+
+
Shares

फेवाताल किनारमा रेलिङ नराख्न अधिकारकर्मीको माग   

रासस रासस
२०७७ माघ २१ गते १४:००
Photo Credit : RSS

२१ माघ, पोखरा । पोखराको प्रसिद्ध फेवाताल किनारमा निजी कम्पनीले राख्न लागेको रेलिङका कामलाई तत्काललाई रोक्न सम्पदा अधिकारकर्मीले माग गरेका छन् । पोखराको बाराहीघाटदेखि पहारीघाटसम्म करीब २०० मिटर रेलिङ लगाउन पोखरा महानगरपालिका–६ ले स्लास प्लस प्रालिलाई अनुमति दिएसँगै अगाडि बढेको कार्यलाई रोक्न माग गरिएको हो ।

सूचनाको हकका लागि राष्ट्रिय वडा सञ्जालका पोखरा–६ का अध्यक्ष अनिल थापा र राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालका अध्यक्ष विष्णुहरि अधिकारीले उक्त कार्य रोक्न पोखरा महानगर प्रमुख मानबहादुर जिसीलाई ध्यानाकर्षणपत्रसमेत बुझाएका थिए । प्रमुख जिसीले फेवातालको सौन्दर्य असर पार्ने कार्य महानगरबाट नहुने जनाउँदै वस्तुस्थिति बुझेर कार्य गरिने प्रतिबद्धता व्यक्त गरे ।

सम्पदा अधिकारकर्मी अधिकारीले प्राकृतिक सम्पदामा पार्ने दीर्घकालीन असरलाई ध्यान नदिई व्यापारिक प्रयोजनका लागि रेलिङ लगाउन दिनु उपयुक्त नभएको बताए । “फेवातालको जुन सुन्दरता छ, त्यसलाई प्राकृतिकरुपमा नै छोड्नुपर्छ, कृत्रिम कुरा धेरै हुन थाले, यसले प्राकृतिक सम्पदाको दोहन गर्छ र फेवातालको सुन्दरता गुम्छ”, उनले भने, “सिमसार क्षेत्रमा सूचीकृत एवम् पोखराको प्राकृतिक सम्पदाको गहना फेवाताल कुुरुप बनाउने कार्य तथा वातावरणमैत्री क्रियाकलापप्रति बेवास्ता गर्दै विज्ञापन प्रयोजनका निम्ति आर्थिक प्रलोभनमा यस्ता कार्य भएका छन् यसलाई रोक्नुपर्छ ।”

अधिकारीले पोखरा महानगरले फेवाताल, पाताले छाँगो, सराङकोट भ्यू टावर, सेती खोँच जस्ता महत्वपूर्ण प्राकृतिक सम्पदालाई समेत ४० वर्षका लागि निजी क्षेत्रलाई भाडामा दिने तयारी गरेको उल्लेख गर्दै यसको पनि विरोध गरेको बताए । “विज्ञ र सरोकारवालाको सुझावविना मनपरी तरिकाले भाडामा दिने कार्यले राम्रो नतिजा दिँदैन, त्यसैले पर्याप्त छलफल विना यस्ता कार्य गरिएमा यसको विरोध गरिनेछ ।”

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?