Comments Add Comment

नेपालमा कुखुरामा देखिएको छैन बर्ड फ्लु

अव्यवस्थित रुपमा पालिएका टर्की र हाँसमा देखिएको सरकारको दावी

१८ माघ, काठमाडौं । भारतका विभिन्न सहरमा फैलिएको बर्डफ्लू नेपालमा पनि पुष्टी भएको छ । तर हालसम्म कुखुराको कुनै पनि प्रजातीमा रोगको संक्रमण नदेखिएको कृषि विकास मन्त्रालयले जनाएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका ७ साङ्लेखोलामा स्थानीय किसानले पालेको टर्की र हाँसमा बर्ड फ्लू पुष्टी भएको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरे बताए । अघिल्लो वर्ष काठमाडौंमा देखिएको बर्ड फ्लुको संक्रमण पनि सोही क्षेत्रमा थियो । संक्रमण पुष्टि भएको क्षेत्रका झण्डै २३ सय हाराहारी पन्छी नष्ट गरिएको र निसंक्रमण पनि गरिसकिएको छ ।

तारकेश्वरबाहेक मुलुकको अन्य भूभागमा हालसम्म संक्रमणको जानकारी नभएको प्रवक्ता घिमिरेले बताए । तर संक्रमणको समाचार बाहिरिएसंगै कुखुरा तथा पन्छीजन्य व्यवसायमा लागेका व्यवसायी र किसान चिन्तित भएका छन् ।

कोभिड महामारी झेलेर थिलथिलो भएको स्वरोजगारमुलक पन्छी व्यवसाय बर्ड फ्लूका कारण थप शिथिल हुन सक्ने यस क्षेत्रमा संलग्नहरु बताउँछन् । नेपालको पोल्ट्री व्यवसायमा ठूला तथा सानामा समेत गरेर झण्डै एक खर्ब लगानी रहेको अनुमान गरिएको छ ।

बर्ड फ्लु संक्रमण स्रोत

काठमाडौंमा पुष्टि भएको बर्ड फ्लुको गुण भारतको केरलामा देखिएको संक्रमणसंग मिल्दो जुल्दो भएको पशु सेवा विभागले जनाएको छ । यसअघि नेपालमा देखिएको फ्लु एच फाइभ एच वान भएपनि यसपटक तारकेश्वरमा देखिएको संक्रमण एच फाइभ एन एट रहेको पशु सेवा विभागका वरिष्ठ पशु अधिकृत डा.चन्द्र ढकालले बताए ।

‘अहिलेको फ्लु भारतको केरलामा देखिएको बर्ड फ्लुको गुणसंग मेल खायो, तर कसरी यहाँसम्म संक्रमण आयो भन्नेबारे भने अध्ययन भइरहेको छ,’ डा. ढकालले भने ।

भारतमा संक्रमण भएको क्षेत्र नेपालको सीमा भन्दा निकै टाढा रहेको र पशुपन्छीको आयातमा कडाइ गरिदा पनि बर्ड फ्लु भित्रिएपछि संक्रमण स्रोतको खोजी थालिएको विभागको भनाइ छ ।

साइबेरियाबाट पानी हाँसहरु बसाईं सरेर आउने सिजन भएका कारण त्यताबाट संक्रमण सरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको ढकालले बताए । संक्रमण भएको ठाउँको पशुपन्छी नष्ट गरिएको र ब्रोइलर कुखुरामा हालसम्म संक्रमण नपाइएको विभागले जनाएको छ ।

स्वास्थ्य सुरक्षा अपनाउन आग्रह

व्यवसायिक रुपमा कुखुरा तथा हाँसका फर्ममा बर्ड फ्लु नदेखिएका कारण तत्काल उपभोक्ता त्रसित हुनुनपर्ने पशु सेवा विभागले जनाएको छ । बर्ड फ्लु फैलिनसकेकाले आफ्नो फर्म जोगाउन व्यक्तिगत तथा जैविक सुरक्षा अपनाउन अझै समय रहेको भन्दै विभागले किसानलाई सचेत गराएको छ ।साथै स्थलमार्ग तथा उडेर आउने चराचुरुङ्खीको सम्पर्कबाट आफ्नो फार्म जोगाउन भनेको छ ।

एक प्रकारको संक्रामक भाइरस बर्ड फ्लू संक्रमणबाट चराचुरुङ्गीमा श्वासप्रश्वास गर्न कठिन हुन्छ । यो संक्रमण कहिलेकाहीँ मानिसमा पनि सर्छ । मानिसबाट मानिसमा भने यो रोग सर्दैन । उच्च ज्वरो आउनु, खोकी लाग्नु, पेट, घाँटी, छाती तथा मांसपेशीहरु दुख्नु तथा पखाला लाग्नु र श्वासप्रश्वासमा समस्या आउनु बर्ड फ्लुको मुख्य लक्षण हुन् ।

त्रासमा व्यवसायी

हाल देशभर दैनिक पाँच लाख किलो कुखुराको मासु बिक्री हुने राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । जसमध्ये दैनिक तीन लाख किलो मासु काठमाडौं उपत्यकामै खपत हुन्छ ।

काठमाडौंमा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि व्यवसायीहरुमा बिक्री घट्ने त्रास देखिएको संघका अध्यक्ष जंगबहादुर बिसीले बताए । ‘कोभिडका कारण बल्लतल्ल ८० प्रतिशत उठेको व्यवसायमा बर्ड फ्लुको त्रास आएको छ । बजारमा फ्लुको असर तत्काल देखिएको छैन तर डरको मानसिकताले काम गर्न सक्छ,’ अध्यक्ष बिसीले भने ।

हाल बजारमा कुखुराको मासु प्रतिकिलो ३५० रुपैयाँ छ । बर्डफ्लुको त्रासले कुखुराको मूल्य घट्न सक्ने व्यवसायीको आँकलन छ ।

संघका प्रथम उपाध्यक्ष श्रेय ढकाल अव्यवस्थित ढंगबाट खोला छेउमा पालिएको हाँस र टर्कीमा बर्ड फ्लु देखिए पनि कुखुराको मासुको उपभोक्ताले डर मान्नुनपर्ने बताउँछन् । बजारमा माग भन्दा कुखुराको उत्पादन कम रहेकाले बजार प्रभावित नहुने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment