Comments Add Comment

पर्साको २ खोलामा ढुंगा–बालुवा उत्खननमा रोक

२१ माघ, वीरगञ्ज । पर्साको भेडाहा र सिंगाही खोलामा गिट्टी, बालुवा, ढुङ्गा उत्खननमा रोक लगाइएको छ । प्रारम्भिक वातावरणीय मूल्यांकन (आईई) अनुसार उत्खनन नगरेको र खोलाबाट बालुवाको ट्याक्टरभित्र काठ राखेर तस्करी गरेको गुनासो स्थानीय प्रशासनसम्म पुगेको थियो ।

दुई दिनअघि जिल्ला अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका सभापति नेक महम्मद अन्सारी, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ सहितको टोलीले स्थलगत अनुगमन गरेको थियो ।

आईई प्रतिवेदन अनुसार गिट्टी, बालुवा र ढुंगा निकाल्नुको साटो मनोमानी गरेको र काठको तस्करी समेत हुने गरेको पाईएपछि अर्को निर्णय नगर्दासम्मका लागि उत्खननमा रोक लगाइएको संयोजक अन्सारीेले जानकारी दिए ।

‘अनुगमनको क्रममा आईई प्रतिवेदन विपरीत उत्खनन गरेको पाइयो, कति उत्खनन भएको हो विवरण बुझाउन भनेका छौं’ उनले भने ‘गिट्टी बालुवा भन्दा काठको तस्करी हुने गरेको रहेछ । पालिकाले निगरानी गर्न सक्दैन भने किन चलाउनुप¥यो । कागजपत्रहरु माग गरेका छौं । अध्ययनपछि आवश्यक निर्णयमा पुग्छौं ।’

बुधबार बसेको जिल्ला अनुगमन समितिको बैठकले जिल्ला समन्वय समितिबाट कार्यविधि बनाई अर्को बैठकमा पेश गर्ने, कार्यविधि निर्माणका लागि डिभिजन वन कार्यालय तथा सम्बन्धित स्थानीय तहले आवश्यक सहयोग गर्ने, डिभिजन वन कार्यालयले वनको अवस्था सम्बन्धमा जिल्ला अनुगमन समितिमा प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ ।

त्यस्तै सम्बन्धित स्थानीय तहहरुले आईई ठेक्का व्यवस्था भएपश्चात के कति परिणाममा नदीजन्य पदार्थहरु उत्खनन भएको हो प्रतिवेदन जिल्ला अनुगमन समितिमा पेश गर्ने र अर्को आदेश नहुञ्जेलसम्मका लागि भेडाहा र सिंघाही खोलामा उत्खनन कार्य रोक्ने निर्णय रोक्का गर्ने निर्णय गरेको छ ।

खोलाबाट मेसिन प्रयोग नगरी तोकिएको ठाउँबाट मापदण्ड अनुसार गिट्टी, बालुवा झिक्न पाउने शर्तविपरीत ठेकेदारले मेसिन प्रयोग गरी खोलाको चरम दोहन गरेको स्थानीय बताउँछन् । खोलाबाट जथाभावी बालुवा, गिट्टी झिक्दा वनमा प्रतिकूल असर परेको र सयौं रूख नष्ट भएको स्थानीयको भनाइ छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी तामाङले खोलाबाट काठ दाउराको तस्करी हुने गरेको सूचनाको आधारमा अर्को आदेश नभएसम्मका लागि उत्खननमा रोक लगाईएको बताए ।

‘वन क्षेत्र हो, वन क्षेत्रको आईई नै हुन नहुने, पालिकाले ठेक्का लगाइसकेको रहेछ’ उनले भने ‘आईई भन्दा बढी उत्खनन भएको र रातमा गिट्टी बालुवाको ट्याक्टर भित्र काठको तस्करी हुने गरेको रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment