको छ । उपविजेता एपीएफले पाँच लाखमा चित्त बुझाएको छ ।

पहिलो संस्करणमा नेपाल पुलिससँग उपाधि बाँडेको आर्मी दोस्रो संस्करणको फाइनलमा एपीएफसँग पराजित भएको थियो । तेस्रो संस्करणको फाइनलमा पुलिससँग पराजित भएको आर्मीले चौथो संस्करणको फाइनल जित्दा उपाधि त जित्यो नै, समूह चरणमा एपीएफ व्यहोरेको हारको बदला पनि लिएको छ ।

आसिफको अर्धशतकले पुगेन

 उपाधिका लागि आर्मीले दिएको २१२ रनको लक्ष्य पछ्याएको एपीएफले ४१.३ ओभरमा सबै विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो । ओपनर आसिफ शेखले अर्धशतक बनाएपनि अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न नसक्दा एपीएफले पूरा ओभर ब्याटिङ गर्न सकेन ।

यद्यपि पहिलो दुई ओभरमै २० रन जोड्दै आसिफ शेख र सुवास खकुरेलले आक्रमक सुरुवात दिलाएका थिए । तेस्रो ओभरमा थप एक रन जोडेको एपीएफले चौथो ओभरमा लगातार दुई विकेट गुमायो । १४ रन बनाएका सुबास, जितेन्द्र मुखियाको बलमा विनोद भण्डारीबाट क्याचआउट भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न क्रिजमा गएका कप्तान शरद भेषावकर पनि मुखियाको बलमा विनोदबाट क्याचआउट भए ।

त्यसपछि सुस्ताएको एपीएफको इनिङ्स आसिफले सम्हाल्ने प्रयास गरे । उनले तेस्रो विकेटका लागि शंकर रानासँग ७१ रनको साझेदारी गरे । तर आर्मीका शहाब आलमले २०औं ओभरमा यो साझेदारी तोडे । ४७ बलको सामना गरेका उनी तीन चौका मद्दतमा २१ रन बनाएर पभेलियन फर्किए । २७औं ओभरको पहिलो बलमा आसिफ शेख आउट भए, जतिबेला एपीएफको स्कोर ११७/४ थियो । ७१ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा ६१ रन बनाएर आसिफ मुखियाको बलमा रोहित पौडेलबाट क्याचआउट भए ।

३२औं ओभरको तेस्रो बलमा सुमित महर्जन १९ रन बनाएर आउट भए भने ३७औं ओभरको तेस्रो बलमा भुवन कार्कीलाई विक्रम सोबले एलबीडब्ल्यु धरापमा पारे । यस्तै ३९औं ओभरको अन्तिम बलमा सोबले सन्दिप जोरालाई हरि चौहानबाट क्याचआउट गराएपछि एपीएफको इनिङ धर्मराएको थियो ।

४१औं ओभरको अन्तिम बलमा अमर राउटेलालाई सुशन भारीले एलबीडब्ल्यु धरापमा पार्दा आठौं विकेट गुमायो । ४२औं ओभरको दोस्रो बलमा शहाब आलमले कमल ऐरीलाई बोल्ड गरे भने शअर्को बलमा अभिनाश बोहरालाई एलबीडब्लु धरापमा पार्दै एपीएफको इनिङ्स समाप्त पारिदिए ।

एपीएफलाई अलआउट गर्न आर्मीका विक्रम सोब, जितेन्द्र मुखिया र शहाब आलमले समान ३ तथा सुशन भारीले १ विकेट लिए ।

हरि र राजेशले सम्हाले आर्मीको इनिङ

त्यसअघि टस हारेर व्याटिङको निम्तो पाएको आर्मीले हरि चौहानको अर्धशतकको मदतमा ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनाएको थियो । हरिले सर्वाधिक ५८ रन बनाए ।

राजेश पुलामी मगरले २८ रन बनाए भने शहाब आलमल २५ रनमा अविजित रहे । अन्य खेलाडीले उल्लेख्य ब्याटिङ गर्न सकेनन् । एपीएफका लागि अभिनाश बोहरा एक्लैले ४ विकेट लिए ।

आर्मीले अनिल मण्डलसँगै बलर सुशन भारीलाई ओपनिङमा पठाएको थियो । ९ ओभरमा दुई जनाले ३२ रनको साझेदारी गरे । तर नवौं ओभरको अन्तिम बलमा किशोर महतोले भारीलाई विकेटकिपर सुबास खकुरेलबाट क्याचआउट गराए । अर्को ओभरको पहिलो बलमा अभिनाश बोहराले मण्डललाई आसिफ शेखबाट क्याचआउट गराएपछि आर्मीले ३२ रनमा २ विकेट गुमायो । भीम सार्की ७ रन बनाएर १८औं ओभरको पहिलो बलमा आउट भए । उनी अभिनाश बोहराको बलमा सुवास खकुरेलबाट क्याचआउट भए ।

तर चौहानले पाँचौ नम्बरमा ब्याटिङ गरेका रोहितकुमार पौडेलसँग चौथो विकेटका लागि ४१ रनको साझेदारी गर्दै पारी उकासे । २७औं ओभरको दोस्रो बलमा रोहित पनि भुवन कार्कीको बलमा अमर राउटेलाबाट क्याचआउट भए । उनी १३ रनमा  आउट भएका हुन् ।

कप्तान विनोद भण्डारी पनि ७ रन बनाएर आउट हुँदा आर्मी ३३.४ ओभरमा १०७/५ मा थियो । तर सातौं नम्बरमा आएका राजेश पुलामीले क्रिजमा टिकिरहेका हरिलाई साथ दिए । दुबैले छैटौं विकेटका लागि ४४ रनको साझेदारी गरे । राजेशले २९ बलमा २८ रन जोडेर पभेलियन फर्किए त्यसपछि आएका लोकेश बमले आक्रमक ब्याटिङ गर्दै आर्मीको रन गति बढाउने प्रयास गरे । ९ बलमा २ छक्कासहित १५ रन बनाएका उनी ४५औं ओभरको चौथो बलमा आउट भए । अभिनाशले किशोर महतोको हातबाट लोकेशलाई क्याचआउट गराए ।

४७औं ओभरमा अभिनाश बोहराले हिलो बलमै हरि चौहानलाई कमल ऐरीबाट क्याचआउट गराउँदा आर्मीले आठौं विकेट गुमायो । १०२ बल खेलेका चौहानले ६ चौका मद्दतमा सर्वाधिक ५८ रन बनाए ।

अन्तिम ओभरको दोस्रो बलमा विक्रम सोव ११ रन बनाएर आउट भए । उनलाई एपीएफका कप्तान शरद भेषावकरले कमल ऐरीबाट क्याचआउट गराए । शहाब आलम २५ रनमा अविजित रहे । उनले १४ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे ।

एपीएफका लागि शानदार बलिङ गरेका अभिनाशले ४ विकेट लिए । किफायती बलिङ समेत गरेका उनले १० ओभरमा २ ओभर मेडन राख्दै २५ रन खर्चिएर ४ विकेट लिए । प्रतियोगितामा १४ विकेट लिएका अभिनाश सर्वाधिक विकेट लिनेमा शीर्ष स्थानमा छन् ।

किशोर महतोले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । कमल ऐरी र भुवन कार्कीले १-१ विकेट लिए । भुवनले १० ओभरमा २६ रन मात्र खर्चिए । कमलले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चिए । कप्तान शरदले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment