Comments Add Comment

टिम गेम खेल्दा उपाधि सम्भव भयो : विनोद भण्डारी

Photo Credit : CAN

१८ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल अघि एपीएफ अपराजित थियो । अर्कोतर्फ आर्मी समूह चरणमा एपीएफसँग मात्र हारेको थियो ।

यसअघिको दुई संस्करणमा आर्मी फाइनल पुग्दै पराजित भएको थियो । आर्मीले त्यही एपीएफलाई फाइनलमा हराउँदै चौथो संस्करणको उपाधि त जित्यो नै  आर्मीले एपीएफसँग यसअघिको फाइनलको हार र यस पटकको समूह चरणको हारको बदला समेत लियो ।

पहिलो पटक एकल रुपमा ट्रफी उचाल्न पाउँदा आर्मीका कप्तान विनोद भण्डारी खुशी देखिन्थे । सोमपाल कामी, करण केसी र कुशल मल्ल गरी तीन खेलाडी नहुँदा समेत आर्मीले उपाधि जित्न सफल भएकोमा विनोद दंग थिए ।

तर त्यसका लागि आर्मीले मेहनत भने गरेको थियो । उनै विनोदले सबै खेलाडीले राम्रो खेलेको र टिम इफोर्टले गर्दा नै उपाधि सम्भव भएको बताए । उनले यस पटक कुनै एक खेलाडीमा निर्भर भएर नखेलेको बताए ।

‘जित्न पाएपछि ट्रफी उठाउँदा जो पनि खुशी हुन्छ । भित्र के भयो कसैले सोचेको छैन । जित भनेपछि सबैले त्यसैमा खुशी मनाइरहेका छन्,’ विनोदले ट्रफी उचालेपछि भने ।

‘पहिलादेखि हेर्ने हो भने बेस्ट बलर, ब्याट्सम्यान म्यान अफ दि सिरिज हाम्रो टिमको हुन्थ्यो । अहिले छैन किनकी टिमले काम गरिराछ । कोही एकमा भर परेको छैन त्यसले गर्दा पनि सलिजो भाको हो,’ विनोदले भने, ‘तीन जना भाको भए यस्तो सोच्नु पर्थेन हामी ढुक्क भएर खेल्थ्यौँ ।’

उनले तीन खेलाडी नहुँदा शंका भने भइरहेको बताए । ‘फस्टमा ब्याटिङ गर्दा प्रेसर थियो । तीन जना मुख्य खेलाडी थिएन हामीसँग । त्यसले गर्दा टिम कतिखेर पस्छ भन्ने हामीलाई शंका थियो,’ विनोदले भने, ‘त्यसले गर्दा भारीलाई विकेट नदिए पनि टिकेर बस भनेर पठाएको थियँ । लगभग उसले आफ्नो काम गर्‍यो त्यसपछि लगातार विकेट जाँदा फेरि प्रेसर आइसकेको थियो । अनि हरीले एक साइडबाट खेलेपछि सजिलो भयो । पछि फिनिस खासै सोचेजस्तो भएन ।  २४० रन बन्छ कि जस्तो लाथ्यो,’ विनोदले खेलबारे भने ।

उनले एपीएफको पनि विकेट जाने पार्टनरसिप बन्ने जस्तो भइरहेको अवस्थामा रन बन्न गाह्रो हुने थाहा भएर त्यही अनुसार खेलेको बताए ।

‘एपीएफको २ विकेट चाँडै गएपछि पार्टनरसिप भयो । हामीलाई थाहा थियो रन बन्न गाह्रो छ । त्यसैले जतिसक्दो राम्रो बलिङ गर्ने सोचेका थियौँ  । १०-१५ रन बनाउन नि गाह्रो हुन्छ भन्ने थाहा थियो । हामी आज फाइनल हो भन्दै बोल्दै कराउ खेलिराथ्यौँ । जोराको विकेटले सहयोग भयो । जोराको विकेट पाएपछि हामीमाथि भयौँ ।’

फाइनलमा आर्मीले राम्रो खेलेर जितेको की एपीएफले नराम्रो खेलेको भन्ने प्रश्नमा विनोदले दुवैले नराम्रो खेलेको तर गल्ती कम गर्नेले जितेको जवाफ दिए ।

उनले भने, ‘हेर्ने हो भने दुवैले नराम्रो खेलेको हो । कसले बढी मिस्टेक गर्‍यो र हार्यो भन्ने हो । कम मिस्टेक गर्नेले जित्यो । राम्रो खेलेको होइन हामीहरुले । २४० भन्दा मथि रन बन्ने सोचिराथ्यौँ । तर २१२ को टार्गेट हुँदा पनि पाइट गर्नुपर्छ भनेर सोचिराथ्यौँ ।’

‘हामीले पाँचौ बलर धेरै प्रयोग गरेनौँ जम्मा ४ ओभर मात्र गरेनौँ । पाँचौ प्रयोग गर्ने कि के गर्ने भइराथ्यो त्यसले गर्दा विकेट आइराथ्यो, के गर्ने के गर्ने भइराथ्यो खासमा हामीले बीचमा धेरै छलफल गरिरहेका थियौँ,’ विनोदले भने ।

फाइनलको जित रिभेन्ज हो भन्ने प्रश्नमा विनोदले भने, ‘विभागबाट खेल्दा सबैमा सोचाइ हुन्छ राम्रो खेल्ने । तर सबैसँगै खेलिराको खेलाडी हो । एकातर्फ हाँसिमजाक भइराको हुन्छ । अर्को तर्फ जित्नुपर्छ भन्ने हुन्छ । तर लिगमा हारेर सेमिफाइनल फाइनलमा खासै केही हुन्न ।’

राम्रो ब्याटिङ गरिरहेको आसिफको विकेट गएपछि एपीएफलाई प्रेसर भएको बताए । ‘आसिफ राम्रो खेलिरहेको थियो । विकेट गएपछि प्रेसर बन्यो । उसको विकेट आइपछि सजिलो पनि भयो ।’

आर्मीले राम्रो खेल्यो : भेषावकर

उता फाइनलमा पराजित भएपछि निराश देखिएका एपीएफका कप्तान शरद भेषावकरले आर्मीले राम्रो खेलेकाले जितको हकदार रहेको बताए । ‘हाम्रो गेम राम्रो भएन आज । सोचेजस्तो खेल्न सकेनौँ । ५० ओभर खेल्न सकेनौँ,’ शरदले भने, ‘सेमिफाइनका मिस्टेकहरु दोहोरियो । उनीहरुले २०-३० रन धेरै बनाएको पनि हो ।’

शरदले गेम हातमा हुँदा अनि अनुभवको कमी देखिएकाले गुमाउन पुगेको बताए । ‘अलिकति अनुभवको कमी देखियो । ५० ओभर खेल्या भए गेम हातमै थियो । सेट ब्याट्सम्यान आउट हुन पुग्यो । त्यो पनि ब्याडलक भयो,’ उनले भने ।

शरदले आर्मीले राम्रो खेलेको बताए । ‘उनीहरु जित्न लायक टिम थियो । मिस्टेक पनि कम गर्‍यो । ब्याटिङमा पनि राम्रो गर्‍यो किनकी बिहान ब्याटिङ गर्न गाह्रो थियो । क्रेडिट उनीहरुलाई जान्छ,’ शरदले भने ।

शरदले धेरै समयपछि क्रिकेट खेल्न पाएको र ओभरअल राम्रो भएको बताए । ‘क्यानलाई पनि धन्यवाद कोभिडको बेलामा पनि टुर्नामेन्ट खेल्न पायौँ र धेरै पछि नयाँ खेलाडीहरु आए, ‘ शरदले भने, ‘सबै खेलाडीहरु खुशी छन् । ट्राई सिरिजअघि यो राम्रो भएको छ ।’

यस्तै विनोदले प्रतियोगिता हुँदा नयाँ खेलाडी आउने बताए । ‘खेल हुनु भनेको खेलाडी आउनु हो,’ भण्डारीले भने, ‘काठमाडौंमा देखिँदैन । तर हरेक क्रिकेट खेलाडीले आफ्नो ठाउँमा मेहनत गरिरहेको छ । खेल नहुँदा कता देखाउने भन्ने हुन्छ । खेल हुँदा मौका पाउने हो । अहिले त्यही भएको हो ।’ उनले नयाँ खेलाडीको आगमनले पुराना खेलाडीलाई समेत मेहनेत गर्न प्रेरित गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment