+
+

स‌ंसदीय समितिका सभापतिले अझै फिर्ता गरेनन् गाडी

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १८ गते १६:५५

१८ माघ, काठमाडौं । गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएसंगै प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति पनि स्वतः विघटित भएका छन् । संसद विघटनसंगै प्रतिनिधिसभाका सांसद र विषयगत समितिका सभापतिहरुको सुविधा पनि खोसिएको छ ।

तर सचिवालयले उपलब्ध गराएको सवारी साधन भने सभापतिहरुले अझै फिर्ता गरेका छैनन् । सरकारले प्रतिनिधिसभा विघटन गरेको आइतबार ४२ दिन पुगेको छ । प्रतिनिधिसभा विघटन संगै प्रतिनिधिसभाका सदस्य (सांसद) हरुको सांसदका हैसियतले सरकारले उपलब्ध गराउँदै आएका सेवा सुविधा पनि खोसिएका छन् ।

तर प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समितिका सभापतिमध्ये ९ जना सभापतिहरुले अझै पनि सभापति भए वापत सरकारले उपलब्ध गराएको सवारी साधन प्रयोग गरिरहेका छन् ।

विघटित प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिहरुमा उद्योग समितिको सभापति राष्ट्रिय जनता पार्टीले, लेखा समितिको सभापति नेपाली कांग्रेसले पाएको थियो । बाँकी ८ वटा समितिका सभापति सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले लिएको थियो । पार्टी भित्रको आन्तरिक किचलोमा २ समूहमा विभाजित भएका सत्तारुढ दलका कसैले पनि गाडी फिर्ता गरेका छैनन् ।

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेल, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति बिमल श्रीवास्तव, कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदी, राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्का, शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्ती र सार्वजनिक लेखा समितिका सभापति भरत शाहले संसद विघटनको ४२ दिन पुगिसक्दा पनि सुविधामा पाएको गाडी फिर्ता गरेका छैनन् ।

संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले ९ वटा समितिका सभापतिहरुले अझै पनि गाडी सुविधा प्रयोग गरिरहेको जानकारी दिए । महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले भने पुस १० गते नै गाडी फिर्ता गरेको पाण्डेले बताए ।

प्रतिनिधिसभा विघटन भएपछि पनि सोही सभा अन्तर्गतका विषयगत समितिका सभापतिको हैसियतले गाडी प्रयोग गर्ने पूर्वसभापतिहरु कोही सरकार विरुद्धको आन्दोलनमा समेत सक्रिय छन् ।

संघीय संसद सचिवालयले सबै समितिको अलग अलग सचिवालय सहित सभापतिहरुलाई छुटै निजी सचिवालयको सुविधा दिने गर्छ । समितिका सभापतिहरुले राज्यमन्त्री सरहको सुविधा प्राप्त गर्दछन् । अहिले पूर्व सभापतिहरुले नियमित रुपमा सेवा सुविधा नपाए पनि गाडीको दुरुपयोग भने गरिरहेका छन् ।

दुई वटा चालक, स्वकिय सचिव लगायत पदाधिकारीले पाउने सम्पुर्ण सुविधाहरु पुस ५ गते देखिनै रोकिएको छ । गाडी फिर्ता नगर्ने पूर्वसभापतिहरुले ड्राईभर र तेलको खर्च भने आफैं व्यहोरिरहेका छन् । प्रतिनिधिसभा विघटन भएकाले सांसद वा विषयगत समितिका सभापतिको हैसियतले सचिवालयले उपलब्ध गराएको सुविधा प्रयोग गरिरहेर पूर्वसभापतिहरुले दुरुपयोग गरेको सचिवालयका प्रवक्ता पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?