Comments Add Comment
नागरिक आन्दोलनमा सहिदको सम्झना :

धर्मभक्तको शालिकमुनि उभिएर प्रतिगमनको विरोध

१८ माघ, काठमाडौं । सिफल (कालोपुल) मा आइतबार दिउँसो शहीद धर्मभक्त माथेमाको शालिकअगाडि धर्मभक्तझैं उभिएर नाट्यकर्मी आशान्त शर्मा बोलिरहेका थिए ।

नाट्य–निर्देशक घिमिरे युवराजले तयार पारेको धर्मभक्तको आत्मपरक ‘स्क्रिप्ट’ नाट्यकर्मी शर्माले यसरी सुनाए–

‘म पेसाले एउटा शारीरिक सुगठनको प्रशिक्षक हुँ । दरबारमा राजा, युवराज र भारदारहरूलाई शारीरिक व्यायामको तालिम दिन्थेँ । राणाहरूको अत्याचारविरुद्ध अभियान चलाएको आरोपमा आफ्नै घरबाट २ कात्तिक, १९९७ को बिहान मलाई गिरफ्तार गरिएको थियो ।

१० माघमै अग्रज जनयोद्धा शुक्रराज शास्त्रीलाई तानाशाही राणाहरूले फाँसी दिएर हत्या गरे । मलाई पनि राणा सरकारले ११ माघमै मृत्युको सजाय सुनायो । त्यसै बिहान मलाई सिंहदरबार सैनिक स्कुलबाट सदर जेल लगिएपछि मेरो परिवारलाई मसँग भेट्न खबर पठाइयो ।

मेरा बुबा आदिभक्त र भाइ ध्रुवभक्तलाई राणा सरकारको अनुरोधमा अंग्रेज सरकारले कलकत्तामै गिरफ्तार गरेर थुनेको थियो । काठमाडौंमा भएकी मेरी फुपूकी छोरी र गाउँका मेरा चेला मलाई भेट्न आए । उनीहरू भेट्न आएपछि मलाई जेलबाट बाहिर ल्याए । मेरो हात पछाडि लगेर सिक्रीले बाँधिएको थियो । मैले उनीहरूलाई मेरो कुरा सुनाएँ ।

मलाई जेलमा बेस्सरी पिटे । मलाई शारीरिक रूपमा कमजोर बनाउन बलजफ्ती इन्जेक्सन लगाए । शुक्रराजलाई झैं फाँसीमा झुन्ड्याएर मलाई मार्ने योजना बन्दै रहेछ । शुक्रराजको हत्या गरिएको ठीक तीन दिनपछि अर्थात् १३ माघ साँझ डिल्लीबजार वरिपरिका सबै पसलहरू चाँडै बन्द गर्न उर्दी गरियो । अनुमान गर्दा मलाई राति १० बजेतिर डिल्लीबजारको बाटोबाट ज्ञानेश्वर हुँदै सिफलतिर लगियो । मेरो दुवै हात पछाडि फर्काएर बाँधिएको र आँखामा पट्टी बाँधिएको थियो ।

सिफलमा पुर्‍याएपछि नरशमशेरले मलाई, ‘अन्तिम इच्छा के छ’ भनेर सोध्यो ।

मैले भने, ‘राणाशासनको छिट्टै नै अन्त्य भएको हेर्ने इच्छा छ ।’

त्यसपछि मलाई रूखको दक्षिणतिर लत्रेको हाँगामा बाँधिएको डोरीमा झुन्ड्याउन लगियो । भुइँमा लगाइएको गारोमा मलाई टेकाएर घाँटीमा पासो लगाइयो । मेरो घाँटीमा पासो लाएपछि मैले टेकेको गाह्रो भत्काइयो । तर, डोरी बाँधिएको हाँगा लच्कियो र मैले खुट्टा टेक्न पुगेँ । पहिलोपटक म मरिनँ ।

फेरि अर्को मोटो हाँगामा डोरी बाँधेर उसरी नै मलाई पर्खालमा उभ्याएर फाँसीमा चढाइयो । अनि पर्खाल भत्काइयो । म पीडाले छटपटाएँ । फाँसीको डोरी नै छिन्यो । म मरिनँ, तर घाँटीमा डोरी कस्सिएकै थियो । मलाई निक्कै गाह्रो भयो । छटपटाएँ ।

नरशमशेरले ‘छिटो गर, छिटो गर’ भन्दै आफैँले चक्कुले मेरो घाँटीको डोरी काट्यो । र, फेरि तेस्रोपटक मलाई झुन्ड्याउने आदेश दियो । मैले भनेँ, ‘म तपाईंको गुरु हुँ । दुईपटकसम्म फाँसीमा बाँचिसकेँ । फेरि फाँसी दिनु न्यायसंगत होइन ।’

‘तँलाई केको न्याय ? झन्डै मलाईसमेत मुछेको थिइस्’ भन्दै नरशमशेरले आफ्नो हातको चक्कुले मेरो गालादेखि चिउँडोसम्म काटिदियो । म पीडाले झन् कराएँ । चिच्याएँ । र, रिसले नरशमशेरलाई एक लात हानेँ । नरशमशेर लडेर ५–६ हात पर पुग्यो ।

त्यसपछि नरशमशेरले आफ्ना सिपाहीलाई आदेश दिँदै मलाई कुट्न लगायो । अर्को हाँगामा फेरि मलाई झुन्ड्याउन डोरी बाँध्दै थिए । सिपाहीको कुटाइले म बेहोस भैसकेको थिएँ । बेहोस् अवस्थामै मलाई उनीहरूले झुन्ड्याए । तेस्रोपटक बढो कष्टले मेरो प्राण गयो । यतिखेर रातको १२ बजेको थियो ।’

***

शहीद धर्मभक्तको सम्मानमा उनलाई झुण्डाइएको स्थान सिफलमा आइतबार प्रतिगमनविरुद्धको नागरिक आन्दोलन भयो । आन्दोलनलाई सम्बोधन गर्न प्राध्यापक केदारभक्त माथेमा पनि उपस्थित थिए ।

प्राध्यापक माथेमा निकै गम्भीर देखिन्थे । यद्यपि जनसमुदायलाई सम्बोधन गर्दा भने उनको बोलीमा शहीद धर्मभक्तकोे झैं ओज थियो ।

केदारभक्त गम्भीर हुनुको भित्री कारण के हो भने, शहीद धर्मभक्त उनका जेठा बुबा हुन् । आफ्नै पिता समानका जेठाबुबाले ‘अन्यायी राणाशासन ठीक भएन’ भन्दा चरम यातनासहित मारिएको स्थान थियो सिफल । त्यसै स्थानमा आज फेरि प्रतिगमन विरुद्ध उनका छोरा र नाति पुस्ता लड्नुपर्ने अवस्था बनेको छ ।

माथेमाले भने, ‘संसद पुनर्स्थापना भएर मात्र आजको प्रतिगमन सच्चिँदैन । राजनीतिका हजारौं प्रतिगामी कदम सच्चिएमात्र लोकतन्त्रको जित हुन्छ ।’

अनलाइनखबरसँगको कुरामा माथेमाले थपे, ‘मेरो परिवारबाट जेठोबुबा धर्मभक्त र फुपाजु शुक्रराज शास्त्री दुईजना शहीद हुनुभएको छ । तर मैले र मभन्दा पछिको पुस्ताले पनि फेरि यही प्रजातन्त्रका लागि लड्नुपरेको छ ।’

उनको आशय लोकतन्त्रको सवालमा संघर्ष गर्न कहिल्यै थाक्न नहुने भन्ने थियो ।

बृहत् नागरिक आन्दोलनकै सिलसिलामा दृष्टीविहीन कलाकारको समूहले गीत प्रस्तुत गर्‍यो । ईश्वर बलामी, रमेश सुवेदी, सृजना तामाङ र नीरज थापा मगरले ‘किन भन्छौ हामीलाई क्षमतामा आधि’ बोलको गीत प्रस्तुत गरे । उनीहरूको गीतले फरक शारीरिक क्षमता भए पनि लोकतन्त्रका लागि लड्न सकिने सन्देश दिएको देखिन्थ्यो ।

यसपछि बोलेकी रीता परियारले प्रतिगमनलाई परास्त गर्न समाजका सबै वर्ग एकैसाथ लड्नुपर्ने बताइन् ।

विश्लेषक तुलानारायण साहले भने मधेस आन्दोलन र अन्य आन्दोलनलाई पनि आजको नागरिक आन्दोलनले समेट्न सक्नुपर्ने बताए । साहले भने, ‘हिजो दुर्गानन्द झालाई बम हान्न उत्प्रेरणा दिने कांग्रेस पार्टी आज मुर्दातुल्य बनेको छ । यसर्थ समस्या दलहरूमै पनि छ ।’

विरोध सभामा बोल्दै लेखक राजेन्द्र महर्जनले सघंर्ष लामो समयसम्म चल्न सक्ने संकेत गरे । महर्जनले भने, ‘लोकतन्त्र संस्थागत गर्ने क्रममा उठेका प्रश्नहरूका साथ हामी अघि बढेका छौं । त्यो प्रश्नको जवाफ आफूले आफैंसँग माग्दै हामी लड्नेछौं ।’

महर्जनका अनुसार नागरिक आनदोलनको बलले प्रतिगमनकारी शक्ति क्रमशः कमजोर हुने छ ।

सिफलमा भएको नागरिक आन्दोलनको कार्यक्रममा नारायण वाग्ले, युग पाठक, सञ्जिव उपे्रेती, खगेन्द्र संग्रौला, नारायण ढकाल, स्वप्निल स्मृतिलगायतको उपस्थिति थियो । उनीहरूले प्रगतिशील कविहरूको कविताअंकित ब्यानर तथा चर्चित कार्टुनिस्टका व्यंग्यचित्र छातीमा टाँसेका थिए ।

सभाको अन्त्यतिर योगेश राल्फालीले आफ्नो मातृभाषा तामाङमा कविता सुनाए । चन्द्रवीर तुम्बापोले ‘ओ तानाशाह !’ शीर्षकको क्रान्तिकारी कविता वाचन गरे । २०६२ को आन्दोलनताका ‘रंगवाद साहित्यिक आन्दोलन’ चलाएका कवि तुम्बापोले प्रतिगमनमाथि तीखो प्रहार गरेको कविता सुनाउँदा युवा अभियन्तामा उर्जा थपेको देखिन्थ्यो ।

तुम्बापोको ‘ओ तानाशाह !’ शीर्षकको कविता यहाँ प्रस्तुत गरिएको छ :

शून्यताको कम्बल फालेर

एकपटक ख्वाक खोक्छ

लगत्तै माथिल्लो घर खोक्छ

लगत्तै तल्लो घर खोक्छ

लगत्तै पल्लो घर खोक्छ

लगत्तै वल्लो घर खोक्छ

चराहरू चिर्बिर–चिर्बिर गर्न थाल्छन्

हलो, कुट्टो र कोदालोसँग गाउँ निस्किन्छ

कल कारखानाहरू चल्न थाल्छन्

सडक हुँइकिन थाल्छ ।

बिस्तारै सहर हल्लाले भरिन थाल्छ

वातावरण अशान्त हुँदै जान्छ ।

ठीक यहीबेला किनारामा उभिएर

अनागरिक मानिसले

सलाइै कोर्छ र सल्काउँछ चुरोट

हे ! तानाशाह नठान्नू त्यतिन्जेलसम्म

हाम्रा हातहरू खाली हुनेछन्

ओ तानाशाह ! त्यतिन्जेलसम्म

हाम्रा हातहरू हतियार भइसक्छन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment